निर्णय नं. ८७५२ - उत्प्रेषण परमादेश
नेपाल कानून पत्रिका शब्दबाट फैसला खोज्नुहोस् निर्णय नं. ८७५२ - उत्प्रेषण परमादेश भाग: ५४ साल: २०६९ महिना: बैशाख अंक: १ फैसला मिति :२०६८/०७/२० ४२३८ ने.का.प. २०६९, अङ्क १ निर्णय नं. ८७५२ सर्वोच्च अदालत, संयुक्त इजलाश माननीय न्यायाधीश श्री दामोदरप्रसाद शर्मा माननीय न्यायाधीश श्री भरतराज उप्रेती संवत् २०६४–WO..०२०२ आदेश मितिः २०६८।७।२० विषयः उत्प्रेषण परमादेश । निवेदकः जिल्ला पर्सा, पोखरिया गा.वि.स.वडा नं ३ बस्ने जगदीशप्रसाद चौहान विरुद्ध विपक्षीः व्यवस्थापन समिति, नेपाल बैंक लिमिटेड प्रधान कार्यालय समेत § पत्रिकामा प्रकाशित सूचनाको शीर्षक नै हाजिर हुन आउने रहेबाट सो सूचनालाई नेपाल वैंक लिमिटेड, कर्मचारी सेवा विनियमावलीले व्यवस्था गरेबमोजिमको भविष्यमा बैंङ्कको सेवाको लागि अयोग्य नठहरिने गरी सेवाबाट हटाउने विभागीय कारवाहीको प्रक्रियामा सफाइ पेश गर्ने मौका प्रदान गरी आरोप स्पष्ट रुपमा किटी सजाय समेत प्रस्ताव गरी सोधिएको स्पष्टीकरण वा दिइएको जानकारी सरहको रुपमा मान्न नमिल्ने । (प्रकरण नं.६) § जस्तोसुकै गम्भीर प्रकृतिको आरोप लगाइएको व्यक्तिलाई पनि सो आरोप ठहर गर्नु पूर्व आफ्नो कुरा भन्ने मौका दिनै पर्दछ । सेवाबाट बर्खास्त गर्ने जस्तो अन्तिम र कठोर सजाय गर्दाका बखतमा सेवासँग सम्बन्धित विनियमावलीमा उल्लिखित कार्यविधिको अक्षरसः पालना वा अवलम्बन गरिएको हुनुपर्दछ । प्राकृतिक न्यायको सिद्धान्तको उल्लंघन गरी वा कानूनबमोजिमको उचित प्रक्रिया पालना नगरी निर्णय हुन पुग्दछ भने त्यस्तो निर्णयलाई कानूनको दृष्टिमा शून्य मान्नुपर्ने । (प्रकरण नं.९) निवेदक तर्फबाटः विद्वान वरिष्ठ अधिवक्ताहरू किशोरकुमार अधिकारी र शम्भु थापा एवं विद्वान अधिवक्ता राजन अधिकारी विपक्षी तर्फबाटः विद्वान अधिवक्ता नरेन्द्रप्रसाद खनाल अवलम्बित नजीरः सम्बद्ध कानूनः § नेपाल बैंक लिमिटेड कर्मचारी सेवा विनियमावली, २०६२ को विनियम ९.५.१, १२.१०(१) र (२), आदेश न्या.भरतराज उप्रेतीः नेपालको अन्तरिम संविधान, २०६३ को धारा ३२ र १०७(२) बमोजिम दर्ता हुन आएको प्रस्तुत रिट निवेदनको संक्षिप्त टिपोट एवं आदेश यस प्रकार छ :– प्रस्तुत मुद्दामा सहजताका लागि नेपाल बैंङ्क लिमिटेड कर्मचारी सेवा विनियमावली, २०६२ लाई यसपछि विनियमावली मात्र भनी सम्बोधन गरिएको छ । म निवेदक नेपाल बैंक लिमिटेड भिषवा उपशाखा पर्सामा बही रक्षक पदमा २०४० सालमा नियुक्त भै वरिष्ठ वही रक्षक पदमा पदोन्नति भै त्यहाँबाट महुवन उपशाखा, श्रीपुर शाखा, तेह्रथुम शाखा हुँदै मिति २०६२।९।६ मा नेपाल बैंक लिमिटेड शाखा कार्यालय लाहानमा सरुवा भै कार्यरत रहँदै आएको थिएँ । मिति २०६२।१०।१७ देखि विना सूचना अनुपस्थित रहनु भएकोले ७ दिनभित्र हाजिर हुन आउनु भन्ने प्रत्यर्थी मावन स्रोत व्यवस्थापन विभागको सूचना मिति २०६३।१।२४ को गोरखापत्रमा प्रकाशित भएकोमा मुटुको रोग समेतले पीडित रहेको हुँदा मिति २०६२।१०।१७ देखि मिति २०६३।१।१५ सम्मको विरामी विदा पाऊँ भनी चिकित्सकको सिफारिशसहित हुलाकद्वारा रजिष्ट्री गरी पठाई स्वास्थ्यमा अझै सुधार नआएकोले मिति २०६३।१।१६ देखि मिति २०६३।२।१२ सम्मको बिरामी विदा पाऊँ भन्ने व्यहोरा समेतको मिति २०६३।१।२९ मा निवेदन गरेको थिएँ । मिति २०६३।१।१६ देखि २०६३।२।१२ सम्मको बिरामी विदा माग गरी दिनु भएको मिति २०६३।१।२९ को निवेदन सम्बन्धमा तपाई तेह्रथुम अफीसमा कार्यरत रहँदा पछिल्लो पटक मिति २०६१।८।१ देखि मिति २०६१।११।७ सम्म जम्मा ९५ दिनको वेतलवी विदा स्वीकृत गरिएपछि पनि तपाई बारम्बार आफू विरामी भएको भनी डाक्टरको प्रे