निर्णय नं. ४१३९ - नोकरीबाट हटाएको
नेपाल कानून पत्रिका शब्दबाट फैसला खोज्नुहोस् निर्णय नं. ४१३९ - नोकरीबाट हटाएको भाग: ३२ साल: २०४७ महिना: भाद्र अंक: ५ फैसला मिति :२०४७/०५/११ २४०८ निर्णय नं. ४१३९ ने.का.प. २०४७ अङ्क ५ संयुक्त इजलास माननीय न्यायाधीश श्री बब्बरप्रसाद सिंह माननीय न्यायाधीश श्री त्रिलोकप्रताप राणा सम्वत् २०४७ सालको फौ.पु.नं. ४२० फैसला भएको मिति : २०४७।५।११।२ मा निवेदक/पुनरावेदक : जि.सप्तरी गा.पं. वनैनिया वा.नं. ४ बस्ने अर्जुनप्रसाद सिंह विरुद्ध विपक्षी : श्री ५ को सरकार, मन्त्रिपरिषद् सचिवालयसमेत मुद्दा : नोकरीबाट हटाएको (१) उचित र पर्याप्त कारण बिना नि.से.नि., २०२१ को नियम १०.१ बमोजिम सजायँ गर्न नमिल्ने । (प्रकरण नं. १२) (२) सफाइको मौका दिन अव्यवहारिकको कारण स्पष्ट एवं किटानी हुनुपर्ने । (प्रकरण नं. १२) (३) अनुमानलाई लिएर अव्यवहारिकको कारण दर्शाई पर्चा खडा गरेकोलाई अव्यवहारिकको कारण भन्न नमिल्ने । (प्रकरण नं. १२) (४) अनुमानलाई आधार बनाई पर्चा खडा गर्ने नेपाल निजामती सेवा ऐन, २०१३ को दफा ६ (१) को प्रतिबन्धात्मक वाक्यांश (ख) मा व्यवस्था नभएकोले त्यस्तो पर्चालाई कानुन सम्मत भन्न नमिल्ने । (प्रकरण नं. १२) पुनरावेदक तर्फबाट : विद्वान वरिष्ठ अधिवक्ता श्री कुञ्जविहारीप्रसाद सिंह तथा विद्वान अधिवक्ता श्री शम्भु थापा एवं विद्वान अधिवक्ता श्री कमलनारायण दास विपक्षी तर्फबाट : विद्वान सहन्यायाधिवक्ता श्री श्यामबहादुर प्रधान फैसला न्या.बब्बरप्रसाद सिंह १. प्रशासकीय अदालतको मिति २०४५।१२।४ को फैसला उपर चित्त नबुझी निजामती सेवा ऐनको दफा ९(३) तथा स.अ.नियमावली बमोजिम पुनरावेदनको अनुमतिको लागि निवेदकको पर्न आएको निवेदनमा अनुमति प्राप्त भई इजलास समक्ष पेश हुन आएको प्रस्तुत मुद्दाको संक्षिप्त विवरण निम्न प्रकार छ । २. तपाईले आफ्नो पदको जिम्मेवारी अनुसारको आचरण नगरेकोले श्री ५ को सरकारको मिति २०४४।१२।३ को निर्णयानुसार निजामती सेवा नियमावली, २०२१ को नियम १०.६ को खण्ड ५ को अभियोगमा निजामती सेवा ऐन, २०१३ को दफा ६(१) को प्रतिबन्धात्मक वाक्यांश (ख) अनुसार पर्चा खडा गरी नि.से.नि., २०२१ को नियम १०.१ को खण्ड (५) अनुसार भविष्यमा सरकारी नोकरीको निमित्त अयोग्य नठहरिने गरी तपाईलाई नेपाल न्याय सेवाको राजपत्रांकित प्रथम श्रेणी सहसचिव स्तरको अतिरिक्त अञ्चल न्यायाधीश पदबाट हटाइएको कानुन तथा न्याय मन्त्रालयको मिति २०४४।९।१९ को पत्र साथ राखी नोकरीबाट हटाइएको विषयको श्री सर्वोच्च अदालतद्वारा मिति २०४४।१२।१०।४ मा निवेदकलाई दिइएको पत्र । ३. २०२७।२।९ देखि न्याय सेवाको राजपत्रांकित तृतीय श्रेणीमा नियुक्त भई पदमा कायम रहँदासम्मको अवधिमा विभिन्न पुरस्कार, पदक, विदेश भ्रमणहरु अवसरहरु समेत पाई निरन्तर बढुवा हुने क्रममा प्रथम श्रेणी सम्म पुगी अतिरिक्त अञ्चल न्यायाधीश पदमा रही रहेको अवस्थामा एकाएक पद अनुसारको आचरण नगरेको आरोप लगाएर पर्चा खडा गरी सेवाबाट हटाउने गरेको श्री ५ को सरकारको मिति २०४४।१२।३ को निर्णयमा चित्त बुझेन उक्त निर्णय गैरकानुनी, दुराशयपूर्ण र प्राकृतिक न्याय सिद्धान्त समेतको विपरीत भएको हुँदा बदर गरी मेरो सेवा पूर्ववत् कायम गरी पाउँ भन्ने पुनरावेदक अर्जुनप्रसाद सिंहको प्रशासकीय अदालतमा परेको पुनरावेदन । ४. नेपालको संविधान धारा ७४(१) र न्याय सेवा आयोग ऐन, २०२१ को दफा ३ ले व्यवस्था गरेको न्याय सेवा आयोगको सिफारिशमा श्री ५ को सरकारले कानुन बमोजिम न्याय सेवा तर्फका राजपत्रांकित पदमा स्थायी नियुक्ति, सरुवा, बढुवा र सो पदको कर्मचारीलाई विभागीय सजायँ गर्न सक्ने व