निर्णय नं. ९२१८ - उत्प्रेषण/परमादेश

 नेपाल कानून पत्रिका शब्दबाट फैसला खोज्‍नुहोस् निर्णय नं. ९२१८ - उत्प्रेषण/परमादेश भाग: ५६ साल: २०७१ महिना: मंसिर अंक: ८ फैसला मिति :२०७०/१२/०६ ४७३० ने.का.प.२०७१, अङ्क ८ सर्वोच्च अदालत, विशेष इजलास माननीय न्यायाधीश श्री कल्याण श्रेष्ठ माननीय न्यायाधीश श्री बैद्यनाथ उपाध्याय माननीय न्यायाधीश श्री ज्ञानेन्द्रबहादुर कार्की आदेश मिति : २०७०।१२।६।५ ०६८-WS-००६६ (०६८-FN-०४३८) विषयः उत्प्रेषण/परमादेश । निवेदक : भक्तपुर जिल्ला, ठिमी नगरपालिका वडा नं.१६ बस्ने अधिवक्ता माधवकुमार बस्नेतसमेत विरूद्ध विपक्षी : चिकित्सा विज्ञान राष्ट्रिय प्रतिष्ठान, वीर अस्पतालसमेत ०६८-WS-००६७ निवेदक : सिन्धुली जिल्ला, झारा गाउँ विकास समिति वडा नं. ४ बस्ने अधिवक्ता राजकुमार रानासमेत विरूद्ध विपक्षी : सेवा आयोग, चिकित्सा विज्ञान राष्ट्रिय प्रतिष्ठान, वीर अस्पताल, काठमाडौंसमेत § मातृ ऐनको प्रस्तावना तथा उद्देश्यविपरीत नहुने गरी प्रतिष्ठानले आफ्नो सेवा सञ्चालनार्थ आवश्यक पर्ने कार्यविधि, नियम वा नियमावली तर्जुमा गरी नियमन गर्न सक्ने । § चिकित्सा विज्ञान राष्ट्रिय प्रतिष्ठान ऐन, २०६३ को दफा १२(छ) र १३(१) बमोजिम प्रतिष्ठानलाई आवश्यक पर्ने दक्ष जनशक्ति स्वतन्त्रढङ्‍गबाट आपूर्ति गर्न सेवा आयोग रहने व्यवस्था गरी कर्मचारीको पदपूर्ति सम्बन्धमा चिकित्सा विज्ञान राष्ट्रिय प्रतिष्ठान (कर्मचारी सेवाका सर्त तथा सुविधासम्बन्धी) नियमावली, २०६५ मा सेवाको गठन, पद, दरबन्दी, योग्यता, पदपूर्तिसम्बन्धी व्यवस्था, समावेशीका आधारमा पदपूर्ति परीक्षा प्रणालीलगायतका विषयमा व्यवस्था गरेको देखिने । § विशेषीकृत चरित्र भएको खास कुनै संस्थाको जनशक्तिको आपूर्ति गर्दा के कस्तो योग्यता निर्धारण गर्ने, छनौट विधि कसरी तय गर्ने, परीक्षा प्रणाली कसरी तय गर्ने भन्ने कुरा सम्बन्धित निकायले निश्चित गर्ने विषय हो । प्रतिष्ठानको आवश्यकता र औचित्यताको आधारमा कर्मचारीको उपयुक्ततासमेतलाई विचार गरी आवश्यक सङ्‍ख्यामा कर्मचारी आपूर्ति गर्न प्रतिष्ठानलाई अधिकार प्रत्यायोजन गरेको र प्रतिष्ठानले आफ्नो संस्थामा रिक्त रहेको दरबन्दीमा आवश्यकता र उपयुक्तताको आधारमा स्वतन्त्रढङ्गबाट पारदर्शीरूपले कर्मचारी नियुक्ति गर्न मातृ ऐनले दिएको अधिकारको सीमामा रही कर्मचारीको नियुक्तिको उपयुक्तता निर्धारण गर्ने अधिकार रहे भएको देखिने । (प्रकरण नं.९) § प्रतिपादित सिद्घान्तहरूसमेतका आधारमा अस्पताल प्रतिष्ठानको रूपमा स्थापित भएपछि अस्पतालमा लामो समय सेवा गरेका कर्मचारीलाई प्रतिष्ठानमा नियुक्तिका लागि सिमित आन्तरिक प्रतियोगितामा सामेल हुन एक पटक मौका दिनु स्वयम्‍मा अनुचित वा गैरकानूनी कुरा नहुने । (प्रकरण नं.१५) § स्वायत्त स्वतन्त्र निकायले कर्मचारीको छनौट गर्दा योग्यता, दक्षता, कार्यक्षमता, कार्यकुशलता, अनुभव र निजको सेवाप्रतिको लगावसमेतका आधारमा स्वतन्त्र किसिमबाट योग्यतम्‍् व्यक्तिको छनौट गर्नुपर्दछ । अस्थायी, करार वा ज्यालादारीमा सेवामा प्रवेश गरिसकेको हुँदा सामान्य प्रकियाद्वारा स्थायी हुने वा गरिने किसिमको अर्थमा लिनुहुँदैन । यसो गरिएमा असक्षम व्यक्तिले सेवामा प्रवेश गर्ने मौका पाई सार्वजनिक सेवा प्रवाहमा गतिरोध उत्पन्न हुन सक्ने । (प्रकरण नं.१७) § कुनै सार्वजनिक संस्थाको सेवामा कर्मचारीको नियुक्ति गर्दा अपनाउनुपर्ने सामान्य सिद्घान्तको विषयमा लोक सेवा आयोगसँग त्यस्तो संस्थाले आवश्यक परामर्श लिन सक्ने गरी नेपालको अन्तरिम संविधान, २०६३ को धारा १२६(६) मा व्यवस्था भएको हुँदा नियुक्तिका लागि विज्ञापित पदहर