निर्णय नं. ९२१९ - बन्दीप्रत्यक्षीकरण

 नेपाल कानून पत्रिका शब्दबाट फैसला खोज्‍नुहोस् निर्णय नं. ९२१९ - बन्दीप्रत्यक्षीकरण भाग: ५६ साल: २०७१ महिना: मंसिर अंक: ८ फैसला मिति :२०७१/०१/२९ ४२७७ नेकाप २०७१, अङ्क ८ सर्वोच्च अदालत, संयुक्त इजलास सम्माननीय प्र.न्यायाधीश श्री दामोदरप्रसाद शर्मा माननीय न्यायाधीश श्री गिरीश चन्द्र लाल आदेश मिति : २०७१।१।२९।२ ०७०-WH-००५८ विषय : बन्दीप्रत्यक्षीकरण । निवेदक : रामेछाप जिल्ला, गुप्तेश्वर गा.वि.स. वडा नं. ७ घर भई हाल काठमाडौं जिल्ला, काठमाडौं महानगरपालिका वडा नं. १६ बस्ने छोरा भेषकुमार श्रेष्ठको हकमा निजको आमा शोभा श्रेष्ठ विरूद्ध विपक्षी : रामेछाप जिल्ला, गुप्तेश्वर गा.वि.स. वडा नं. ७ घर भई हाल काठमाडौं जिल्ला, जोरपाटी गा.वि.स. वडा नं. ३ नारायणटार बस्ने माया तामाङसमेत § बालकको खुसी र निजले व्यक्त गरेका आधारमा परिवारका सदस्यलाई रोजेका व्यक्तिलाई नै संरक्षकत्व प्रदान गर्नु उचित हुने हुँदा निवेदिकाले व्यक्तिगत आत्मतुष्टिका लागि बालकको संरक्षण आफूले प्राप्त गर्नुपर्ने भन्ने निवेदन जिकिरसँग सहमत हुन नसकिने । (प्रकरण नं.९) निवेदकको तर्फबाट : विद्वान् अधिवक्ता यशोदादेवी खरेल विपक्षीको तर्फबाट : विद्वान् अधिवक्ताद्वय हरिश्चन्द्र सुवेदी र बलबहादुर राई अवलम्बित नजिर : सम्बद्ध कानून : § मुलुकी ऐन, लोग्ने स्वास्नीको महलको ३ नं. § बालबालिकासम्बन्धी ऐन, २०४८ को दफा ८ § बालबालिकासम्बन्धी नियमावली, २०५१ आदेश प्र.न्या.दामोदरप्रसाद शर्मा : नेपालको अन्तरिम संविधान, २०६३ को धारा ३२ एवम्‍ १०७(२) बमोजिम निवेदन पर्न आएको प्रस्तुत रिट निवेदनको सङ्‍क्षिप्त तथ्य र आदेश यस प्रकार छः म निवेदिका र रमेश श्रेष्ठबीच मिति २०६२।२।२३ मा सामाजिक परम्पराअनुसार विवाह भई हामीहरूबाट मिति २०६२।१२।११ मा छोरा भेषकुमार श्रेष्ठको जन्म भएको थियो । छोरा जन्मिएको एक महिनापछि मेरा पति वैदेशिक रोजगारको सिलसिलामा विदेश जानुभयो । पति रमेश श्रेष्ठ विदेश गएको समयमा सासु हेमकुमारी श्रेष्ठले विभिन्न कुरामा गाली गलौज गर्नुको साथै मैले पिता समानको ससुरासँग सहवास गरे गराएँ र तीन महिनाको गर्भ फालेँ भनी आरोप लगाएकोले घरमा बस्न नसकी पतिको सुझावअनुसार माइतीको शरणमा बस्दै आएकी छु । मेरा पति विदेशबाट आएपछि पारिवारिक बेमेलका कारण मेरा पति रमेश श्रेष्ठसमेतलाई विपक्षी बनाई रामेछाप जिल्ला अदालतमा २०६६ साल श्रावण महिनामा अंश चलन, माना चामल र गाली बेइज्जती मुद्दा दायर गरेकोमा गाली बेइज्जती मुद्दामा गाली बेइज्जती गरेको ठहर गरी रमेश श्रेष्ठसमेतलाई जरिवाना भएको छ । अंश चलन मुद्दामा म निवेदिकाले अंश पाउने गरी फैसला भएको छ । मानाचामल मुद्दामा म विदेशमा भएकीले नपाउने ठहरी फैसला भएको छ । मुद्दा विचाराधीन रहेको अवस्थामा नेपालमा बसी जीवन गुजारा गर्न गाह्रो भएकाले नाबालक छोरालाई मेरो माइतीमा राखी वैदेशिक रोजगारको लागि लेबनान गएकी थिएँ । छोराको यादले सताएकाले विदेश नजाने र नेपालमा बसी नाबालक छोरालाई पालन पोषण गरी बस्ने निर्णय गरेकी छु । म निवेदिका विदेश गएको छ महिना नहुँदै प्रत्यर्थीहरू र श्रीमान रमेश श्रेष्ठसमेतले मेरो माइतीबाट नाबालक छोरालाई जबर्जस्ती खोसेर लानुभएछ । म निवेदिका विदेशबाट आएपछि छोरा कहाँ छ भनी जानकारी लिँदा काठमाडौं ल्याई प्रत्यर्थी माया तामाङको डेरा कोठामा राखी पति रमेश श्रेष्ठ फेरि वैदेशिक रोजगारीको लागि मलेसिया जानु भएको जानकारी पाएँ । छोराको बारे बुझ्ने क्रममा छोरालाई कुमारीगलमा रहेको महान सिद्धार्थ बोर्डिङ स्कुलमा पढाउँदै गर्नुभएको रहेछ । मैले मेरो छोरालाई आफ्नो जिम्मा