निर्णय नं. ४१५८ - कर्तव्य ज्यान
नेपाल कानून पत्रिका शब्दबाट फैसला खोज्नुहोस् निर्णय नं. ४१५८ - कर्तव्य ज्यान भाग: ३२ साल: २०४७ महिना: असोज अंक: ६ फैसला मिति :२०४७/०३/१३ २३३० निर्णय नं. ४१५८ ने.का.प. २०४७ अङ्क ६ संयुक्त इजलास सम्माननीय प्रधान न्यायाधीश श्री धनेन्द्रबहादुर सिंह माननीय न्यायाधीश श्री हिरण्येश्वरमान प्रधान सम्वत् २०४७ सालको फौ.सा.नं. ९० फैसला भएको मिति : २०४७।३।१३।४ मा वादी : कुलबहादु गुरुङको जाहेरीले श्री ५ को सरकार विरुद्ध प्रतिवादी : गोरखा जिल्ला छोप्राक गा.पं. वा.नं. ६ बस्ने मनकुमारी गुरुङ मुद्दा : कर्तव्य ज्यान (१) जन्मेको जातक मारी गाडेको देखिन आएकोले निजलाई मुलुकी ऐन ज्यानसम्बन्धीको १३(३) बमोजिम जन्मकैदको सजायँ गर्ने ठहर्याएको शुरु तथा अञ्चल अदालतको इन्साफ सदर गरेको क्षेत्रीय अदालतको फैसला मनासिब देखिने । (प्रकरण नं. १५) फैसला प्र.न्या.धनेन्द्रबहादुर सिंह १. पश्चिमाञ्चल क्षेत्रीय अदालतको मिति २०४७।१।४।३ को फैसला उपर साधक जाँचको लागि पेश हुन आएको प्रस्तुत मुद्दाको संक्षिप्त व्यहोरा यस प्रकार छ । २. ज्ञानमाया भन्ने बुद्धिमाया अविवाहिता गर्भवती भएको कुरा गाउँ घरमा होहल्ला भई गाउँ पञ्च भलादमी बसी कसको गर्भ हो भनी भन्दा ज्ञानमाया भन्ने बुद्धिमाया गुरुङले गाउँकै श्यामबहादुरको गर्भ बोकेकी रहिछ निज दिदी भाइ बाबु बाबुका छोरा छोरी भएकोले हाडनाताबाट बच्नको लागि २०४४।६।१६ गते राती जन्मेको बालक कर्तव्य गरी मारेको शंका लागि जाहेरी दिन आएको छु । लाश जाँच गरिपाउँ भन्ने कुलबहादुरको जाहेरी दर्खास्त । ३. धनसारको घरको पाली खामा देखि पूर्वतर्फ ९ फिट फरक कुनामा झारपात थुपारी रहेको झारपात फाली हेर्दा पूर्व उत्तर सिरान पश्चिम दक्षिण गोडा गरी बायाँ कोल्टो परी बायाँ हात पछाडि पट्टि फर्किएको छोरा जातक मृतक लास सडी गली गएको भन्ने समेत लास जाँच प्रकृति मुचुल्का रहेछ । ४. जेठा बाबु पर्नेको छोरा श्यामबहादुर आज भन्दा ७–८ महीना पहिला राती म सुतेको ठाउँमा आई मलाई करणी गरेको थियो सोही करणी वीर्यबाट मेरो गर्भ रहन गएछ । २०४४।६।८ गते मलाई श्यामबहादुरको जिम्मा लगाई दिएकोले म श्यामबहादुरको घरमा बसेकी हुँ । २०४४।६।१६ गते विजया दशमीको दिन राती मलाई सुत्केरी वेथा लागेको थियो । श्यामबहादुर गाउँतिर कता गएका थिए मलाई थाहा छैन । राती श्यामबहादुरकै घर पिडीमा मेरो गर्भबाट छोरा जातक बालक पैदा भयो । बालक पैदा हुँदाका अवस्थामा निज श्यामबहादुर गुरुङ घरमा थिएन । निजकी आमा मनकुमारी गुरुङ थिइन । बालक जन्मने बित्तिकै हेर्दा चलेको थियो सासु आई बच्चा उठाई धनसार घर अगाडि कुनामा लगी कोदालोले खनी पुरी दिएकी हुन् । त्यस बखत श्यामबहादुरले कर्तव्य गरेको छैन । कर्तव्य गर्ने भनी सहमति थियो थिएन मलाई थाहा छैन उक्त बच्चा म समेतले भई कर्तव्य गरी मारे मराएको होइन भन्ने समेत प्र.ज्ञानमाया भन्ने बुद्धिमाया गुरुङको प्रहरीमा भएको बयान कागज रहेछ । ५. बुद्धिमायाले म श्यामबहादुरको करणी वीर्यबाट गर्भ रहेको पनि भनिन, मैले करणी गरेको हुँदा उक्त गर्भ सकारी स्वास्नी तुल्याई राखेको हुँ । हामीहरु सहोदर दाजु भाइका छोरा छोरी होइनौं । विजया दशमीको दिन साँझ म मामाको घरमा गएको थिएँ । म मामाको घरबाट पिङ खेल्न चित्रे गाउँमा गएको हुँ । २०४४।६।१६ गते राती ज्ञानमायाको गर्भबाट जातक छोरा पैदा भएछ । निज बुद्धिमायाको गर्भ पतन गराउने उद्देश्य मेरो थिएन । म समेत भई कर्तव्य गरी ज्यूँदो बालक मारे मराएको होइन भन्ने समेत प्र.श्यामबहादुर गुरुङको प्रहरीमा भएको बयान कागज । ६. हाडनाताबाट बच्न बचाउने उद्देश्यले मनकुमारी गुरुङ र