निर्णय नं. ७४९६ - अंश दर्ता ।
नेपाल कानून पत्रिका शब्दबाट फैसला खोज्नुहोस् निर्णय नं. ७४९६ - अंश दर्ता । भाग: ४७ साल: २०६२ महिना: जेष्ठ अंक: २ फैसला मिति :२०६२/०१/२८ ३४३४ निर्णय नं.७४९६ ने.का.प.२०६२ अङ्क २ सर्वोच्च अदालत, संयुक्त इजलास माननीय न्यायाधीश श्री केदारप्रसाद गिरी माननीय न्यायाधीश श्री वद्रीकुमार वस्नेत सम्वत् ०५७ सालको दे.पु.नं. ........७०१६ फैसला मितिः २०६२।१।२८।४ मुद्दा :– अंश दर्ता । पुनरावेदक/प्रतिवादी जिल्ला पर्सा गा.वि.स. पोखरीया वार्ड नं. ४ वस्ने भरत सिंह घर्ती विरुद्ध प्रत्यर्थी/वादीः जिल्ला पर्सा पोखरिया वार्ड नं. ४ वस्ने रामवहादुर सिंह घर्तीको मु.स. गर्ने शम्भुसिंह घर्ती § प्रमाण ऐन, २०३१ को दफा ३५ अनुसार लिखतको प्रमाणको हकमा सक्कलै लिखत पेश गरिनु पर्नेमा विवाद नभएतापनि हरेक स्थिति र अवस्थामा सक्कलै लिखत पेश गर्नुपर्ने भनी लिखतको प्रमाणसम्वन्धी सिद्धान्तलाई निरपेक्ष रुपमा व्याख्या गर्न नमिल्ने । § प्रस्तुत मुद्दामा न्यायिक निरुपणको प्रश्नमा ठहर गर्न सघाउ पुर्याउने २०१३।११।२२ को सक्कल लिखत स्वभावैले प्रमाण ऐन, २०३१ को दफा ३५(२) को देहाय (ङ) मा उल्लेख गरेको अवस्था अनुरुप मुद्दाका पक्षसंग रहने अवस्थाको नभएकाले रीतपूर्वक पेश दाखेल गरेको लिखतका नक्कलहरुलाई विना आधार कारण प्रमाणिक मूल्यवाट वञ्चित गर्न नमिल्ने । (प्रकरण नं.१६) पुनरावेदक प्रतिवादी तर्फवाटः वरिष्ठ अधिवक्ता श्री सिन्धुनाथ प्याकुरेल प्रत्यर्थी वादी तर्फवाटः विद्वान अधिवक्ता श्री शिवप्रसाद पौडेल अवलम्वित नजीरः ने.का.प.२०४४, नि.नं.३२३८, पृष्ठ १०४७ फैसला न्या.वद्रीकुमार वस्नेतः पुनरावेदन अदालत, हेटौंडाको फैसला उपर न्याय प्रशासन ऐन, २०४८ को दफा ९ बमोजिम प्रतिवादीको पुनरावेदन पर्न आएको प्रस्तुत मुद्दाको संक्षिप्त तथ्य एवं ठहर यसप्रकार छ :– २. मेघन सिंहको २ छोरामा जेठो ठग सिंह कान्छो ढुण्डीराज सिंह र ठग सिंहको १ मात्र छोरा रामवहादुर सिंह ढुण्डीराजको छोराहरु राम नारायण सिंह, ववुली सिंह, भरत सिंह हुन । वाजे , वज्यै, पिता आमा तथा कान्छो वुवा कान्छी आमा समेत आफ्नो कालगतिले परलोक भइसक्नु भएको छ । हामी सम्पूर्ण अंशियारहरु साथ संगोलमा वसी खरीद विक्री सम्पूर्ण सम्पत्ति संगोलमा नै भोग चलन गरी आउंदा परिवार वढी भै आपसी सामाञ्जस्यता कायम हुन अलग भिन्द वस्नु नै श्रेयस्कर भएकोले अंशवण्डा गरी दिनु भनी विपक्षीलाई भन्दा आलटाल गरेकोले वाध्य भै फिराद गर्न आएको छु । विपछीलाई झिकाई फिराद परेको दिनसम्मको सम्पूर्ण चल अचल श्री सम्पत्तिको तायदाती फांटवारी लिई २ खण्डको १ खण्ड मेरो हुने अंश हक छुट्याई मेरो नाउंमा दर्ता समेत गरिपाऊं भन्ने समेत व्यहोराको फिराद पत्र । ३. दावी बमोजिम हामीले अंश दिनु पर्ने होइन ।वादी हाम्रो संगोलको अंशियार पनि होइन । वादीले पुस्तेवारी समेत प्रष्ट गर्न सक्नु भएको छैन । मुल पुरुष मेघन सिंहको दुइ भाई छोराहरुमा जेठो ठग सिंह कान्छो हामीहरुको पिता ढुण्डीराज हुनुहुन्छ । ठग सिंहको श्रीमति वन्ही र छोरा वादी रामवहादुर हुन । ढुण्डी राजको ३ भाई छोरामा राम नारायण, बवुलि सिंह र भरत सिंह हुन । वाजेको मृत्युपछि उहांको नामको पैत्रिक सम्पत्तिहरु दुवै भाईको मन्जुरीवाट जेठो ठग सिंहको नाउंमा नामसारी गराई दुवै भाईको संगोलवाट भोगि आउनु भएको हामी वादी प्रतिवादीहरुको जायजन्म पछि सन्तानमा खिचोला नहोस भनी २९।३० वर्ष अघि नै नरम गरम मिलाई वण्डा गरी आ–आफ्नो नाउंमा नामसारी गराई भोगी आएकोमा ठग सिंह २०३१ सालमा परलोक भएपछि निजका नाउंको जग्गा वादीले आफ्नो नाउंमा नामसारी गरी विभिन्न व्यक्तिलाई हक