निर्णय नं. ४१८० - अपुताली हक कायम दर्ता बदर

 नेपाल कानून पत्रिका शब्दबाट फैसला खोज्‍नुहोस् निर्णय नं. ४१८० - अपुताली हक कायम दर्ता बदर भाग: ३२ साल: २०४७ महिना: कार्तिक अंक: ७ फैसला मिति :२०४७/०६/२८ २५०६ निर्णय नं. ४१८० ने.का.प. २०४७ अङ्क ७ संयुक्त इजलास माननीय न्यायाधीश श्री त्रिलोकप्रताप राणा माननीय न्यायाधीश श्री हिरण्येश्वरमान प्रधान सम्वत् २०४६ सालको दे.पु.नं. ८७७ फैसला भएको मिति : २०४७।६।२८।१ मा पुनरावेदक/प्रतिवादी : जि.रुपन्देही गा.पं. कम्हरिया वा.नं. ७ बस्ने हरिहरप्रसाद थारु विरुद्ध विपक्षी/वादी : जि.रुपन्देही गा.पं. बनगाई वा.नं. ५ बस्ने मुण्डे थारुसमेत मुद्दा : अपुताली हक कायम दर्ता बदर (१) वादी प्रतिवादी दुवै एक समान हाँगाका समान हकवाला भए पनि अपुतालीको २ नं. बमोजिम संग बसेका हकवालाले अपुताली पाउने । (प्रकरण नं. १९) (२) कुनै सम्पत्ति उपर दुई व्यक्तिले दावी गरेकोमा एउटाको दावी फजुल भए अर्को दाबेदारले पूरै नपाउने भन्ने स्थिति नहुने । (प्रकरण नं. १९) पुनरावेदक/प्रतिवादी तर्फबाट: विद्वान वरिष्ठ अधिवक्ता श्री कुन्ज विहारीप्रसाद सिंह विपक्षी/वादी तर्फबाट : विद्वान अधिवक्ता श्री वसन्तराम भण्डारी फैसला न्या.त्रिलोकप्रताप राणा १. पश्चिमाञ्चल क्षेत्रीय अदालतबाट पुनरावेदन गर्न अनुमति प्रदान नभएको आदेश उपर पुनरावेदनको अनुमति पाउँ भनी पर्न आएको निवेदनमा अनुमति प्रदान भई दर्ता हुन आएको प्रस्तुत मुद्दाको संक्षिप्त विवरण यस प्रकार रहेछ । २. बेचु थारुका चार छोरा सुन्नर, गोली, जामुन, कप्तान भएकोमा सुन्नर परलोक भई निजको छोरा म मुण्डे, सूर्य बन्दु हौं । गोली परलोक भई निजको छोरा हरिहरप्रसाद, जामुन परलोक भई निजको छोरा भिखु हो । मृतक कप्तानको कुनै सन्तान थिएनन् । सुन्दर, गोली, जामुन अघि नै छुट्टी भिन्न भई अंश बण्डा गरी अलग भए तापनि कप्तान थारुलाई हामीसंग सगोलमा बसी आएको र निजको मृत्यु २०४०।११।५ मा भएकोले काजकृया समेत हामी वादीहरुले नै गरेका हौं । हामीलाई थाहा पत्तै नपाउने गरी विपक्षीले तपसीलको कप्तानका नाउँको जग्गा आफ्नो नाउँमा नामसारी गरेछन् । सो कुरा २०४१।५।१६ गते कि.नं. ३६७ को जग्गामा पनि गोडाई राखेको अवस्था विपक्षी आई कप्तान थारुको सबै जग्गा मेरा नाउँमा नामसारी भइसकेको छ भनी भनेबाट २०४१।५।२५ मा मालपोत कार्यालयमा गई हेर्दा थाहा भयो । हामीले सेवा टहल गरी काजकृया समेत गरेकोले अपुतालीको २ नं. बमोजिम हाम्रो हक लाग्ने जग्गा विपक्षीले दर्ता गराएको हुँदा हामीहरुको अपुताली हक कायम गरी विपक्षीको नाउँमा दर्ता बदर गरी दर्ता गराई चलन समेत चलाई पाउँ भन्ने समेत व्यहोराको भिखु थारु, मुण्डे थारुको फिराद दावी । ३. वादी दावी अनुसार कप्तान वादीहरुसंग सगोलमा बसेको र सेवा टहल र काजकृया समेत वादीले गरेको होइन । कप्तान परलोक हुँदा काजकृया समेत मैले गरेको र सो गर्दा लागेको ऋण तिर्न निजका नाउँको जग्गा नामसारी गरी केही जग्गा मैले बिक्री गरेको हो । स्वरुप र टुटेको सन्तान नभएकोले निजहरुको अपुताली वादीहरुले खाने र कप्तानको अपुतालीमा हरिहरप्रसादले खाने भनी वादीहरु र म प्रतिवादीका बीच सल्लाह भई कप्तानको सेवा टहल समेत गरी मरेपछि कप्तानको काजकृया समेत मैले नै गरेको हुँदा मेरो मात्र हक लाग्ने हो झुठ्ठा दावीबाट फुर्सद पाउँ भन्ने समेत व्यहोराको हरिप्रसाद थारुको प्रतिउत्तर जिकिर । ४. वादीबाट पेश भएको २०४०।११।४ को सक्कल लिखत देखाउँदा सुनाउँदा सोमा लागेको ल्याप्चे सहिछाप कारणी कप्तान थारुको होइन कस्को हो थाहा छैन । कप्तान बेहोस भएको अवस्थामा गराएको हुँदा वादी मुण्डे, भिखु र सो लिखत लेख्ने साक्षी समेत