निर्णय नं. ४१८८ - उत्प्रेषणयुक्त परमादेश
नेपाल कानून पत्रिका शब्दबाट फैसला खोज्नुहोस् निर्णय नं. ४१८८ - उत्प्रेषणयुक्त परमादेश भाग: ३२ साल: २०४७ महिना: कार्तिक अंक: ७ फैसला मिति :२०४७/०५/२० २४४९ निर्णय नं. ४१८८ ने.का.प. २०४७ अङ्क ७ संयुक्त इजलास माननीय न्यायाधीश श्री महेशरामभक्त माथेमा माननीय न्यायाधीश श्री प्रचण्डराज अनिल सम्वत् २०४६ सालको रिट नं. १४८८ आदेश भएको मिति : २०४७।५।२०।४ मा निवेदक : भैरव मा.वि. झोता बझाङको प्र.अ.पदमा कार्यरत दामोदर जोशी विरुद्ध विपक्षी : विद्यालय सञ्चालक समिति भैरब मा.वि.समेत विषय : उत्प्रेषणयुक्त परमादेश (१) सजायँ प्रस्तावित गरी सफाइको मनासिब मौका दिई नोकरीबाट बर्खास्त गर्ने कुनै निर्णय गरिनु र सफाइको मौका दिंदा अव्यवहारिक हुने देखी पर्चा खडा गरी नोकरीबाट बर्खास्त गरिनु बिलकुलै बेग्ला बेग्लै प्रकृया हो, नोकरीबाट हटाउने निर्णय गरिंदा दुवै प्रक्रिया एकै पटक प्रयोग हुन नसक्ने । (प्रकरण नं. १२) निवेदक तर्फबाट : विद्वान अधिवक्ता श्री हरिहर दाहाल तथा विद्वान अधिवक्ता श्री शेरबहादुर के.सी. विपक्षी तर्फबाट : विद्वान का.मु. मुख्य न्यायाधिवक्ता श्री प्रेमबहादुर विष्ट आदेश न्या.महेशरामभक्त माथेमा १. नेपालको संविधान, २०१९ को धारा १६।७१ अन्तर्गत दर्ता हुन आएको प्रस्तुत रिटनिवेदनको संक्षिप्त विवरण एवं निर्णय यस प्रकार छ । २. म निवेदक २०३९ साल देखि भैरव मा.वि. झोता बझाङमा अस्थायी शिक्षक भई प्र.अ.पदमा कार्यरत रहेको अवस्थामा शिक्षा सेवा पास गरी २०४० चैत्र देखि सोही मा.वि.मा नै स्थायी शिक्षक भई प्र.अ.पदमा कार्य गर्दै आइरहेको छु । अनुशासित, कर्तव्यनिष्ट प्र.अ.को हैसियतले कार्य गरे बापत कार्यरत विद्यालय सञ्चालक समितिबाट विभिन्न मितिका निर्णयबाट प्रशंसापत्र तथा नगद पुरस्कार समेत प्राप्त गरेको छु । एकाएक मलाई सफाइको कुनै मौका नै नदिई मिति २०४४।१०।२१ को विद्यालय सञ्चालक समिति भैरव मा.वि.को निर्णय बमोजिम विभिन्न आरोप लगाई शिक्षा नियमावली, २०२८ को नियम ४७ ‘क’ को देहाय (क) अनुसार अयोग्यताको कारणले उक्त निर्णय मिति २०४४।७।७ देखि लागू हुने भनिएको मिति २०४५।२।१७ को पत्र ०४५।२।१८ मा बुझाई सेवाबाट अवकाश दिएको जानकारी गराइयो । सो सञ्चालक समितिको निर्णय उपर शिक्षा शाखा बझाङमा निवेदन गरेकोमा २०४४।११।६ को जिल्ला शिक्षा समितिको निर्णय र सो को प्रतिलिपि ०४५।२।२३ को पत्रद्वारा अवगत गराइयो । शिक्षा समितिको निर्णय उपर क्षेत्रीय शिक्षा निर्देशनालय सु.प.दिपायलमा पुनरावेदन गरेकोमा विद्यालय सञ्चालक समितिको निर्णय सदर गरेको मिति ०४५।१२।१४ को पत्र ०४५।१२।२२ मा प्राप्त भयो । पत्र प्राप्त भएपछि निवेदक सुदूर पश्चिमाञ्चलको निवासी भएको र यसबीच बिरामी परेको हुँदा सम्मानीत अदालत समक्ष तुरुन्तै उपस्थित हुन सकिन । ३. शिक्षा नियमावली, २०२८ को नियम ४७क अनुसार अयोग्य रहेको भनी बर्खास्त गरिंदा सो नियमावलीको नियम ४७ख अनुसार सजायँ गर्न पाउने अधिकारीले अनिवार्य रुपमा कुनै शिक्षक वा कर्मचारीलाई सजायँ गर्न आदेश दिनु भन्दा अघि सफाईको मौका दिनु पर्छ भन्ने बाध्यात्मक व्यवस्था हुँदा हुँदै निवेदकको सम्बन्धमा सो अवलम्बन गरिएको छैन । यस अतिरिक्त विपक्षी वि.स.स. को मिति २०४४।१०।२१ को निर्णय ०४४।७।७ देखि लागू हुने गरी गरिएको छ । म निवेदकका सम्बन्धमा खडा गरिएको पर्चामा निष्काशनको १५ महीना अगावै दुवै पटक क्रमशः ०४३।७।१९ र २०४३।७।२३ मा स्पष्टीकरण माग गरिएको भनिएको बिलकूल गलत छ । कुनै पनि निकायबाट सफाइको मौका दिएको छैन । खडा गरिएको पर्चामा शिक्षा नियमावली, २०२८ को नियम १४(च) को अधिकार प्रयोग गरी प