निर्णय नं. ४१९३ - उत्प्रेषण

 नेपाल कानून पत्रिका शब्दबाट फैसला खोज्‍नुहोस् निर्णय नं. ४१९३ - उत्प्रेषण भाग: ३२ साल: २०४७ महिना: मंसिर अंक: ८ फैसला मिति :२०४७/०८/१८ २४६८ निर्णय नं. ४१९३ ने.का.प. २०४७ अङ्क ८ पूर्णइजलास सम्माननीय प्रधान न्यायाधीश श्री धनेन्द्रबहादुर सिंह माननीय न्यायाधीश श्री बब्बरप्रसाद सिंह माननीय न्यायाधीश श्री त्रिलोकप्रताप राणा सम्वत् २०४५ सालको रि.पू.इ. नं. ६२ आदेश भएको मिति : २०४७।८।१८।३ मा निवेदक/रिट निवेदक : पोखरा न.पा.वा.नं. १० बस्ने दिलबहादुर खत्री क्षेत्रीसमेत विरुद्ध प्रत्यर्थी/विपक्षी : मालपोत विभाग, काठमाडौंसमेत विषय : उत्प्रेषण (१) जग्गा दर्ता गरिपाउँ भनी निवेदकहरुको निवेदन परेपछि जग्गा दर्ता हुने हो वा होइन सबूद प्रमाणको आधारमा निर्णय गर्नु पर्ने । (प्रकरण नं. १०) निवेदक तर्फबाट : विद्वान अधिवक्ता श्री प्रकाश वस्ती प्रत्यर्थीतर्फबाट : विद्वान का.मु.मुख्य न्यायाधिवक्ता श्री प्रेमबहादुर विष्ट आदेश प्र.न्या.धनेन्द्रबहादुर सिंह १. श्री ५ महाराजाधिराजका हजूरमा सर्वोच्च अदालत संयुक्त इजलासबाट २०४४।१२।१० मा भएको आदेश दोहर्‍याई पाउँ भनी न्यायिक समिति मार्फत चढाई पठाएको बिन्तिपत्रहरु र न्यायिक समितिको पर्चा समेतको व्यहोरा जाहेर हुँदा मौसूफ सरकारबाट नेपालको संविधानको धारा ७२(ख) बमोजिम उक्त आदेश दोहर्‍याई हेरी कानुन बमोजिम गर्न हुकुम बक्सेको छ भनी श्री ५ महाराजाधिराजका प्रमुख सचिवालयबाट मिति २०४५।११।२ मा लेखी आएको व्यहोरा पेश हुँदा सम्माननीय प्रधान न्यायाधीशज्यूबाट भएको आदेशानुसार पूर्णइजलासको लगतमा दर्ता भई पेश हुन आएकोमा तथ्य यस प्रकार छ । २. साविक ०९१ सालमा १२ नं. मा भूपाल सिं जिम्मा द.नं. १ मा दिलबहादुरका नाममा दर्ता भएको र विज पाथी २ को जग्गा भू.सु. ७ नं. फाराममा आमा विष्णुमायाका नाममा भरी आमाको परलोक पश्चात म दिलबहादुरले बिज पाथी १ को जग्गा र सूर्यबहादुरले बिज पाथी १ को जग्गा छुट्टा छुट्टै तिरो तिरी छुट्टा छुट्टै भोगचलन गरी आएकोमा हाल सर्भे नापीमा छिने डाँडा पं. वडा नं. ७ को कि.नं. ३ मा सो जग्गा र अन्य जग्गा समेत गाभी नापी भई हाम्रो जग्गा पनि सो कित्तामा कायम हुन पुगेको छ । सो भित्र पर्ने केही जग्गाहरुको ९ नं. नापी गोश्वारामा निवेदन दिई सो सम्बन्धमा निजहरुको माग अनुसार दर्ता गर्न नमिल्ने भनी ना.स.वि.अ. बाट निर्णय भएको छ । हामीले आफ्नो जग्गा चलन गरी आएबाट जग्गा धनी प्रमाण पुर्जा पाइएला भनी विश्वस्त रही आएको थियौं र सो निर्णय हामीलाई पनि लागू हुने हो कि भनी प.क्षे.अ.मा पुनरावेदन दिंदा उजूर परी निर्णय नै नभएको हुँदा पुनरावेदन खारेज हुने भनी मिति ०३९।४।३१ मा निर्णय भयो । उक्त कि.नं. ३ फोड हुँदा हाल कायम कि.नं. ३११ को जग्गा हामी २ भाइका नाममा आधा आधा दर्ता जग्गा धनी प्रमाण पुर्जा पाउँ भनी मालपोत कार्यालय, काश्कीमा २०४० साल माघमा निवेदन दिएकोमा सो जग्गा दर्ता गरी दिनु पर्छ वा दर्ता नगर्ने भन्नु पर्नेमा माग दावी बमोजिम जग्गा दर्ता गर्न मिलेन तामेलीमा राखी दिने गरेको निर्णय अ.बं. १८४(क), १८५ नं. र १८९ नं. को त्रुटियुक्त छ । साथै छूट जग्गा दर्ता समितिले मिति २०४२।३।३१ मा सो जग्गा हाम्रा नाममा दर्ता गर्न उचित देखी सिफारिश समेत गरेकोमा मालपोत विभागले तथ्यगत त्रुटि गर्दै राय दिन पुगेबाट हामी हाम्रो सम्पत्तिको हकबाट वञ्चित हुन पुगेका छौं । हाम्रो समान स्थितिमा अर्थात क्षे.अ. बाट पुनरावेदन खारेज भएको सोही कि.नं. ३ को उमादेवी अधिकारी समेतका नाममा दर्ता गर्ने निर्णय विपक्षी मालपोत कार्यालयले मिति ०४०।५।९ मा गरी जग्गा धनी प्रमाण प