निर्णय नं. ४२२५ - उत्प्रेषणयुक्त परमादेश
नेपाल कानून पत्रिका शब्दबाट फैसला खोज्नुहोस् निर्णय नं. ४२२५ - उत्प्रेषणयुक्त परमादेश भाग: ३२ साल: २०४७ महिना: फागुन अंक: ११ फैसला मिति :२०४७/०३/११ २५६० निर्णय नं. ४२२५ ने.का.प. २०४७ अङ्क ११ संयुक्त इजलास माननीय न्यायाधीश श्री त्रिलोकप्रताप राणा माननीय न्यायाधीश श्री प्रचण्डराज अनिल सम्वत् २०४६ सालको रिट नं. ६१६ आदेश भएको मिति : २०४७।३।११।२ मा निवेदक : दाङ जिल्ला हापुर गा.पं. वा.नं. ९ बस्ने गोविन्दप्रसाद शर्मा विरुद्ध विपक्षी : श्री ५ को सरकार जलश्रोत मन्त्रालय सिंहदरबारसमेत विषय : उत्प्रेषणयुक्त परमादेश (१) नेपाल निजामती सेवा ऐन, २०१३ को दफा ६ को उपदफा (१) को प्रतिबन्धात्मक वाक्यांश (ख) मा पर्चा खडा गर्ने व्यवस्था भए पनि आरोप के कस्ता हुन् सो खुलाउनु पर्दैन भन्ने छैन । आरोप स्पष्ट एवं किटानी हुनुपर्छ र प्रत्येक आरोप कुन कुरा र कारणमा आधारित छ सो समेत खुलाउनु पर्ने । (प्रकरण नं. २३) (२) न त निवेदकलाई सजायँको आदेशको प्रतिलिपि उपलब्ध गराइयो, न त लाइएको आरोपको आधारहरु निवेदकलाई दिएको सजायँको सूचनामा नै खोलेको पाइन्छ यदि निवेदकलाई आरोपको स्पष्ट जानकारी हुँदैन भने निजले कसरी पुनरावेदन तहमा उक्त आरोपको खण्डन गर्न सक्दछ ? यस्तो कार्यलाई प्राकृतिक न्यायको सिद्धान्त अनुकूल भन्न नमिल्ने । (प्रकरण नं. २४) (३) नेपाल निजामती सेवा ऐन, २०१३ को दफा ६(१) को प्रतिबन्धात्मक वाक्यांश (ख) बमोजिम खडा हुने पर्चाको प्रयोजन सफाईको सबूद पेश गर्ने मौकाबाट वञ्चित गर्नुपर्ने भन्ने हो, तर सो बमोजिम पर्चा खडा गरी सजायँ गर्दा निजामती सेवा नियमावली, २०२१ को नियम १०.१ बमोजिम उचित र पर्याप्त कारण हुनुपर्ने । (प्रकरण नं. २६) (४) निजामती सेवा ऐन, २०२१ को नियम १०.१ बमोजिम सजायँ गर्दा उचित र पर्याप्त कारण छ भन्ने कुरा वस्तुगत रुपमा निर्णय पर्चाबाट देखिन पर्ने । (प्रकरण नं. २७) निवेदक तर्फबाट : विद्वान वरिष्ठ अधिवक्ता श्री कृष्णप्रसाद पन्त विपक्षी तर्फबाट : विद्वान सहन्यायाधिवक्ता श्री शारदा पण्डित आदेश न्या.त्रिलोकप्रताप राणा . नेपालको संविधान, २०१९ धारा १६।७१ अन्तर्गत दायर भई निर्णयार्थ पेश हुन आएको प्रस्तुत रिटनिवेदनको संक्षिप्त विवरण यस प्रकार रहेछ :– २. म निवेदक श्री ५ को सरकार इन्जिनीयरिड्ड सेवा, सिविल समूहको स्यानेटरी उपसमूहको सेवामा २०२८ सालदेखि प्रवेश गरी २०२९ सालदेखि स्थाई भई समय समयमा पदोन्नति हुँदै खानेपानी ढल निकास क्षेत्रीय कार्यालय धनकुटामा का.मु.डि.ई.को पदभार सम्हाली आएको राष्ट्रसेवक हुँ । ३. निवेदकले पदीय आचरण अनुरुप कर्तव्य पालन गरी आई लुमदाङ धनकुटा खानेपानी योजनामा योजना प्रमुखको हैसियतले र कोशी अञ्चलमा सञ्चालित खानेपानी योजनाको सुपरीवेक्षण गरी कार्यरत रही रहेको अवस्थामा मिति ०४४।११।२८ गतेको श्री ५ को सरकारको निर्णय अनुसार नोकरीबाट हटाइएको भनी २०४४।१२।१ मा एउटा पत्रबाट म निवेदकलाई जानकारी दिइयो । सो निष्काशन पत्रको व्यहोरामा “श्री ५ को सरकारको मिति ०४४।११।२८ गतेको निर्णय बमोजिम तपाईलाई निजामती सेवा ऐन, २०१३ को दफा ६ को उपदफा १ को प्रतिबन्धात्मक वाक्यांश (ख) बमोजिम पर्चा खडा गरी निजामती सेवा नियमावली, २०२१ को नियम १०.६.५ बमोजिम आफ्नो पदको जिम्मेवारी अनुसार आचरण नगरेको अभियोगमा सोही निजामती सेवा नियमावली, ०२१ को नियम १०.१(५) बमोजिम भविष्यमा सरकारी नोकरीको निमित्त अयोग्य नठहरिने गरी नोकरीबाट हटाइएको” भन्ने उल्लेख गरिएको छ । ४. यस सम्बन्धमा निजामती सेवा ऐन, २०१३ को दफा ६ को उपदफा (१) को प्रतिबन्धात्मक वाक्यांश (ख) मा ऐन अन