निर्णय नं. ४२०६ - उत्प्रेषण
नेपाल कानून पत्रिका शब्दबाट फैसला खोज्नुहोस् निर्णय नं. ४२०६ - उत्प्रेषण भाग: ३२ साल: २०४७ महिना: पौस अंक: ९ फैसला मिति :२०४७/०४/१६ २३४८ निर्णय नं. ४२०६ ने.का.प. २०४७ अङ्क ९ संयुक्त इजलास माननीय न्यायाधीश श्री सुरेन्द्रप्रसाद सिंह माननीय न्यायाधीश श्री हरगोविन्द सिंह प्रधान सम्वत् २०४६ सालको रिट नं. ८९३ आदेश भएको मिति: २०४७।४।१६।३ मा रिट निवेदक : श्रीराम जानकी ईटा टायल कारखानाको साझेदार विराटनगर न.पं. वा.नं. ४ बस्ने ऋषि मोहन रेग्मीसमेत विरुद्ध विपक्षी : कर कार्यालय विराटनगरसमेत विषय : उत्प्रेषण (१) सूचना मिति ०४३।१।१५ मा प्रकाशित भएको र कर कार्यालय विराटनगरबाट आ.ब. ०४१।४२ को आयकर निर्धारण गरेको देखिँदा सो सूचनाबाट आ.व. ०४१।४२ को आयमा कर असूल गर्न नमिल्ने हुनाले कर कार्यालय विराटनगरबाट ०४६।६।३ मा आयकर र जरिवाना निर्धारण गरेको उक्त निर्णय पर्चा त्रुटिपूर्ण देखिन आयो । आ.व. ०४१।४२ सालको आयमा औद्योगिक व्यवसाय ऐन, २०३८ को दफा १०(क)(१) बमोजिम आयकर छूट सुविधा पाउन सक्ने देखिनाले उक्त निर्णय बदर हुने । (प्रकरण नं. ७) निवेदक तर्फबाट : विद्वान अधिवक्ता श्री अग्नी खरेल विपक्षी तर्फबाट : विद्वान मुख्य न्यायाधिवक्ता श्री केदारप्रसाद शर्मा आदेश न्या.सुरेन्द्रप्रसाद सिंह १. नेपालको संविधान, २०१९ को धारा १६।७१ अन्तर्गत पर्न आएको प्रस्तुत रिटनिवेदनको संक्षिप्त तथ्य विवरण एवं निर्णय निम्नानुसार छ । २. साझेदारी ऐन, २०२० अनुसार घरेलु तथा ग्रामिण उद्योग विभागमा ०४१।६।२५ मा दर्ता भई सोही मितिमा दर्ता प्रमाणपत्र प्राप्त गरी कूल पूँजी रु. ६,११,०९९ तथा चालू पूँजी रु. ३,३८,६९९ तोकी संचालन गर्ने स्वीकृत भई ०४१।९।२१ देखि उत्पादन तथा बिक्री वितरण गर्दै आएको श्रीराम जानकी ईटा टायल कारखाना औद्योगिक व्यवसाय ऐन, २०३८ प्रारम्भ भए पश्चात स्थापित उत्पादन मूलक घरेलु उद्योग भएको हुँदा ऐनको दफा १०(क)(१) बमोजिमको सुविधा पाउने हुँदा निवेदकले समय समयमा घरेलु तथा ग्रामिण उद्योग विकास शाखालाई पत्र लेखेकोमा त्यस कार्यालय समेतले विपक्षी नं. २ लाई च.नं. ४३२ मिति ०४३।६।६ मा पत्र लेखी उत्पादन कार्य प्रारम्भ गरेको मितिले ६ वर्षतक ऐन बमोजिमको सुविधा प्रदान गर्नु पर्ने भनी निर्णय गरी पत्र लेखेको तथा विपक्षी समक्ष म निवेदकले उत्पादन मुलक घरेलु उद्योग भएको हुँदा आयकर छूट हुनु पर्ने व्यहोराको बयान गर्दा गर्दै विपक्षी नं. १ ले आयकर ऐन, २०३१ को दफा ३३(२)(ख)(घ) बमोजिम भनी आ.ब. ०४१।४२ को आयकर र जरिवाना समेत भनी रु. ५,९२९।– कायम गरी ०४६।६।३ मा निर्णय गर्यो । ३. औद्योगिक व्यवसाय ऐन, २०३८ को दफा १०(क)(१) को (२) बमोजिम निवेदकको उद्योगले उद्योग संचालन गरेको मितिले ६ वर्ष तक शतप्रतिशत आयकर छूट पाउनेमा सो विपरीत गरिएको निर्णय पर्चा बदरभागी छ । उक्त ऐनको दफा १०(क)(१) को प्रतिबन्धात्मक व्यवस्थानुसार पनि उद्योग स्थापना हुनु पूर्व श्री ५ को सरकारले नेपाल राजपत्रमा सूचना प्रकाशित गरी निवेदकको उद्योगमा आयकर लगाउने वा ऐन बमोजिम आयकर छूट नदिने निर्णय गर्न सकेको देखिँदैन । उपरोक्त बमोजिम कानुन विपरीत आफ्नै ढंगले आय निर्धारण गरी आयकर लगाउने गरी भएको ०४६।६।३ को निर्णय पर्चाले संविधानको धारा ११(२)(ङ) र १५ द्वारा प्रत्याभूत सम्पत्ति सम्बन्धी हकमा आघात पारेको हुँदा उत्प्रेषणको आदेशद्वारा उक्त निर्णय पर्चा बदर गरी उत्पादन शुरु भएको मितिले ६ वर्ष तक ऐन बमोजिम सुविधा दिनु भनी परमादेश समेत जारी गरी पाउँ भन्ने समेत रिटनिवेदन । ४. यसमा विपक्षीहरुबाट लिखितजवाफ मगाई आएपछि वा अवधि नाघेपछि पेश