निर्णय नं. ९२२७ - जबर्जस्ती करणी उद्योग

 नेपाल कानून पत्रिका शब्दबाट फैसला खोज्‍नुहोस् निर्णय नं. ९२२७ - जबर्जस्ती करणी उद्योग भाग: ५६ साल: २०७१ महिना: मंसिर अंक: ८ फैसला मिति :२०७१/०३/२३ १००४५ नेकाप २०७१, अङ्क ८, नि.नं.९२२७ सर्वोच्च अदालत, संयुक्त इजलास माननीय न्यायाधीश श्री कल्याण श्रेष्ठ माननीय न्यायाधीश श्री देवेन्द्र गोपाल श्रेष्ठ फैसला मिति : २०७१।३।२३।२ ०६६–CR –०५१७ मुद्दा : जबर्जस्ती करणी उद्योग । पुनरावेदक/प्रतिवादी : जिल्ला झापा, महेशपुर गाउँ विकास समिति वडा नं. ५ बस्ने चन्दन कामती विरूद्ध प्रत्यर्थी/वादी : नेपाल सरकार § जबर्जस्ती करणीको उद्योगमा जबर्जस्ती करणीको महलमा व्यवस्था भए अनुसार सोह्र वर्ष नाघेकी केटी वा स्वास्नी मानिसलाई जोरजुलुम गरी वा डर धाक देखाई वा अनुचित प्रभावमा पारी करणीको प्रयास भएको हुन्छ । यसमा सङ्घर्षका चिह्न वा लक्षण देखिन पनि सक्दछ, नदेखिन पनि सक्दछ । तर यसको विपरीत आसय करणीमा सङ्‍घर्षका चिह्नहरू वा लक्षणहरू देखिँदैन । यसमा स्त्री जातिको कुनै पनि अङ्गमा करणीको आसयले स्पर्श मात्र नभई समातेको सम्म हुनुपर्ने देखिन्छ । आसय करणीमा करणी गर्ने मनसाय हुन्छ तर जबर्जस्ती करणीको उद्योगमा जबर्जस्ती करणी गर्ने मनसाय हुन्छ । तसर्थ यी दुबैमा करणीको आसय त हुन्छ तर जबर्जस्ती गरेको लक्षण जबर्जस्ती करणीको उद्योगमा मात्र हुन सक्ने । (प्रकरण नं.४) पुनरावेदक/प्रतिवादीको तर्फबाट : विद्वान्‍ अधिवक्ताद्वय ज्ञानेन्द्रप्रसाद पोखरेल र विक्रम बस्नेत प्रत्यर्थी/वादीको तर्फबाट : विद्वान्‍ उपन्यायाधिवक्ता गंगाप्रसाद पौडेल अवलम्बित नजिर : सम्बद्ध कानून : § मुलुकी ऐन, जबर्जस्ती करणीको महलको ३, ५ नं. सुरू तहमा फैसला गर्ने : मा.जि.न्या.श्री अवध बिहारीप्रसाद सिन्हा पुनरावेदन तहमा फैसला गर्ने : मा.मु.न्या.श्री पुरूषोत्तम पराजुली मा.न्या.श्री केशवप्रसाद मैनाली फैसला न्या. कल्याण श्रेष्ठ : न्याय प्रशासन ऐन, २०४८ को दफा ९ बमोजिम यस अदालतको क्षेत्राधिकारअन्तर्गत पुनरावेदन अदालत, इलामको मिति २०६६।२।३ को फैसलाउपर प्रतिवादीको पुनरावेदन परी पेस हुन आएको प्रस्तुत मुद्दाको सङ्‍क्षिप्त तथ्य एवम्‍ ठहर यसप्रकार रहेको छ : जिल्ला झापा, महेशपुर ५ स्थित पूर्व, पश्चिम र उत्तरमा मनोज सिहंको चिया बगान, दक्षिणमा कुमोद झाको चिया बगान यति चार किल्लाभित्र मिति २०६३।१।१६ गते अं १६.‍०० बजेको समयमा चन्दन कामतीले जाहेरवालीकी छोरी वर्ष तेह्रकी रेणु राजवंशीलाई जबर्जस्ती करणीको उद्योग गरेको र उक्त स्थानमा झारपात केही मात्रामा माडिएको जस्तो देखिएको, रेणु राजवंशीले लगाएको कलेजी रङ्गको हाफ पाइन्ट, रातो सर्ट र बैजनी रङ्गको सलसमेत रहेको भन्ने व्यहोराको घटनास्थल मुचुल्का । मेरी छोरी वर्ष तेह्रकी रेणु राजवंशी मिति २०६३।१।१६ गते दिनको ४ बजेको समयमा घाँस काट्न भनी मनोज सिंहको चिया बगानमा गएको अवस्थामा चन्दन कामतीले छोरीलाई जबर्जस्तीपूर्वक लडाई लगाएको कपडा खोली निजको उत्तेजित लिङ्ग निकाली करणी गर्न खोज्दै गर्दा मेरी बुहारी घाँस काट्न सोही चिया बगानमा गएको अवस्थामा देखी कराउँदा विपक्षी उठी कपडा मिलाउँदै भागी गएको भन्ने कुरा बेलुका पत्नीले भन्दा थाहा पाएको हो । पहिलेदेखि नै निज प्रतिवादीले छोरीसँग विवाह गर्छु भनी ललाई फकाई माया गर्छु भनेको कुरा छोरीले सुनाएको हुँदा कारवाही गरिपाउँ भन्नेसमेत व्यहोराको जाहेरी दरखास्त । मिति २०६३।१।१६ गते जाहेरवालीको छोरी रेणु राजवंशी मनोज सिंहको चिया बगानमा एक्लै घाँस काट्दै गरेको देखी म पनि निजले घाँस काट्दै गरेको ठाउँमा गई निजसँग गफ गर्न थालेँ ।