निर्णय नं. ७५३१ - परमादेश समेत ।
नेपाल कानून पत्रिका शब्दबाट फैसला खोज्नुहोस् निर्णय नं. ७५३१ - परमादेश समेत । भाग: ४७ साल: २०६२ महिना: श्रावण अंक: ४ फैसला मिति :२०६२/०२/१९ १३१०५ निर्णय नं. ७५३१ ने.का.प.२०६२ अङ्क ४ सर्वोच्च अदालत, संयुक्त इजलास माननीय न्यायाधीश श्री अनूपराज शर्मा माननीय न्यायाधीश श्री अर्जुनप्रसाद सिंह संवत २०६१ सालको रिट नम्वर ३३०३ आदेश मितिः २०६२।१।१९।२ बिषयः– परमादेश समेत । निवेदकः का.जि.का.म. न.पा. वडा नं. १ कमलपोखरी स्थित दलित गैरसरकारी संस्था महासंघ (DNF) को तर्फबाट अध्यक्ष डिलबहादुर विश्वकर्मा समेत विरुद्ध विपक्षीः श्री ५ को सरकार प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, काठमाडौं समेत § प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले एकमहिना भित्र मासिकश्राव भएको महिलालाई छाउपडी (गोठ) मा पठाउने प्रथालाई कुरिती भएको घोषणा गर्नुपर्ने । § छाउपडी प्रथा कायम रहेका जिल्ला तथा स्थानहरुमा महिला तथा बालबालिका माथि सो प्रथाबाट पर्न जाने र परिरहेका असरको समिक्षा गरी त्यसबारे गर्नुपर्ने स्वास्थ्यसम्बन्धी कार्यहरुको पहिचान गरी यथासक्य चाँडो प्रतिवेदन स्वास्थ्य मन्त्रालय र सर्वोच्च अदालतमा पेश गर्नुपर्ने । § छाउपडी प्रथाको विरुद्ध सार्वजनिक चेतना जगाउन स्थानीय निकायहरुलाई परिचालित गर्न स्थानीय विकास मन्त्रालयले निर्देशन दिनुपर्ने । § महिला बालबालिका तथा समाजकल्याण मन्त्रालयले यो आदेश प्राप्त भएको मितिले तीनमहिनाभित्र निर्देशिका बनाई लागु गर्नु गराउनु पर्ने । (प्रकरण नं. १२) निवेदक तर्फवाटः विद्वान अधिवक्ताहरु श्री राजुप्रसाद चापागाई, श्री मीरा ढुङ्गाना, श्री टिकाराम भट्टराई तथा श्री टेक ताम्राकार विपक्षी तर्फवाटःश्री विद्वान उप न्यायाधिवक्ता श्री ब्रजेश प्याकुरेल अवलम्वित नजीरः आदेश न्या.अनुपराज शर्माः नेपाल अधिराज्यको संविधान २०४७ को धारा २३,८८(२) अन्तर्गत पर्न आएको प्रस्तुत रिट निवेदनको संक्षिप्त तथ्य एवं ठहर यसप्रकार छ । २. नेपाल अधिराज्यको विशेष गरी सुदुर पश्चिमका सबै जिल्लाहरु, मध्यपश्चिमका अधिकांश जिल्लाहरु, महोत्तरी लगायतका नेपाल अधिराज्य भर अन्धविश्वास तथा रुढिमा आधारित कुसंस्कारयुक्त समाजिक परम्पराका आधारमा महिलाहरुमा नियमित संचालन हुने मासिक श्राव हुँदा समाज तथा परिवारबाट अहिले सम्म पनि घरबाट टाढा गाई, भैंसी, बाख्रा आदि बस्ने गोठसंगै छाउपडि गोठमा राख्ने, सामाजिक तथा पारिवारिक तिरस्कार गर्ने, मानसिक यातना दिने, खाने कुराबाट बन्चित गर्ने, अस्वस्थ वातावरणमा बस्न बाध्य पार्ने लगायत विभिन्न कष्ट प्रद यातना दिने कार्य यथावत कायमै रहेको छ । महिलामा हुने नियमित प्राकृतिक शारिरीक नियमलाई अन्धविश्वास रुढिमा आधारित बनाई मासिक श्राव हुँदा महिलालाई घर देखि अलग छाउपडि गोठमा राख्ने गरिन्छ । छाउपडिमा बस्ने महिलाहरुलाई घरमा भएका उपभोग्य बस्तु लगायत सम्पूर्ण बस्तुहरुको उपभोग र प्रयोग गर्नबाट बन्चित गरिन्छ । परिवार र समाजका कुनैपनि व्यक्तिसंग सम्पर्क सम्बन्धबाट टाढा राखिन्छ । नुन खुर्सानीसंग बासी रोटी मात्र खान दिई अन्य पोषणयुक्त सम्पूर्ण खाने कुराबाट बन्चित गरिन्छ । सुत्न बस्नका लागि आवश्यक पर्ने सम्पूर्ण उपयुक्त लत्ता कपडाबाट बन्चित गरी पराल बोरा र मान्द्रा गुन्द्री आदिमा सुत्नु बस्नु पर्ने हुन्छ । रोगको संक्रमणयुक्त, फोहोर मैला भएको गाई, भैंसी, बाख्रा आदि बस्ने छाउपडि गोठमा बस्न बाध्य बनाई स्वच्छताबाट बन्चित गरिन्छ यी उल्लेखित कुराहरुबाट बन्चित भै महिलाहरु अपमानित हुदै आएका छन् । मासिक श्राव भएको बेला महिला माथि गरिने उक्त व्यवहारबाट