निर्णय नं. ९२३० - कर्तव्य ज्यान
नेपाल कानून पत्रिका शब्दबाट फैसला खोज्नुहोस् निर्णय नं. ९२३० - कर्तव्य ज्यान भाग: ५६ साल: २०७१ महिना: मंसिर अंक: ८ फैसला मिति :२०७१/०६/२२ ३३१७ नेकाप २०७१, अङ्क ८, नि.नं.९२३० सर्वोच्च अदालत, संयुक्त इजलास माननीय न्यायाधीश श्री बैद्यनाथ उपाध्याय माननीय न्यायाधीश श्री देवेन्द्र गोपाल श्रेष्ठ आदेश मिति : २०७१।६।२२। ४ ०६८-CR-०१८४ मुद्दा : कर्तव्य ज्यान । पुनरावेदक/प्रतिवादी : जिल्ला दाङ, गंगा परस्पुर गा.वि.स. वडा नं. ५ घर भई हाल कारागार कार्यालय, तुलसीपुरमा थुनामा रहेको भरत वि.क. विरूद्ध विपक्षी/वादी : सुभाष परियारको जाहेरीले नेपाल सरकार § छुराले मृतकलाई कुनै संवेदनशील अङ्ग जस्तो टाउको, घाँटी, छाती, पेट कोखामा लागेको नभई हातमा लागेको अवस्था छ । अत्यधिक रगत बग्नुको कारणबाट मृत्यु भएको देखिन्छ । यसो हेर्दा भवितव्य परेको होकि भन्ने जस्तो देखिए पनि छुरा जस्तो धारिलो हतियार चलाउँदा मानिसलाई लागी मर्न सक्छ जस्तो देखिने हुँदा ज्यानसम्बन्धीको महलको ५ नं. यहाँ लाग्न नसक्ने । (प्रकरण नं.५) § परिस्थितिवश मृतककै कार्यकारण विवादका क्रममा चोट लागी वारदात घट्न गएको अवस्था विचार गर्दा प्रतिवादीलाई ऐनबमोजिम सजाय दिँदा चर्को हुने चित्तले देखिँदा प्रतिवादी भरत वि.क.लाई निजले गरेको कसुरको प्रकृति अनुसार आवेश प्रेरित भन्दा कम भवितव्य भन्दा केही बढी कैद वर्ष ५ हुन मनासिब देखिने । (प्रकरण नं.६) पुनरावेदक/प्रतिवादीको तर्फबाट : विद्वान् अधिवक्ता तारा खनाल प्रत्यर्थी/वादीको तर्फबाट : अवलम्बित नजिर : सम्बद्ध कानून : § मुलुकी ऐन, ज्यानसम्बन्धीको महलको १, ५ र १३ नं. § मुलुकी ऐन, अ.बं. १८८ नं. सुरू तहमा फैसला गर्ने : मा.जि.न्या.श्री महम्मद जुनैद आजाद पुनरावेदन तहमा फैसला गर्ने : मा.मु.न्या.श्री विश्वनाथ जोशी मा.न्या.श्री भिमबहादुर बोहरा फैसला न्या.बैद्यनाथ उपाध्याय : पुनरावेदन अदालत, तुलसीपुर दाङको मिति २०६८।२।२३ को फैसलाउपर न्याय प्रशासन ऐन, २०४८ को दफा ९(१) बमोजिम यस अदालतमा प्रतिवादीका तर्फबाट पुनरावेदन पर्न आएको प्रस्तुत मुद्दाको सङ्क्षिप्त तथ्य र ठहर यस प्रकार छ : मिति २०६६।७।१ गते साँझ अन्दाजी २०.०० बजेको समयमा मेरो कान्छो बाबु गणेश परियारको जेठो छोरा दामोदर परियारलाई गंगापरस्पुर गा.वि.स. वडा नं. २ सुतैंयामा रहेको चौधरीको होटेलमा भरत वि.क. ले खुकुरी प्रहार गरी घाइते भएको र उपचार गर्ने क्रममा सोही चोटको कारण राति उपचार गर्दागर्दै अस्पतालमा मृत्यु भएको हुँदा निजलाई पक्राउ गरी कानूनबमोजिम गरिपाँउ भन्ने सुभाष परियारको जाहेरी दरखास्त । जिल्ला दाङ, घोराही न.पा. १० स्थित राप्ती उपक्षेत्रीय अस्पतालको इमरजेन्सी भवनको कोठाभित्र काठको खटियामा मृतक दामोदर परियारलाई उत्तानो अवस्थामा सुताएको लास रहेको । उक्त लासको बायाँ हातको पाखुरामा लगाएको पट्टि खोली हेर्दा सात वटा टाँका लगाएको ३ से.मि. लम्बाई भएको घाउ देखिएको भन्ने घटनास्थल लास प्रकृति मुचुल्का । जिल्ला दाङ, गंगापरस्पुर गा.वि.स. वडा नं. ५ स्थित पवित्रा चौधरीको पसलको आँगनमा रगतको टाटा भएको प्रतिवादी भरत वि.क. ले मृतक दामोदर परियारलाई कुटपीट गरेको घटनास्थल प्रकृति मुचुल्का ठीक छ भन्ने मुचुल्का मिसिल सामेल रहेको । जिल्ला दाङ, गंगापरस्पुर गा.वि.स. वडा नं. ५ परस्पुर गाउँ स्थित धानको खराईको बिचौबीचमा खोली हेर्दा पित्तलको बिँड भएको रगत लागेको चक्कु बरामद भएको र सोही स्थानमा भरत वि.क. बस्ने घरको कोठा भित्रबाट भरत वि.क. ले लगाउने गरेको कालो भेस्ट बरामद भएको भन्ने बरामदी मुचुल्का ।