निर्णय नं. ७५६९ - मोही नामसारी, मोही कायम ।

 नेपाल कानून पत्रिका शब्दबाट फैसला खोज्‍नुहोस् निर्णय नं. ७५६९ - मोही नामसारी, मोही कायम । भाग: ४७ साल: २०६२ महिना: कार्तिक अंक: ७ फैसला मिति :२०६२/०७/२५ ६९६१ निर्णय नं.७५६९ ने.का.प.२०६२ अङ्क ७ सर्वोच्च अदालत, संयुक्त इजलास माननीय न्यायाधीश श्री रामनगिना सिंह माननीय न्यायाधीश श्री वद्रीकुमार वस्नेत सम्बत २०५९सालको दे.पु.नं. ८८०३ फैसला मितिः २०६२।७।२५।६ मुद्दाः – मोही नामसारी, मोही कायम । पुनरावेदक र प्रतिवादीः रसुवा जिल्ला लहरे पौवा गा.वि.स.वडा नं २ वस्ने राजेन्द्रप्रसाद आचार्य विरुद्ध विपक्षी र वादीः जिल्ला नुवाकोट गेर्खु गा.वि.स वडा नं ४ वस्ने रामवहादुर थापा पुलामी समेत § हक प्राप्त मोहीको मृत्युपछि हक खाने नाताको व्यक्तिमा मात्र जग्गावालाले पत्याएको व्यक्तिले मात्र मोही हक प्राप्त गर्न सक्ने । § भूमिसम्बन्धी ऐन, २०२१ को दफा २६(क) ले मोहियानी हक खरीद गर्न वा दानदातव्यको रुपमा वा अरु किसिमले हक छोडाई लिन पाइने छैन र सरकारी वा गैरसरकारी विगो वा सजायमा लिलाम विक्रि हुनेछैन भन्ने व्यवस्था गरेकाले मोहीले जग्गा कमाई खान पाउने र आफूले कमाई आएको जग्गाको मोही हक हस्तान्तरण हुन सक्ने नदेखिने । (प्रकरण नं.१९) § पुनरावेदकका पिताले मोही यी प्रत्यर्थीका वावुलाई आफ्नो जग्गा दिई निजको मोही हक पारीत गरिलिएको सट्टापट्टाको कार्य कानूनसम्मत छ भन्न नमिल्ने । (प्रकरण नं.२०) § आफूले जग्गा दिई मोही हक पारीत गरिलिएको भन्दैमा त्यस्तो कानूनसंगत नभएको लिखतको आधारवाट यी पुनरावेदकलाई विवादको जग्गाको मोही हक प्राप्त हुनसक्छ भन्न नमिल्ने। (प्रकरण नं.२१) पुनरावेदक प्रतिवादी तर्फवाटः विद्वान् अधिवक्ता श्री नारायणप्रसाद दुवाडी विपक्षी वादी तर्फवाटः अवलम्वित नजीरः आदेश न्या.रामनगिना सिंहः पुनरावेदन अदालत पाटनको मिति २०५९।४।२७ को फैसला उपर न्याय प्रशासन ऐन, २०४८ को दफा ९(१) अनुसार प्रतिवादीको पुनरावेदन परेको प्रस्तुत मुद्दाको संक्षिप्त तथ्य तथा ठहर यसप्रकार छ :- २. का.जि.का.म.न.पा. वडा नं १६ वस्ने सुवर्णराज भट्टराई नाउँ दर्ताको नु.जि.गेर्खु गा.वि.स.वडा नं ४ को कि.नं.२८३ को जग्गाको मोही मेरा वावु तथा वाजे धनवहादुर थापा भएकोमा निज धनवहादुर थापाको मिति २०५०।४।२१ गते मृत्यु भई तथा वज्यै पुतली थापाको पनि २०५१।७।१८गते मृत्यु भए पश्चात निज धनवहादुरको मोही हक खाने म छोरा रामवहादुर थापा पुलामी र नाती भैरववहादुर थापा समेत भएकोले संयुक्त मोही नामसारी गरिपाऊँ भन्ने गा.वि.स.को सिफारिस सहित मिति २०५४।१।१७ को रामवहादुर थापा समेतको संयुक्त निवेदन पत्र । ३. भूमिसम्बन्धी ऐन, २०२१को दफा २६(क) बमोजिम मोहीको मृत्युपश्चात मोहियानी हक जग्गाधनीले पत्याएको व्यक्तिको हुनेछ भनि सिद्धान्त प्रतिपादित भएको हुँदा छोरा र नाती समेतले मोही नामसारीको लागि निवेदन दिएको र उक्त ऐनबमोजिम नातीले मोहियानी हक पाउदैन भन्ने प्रष्ट व्यवस्था भएको र निज मोही धनवहादुर थापाको मृत्यु पश्चात उक्त जग्गा मैले आँफैले भोगचलन गर्दै आई रहेको हुँ मोही नामसारी हुनुपर्ने होइन भन्ने केशव राज भट्टराईको प्रतिउत्तर पत्र । ४. नु.जि.गेर्खु गा.वि.स.वडा नं ४ वस्ने धनवहादुर थापा मगरले म राजेन्द्रप्रसाद आचार्यलाई मिति २०३७।११।२५ मा गेर्खु गा.वि.स. वडा नं ४ को कि.नं २८३ को जग्गाको मोहियानी हक राजिनामा गरी दिएको हुँदा उक्त राजिनामा अनुसार मोही लगत कट्टा गरिपाऊँ भनि २०५४।३।२९ मा राजेन्द्रप्रसाद आचार्यले दिएको निवेदन पत्र । ५. मालपोत कार्यालय नुवाकोटको र.नं १६१७ मिति २०३७।११।२५ को मोहियानी हक राजिनामाक