निर्णय नं. ७९७९ - जग्गा निखनाई पाऊँ ।
नेपाल कानून पत्रिका शब्दबाट फैसला खोज्नुहोस् निर्णय नं. ७९७९ - जग्गा निखनाई पाऊँ । भाग: ५० साल: २०६५ महिना: असोज अंक: ६ फैसला मिति :२०६५/०२/१० ४३८१ निर्णय नं.७९७९ ने.का.प. २०६५ अङ्क ६ सर्वोच्च अदालत, संयुक्त इजलास माननीय न्यायाधीश श्री रामप्रसाद श्रेष्ठ माननीय न्यायाधीश श्री ताहिर अली अन्सारी सम्वत् २०६२ सालको दे.पु.नं.–––––८६४१ फैसला मितिः २०६५।२।१०।६ मुद्दा :– जग्गा निखनाई पाऊँ । पुनरावेदक प्रतिवादीः जिल्ला धनुषा तुल्सीयाही जब्दी गा.वि.स.वडा नं.२ मा बस्ने बिरेन्द्र ठाकुर विरुद्ध प्रत्यर्थी वादीः जिल्ला धनुषा तुल्सीयाही जब्दी गा.वि.स.वडा नं.३ मा बस्ने परमेश्वर ठाकुर शुरु फैसला गर्ने: मा.न्यायाधीशः– श्री शम्भुराम कार्की । पुनरावेदन अदालतमा फैसला गर्ने: मा.न्या.श्री मोहन प्रकाश सिटौला मा.न्या.श्री ऋषि राज मिश्र § ऐनले साँध जोडिएको जग्गा निखन्न पाउने व्यवस्था गरेको नभई सन्धिसर्पन पर्ने जग्गा निखन्न पाउने व्यवस्था गरेकोमा सन्धिसर्पन पर्नका लागि घर जग्गाको साँध जोडिनु एउटा आधार हो भने त्यत्तिकैबाट साँध जोडिएका सबै जग्गाहरु सन्धिसर्पन पर्ने जग्गा हुन भनी अनुमान गर्न वा त्यस्तो निष्कर्षमा पुग्न नसकिने । § दावी गरिएको घरजग्गा सन्धिसर्पन पर्ने हो त्यसको पुष्ट्याई निखन्न चाहने व्यक्तिले गर्नुपर्ने। § सन्धिसर्पन पर्नलाई जग्गा ननिखनेको अवस्थामा कूलो, पानी, बाटो, निकास, हावा, घाम इत्यादि कुराहरुमा अवरोध पुग्ने वा विपरीत असर पर्ने हुनुपर्ने । § जग्गा निखनाई पाउनको लागि दावी लिनेले दावीको जग्गा सन्धिसर्पन पर्ने स्पष्ट आधार नदेखाई साँध सिमाना मिलेको भन्ने मात्र आधारले निखनी लिन नपाउने । पुनरावेदक प्रतिवादी तर्फवाटः प्रत्यर्थी वादी तर्फवाटः अवलम्वित नजीरः फैसला न्या.ताहिरअलि अन्सारीः पुनरावेदन अदालत जनकपुरको मिति २०६१।२।१३ को फैसला उपर न्याय प्रशासन ऐन, २०४८ को दफा १२(१) को खण्ड (क) अन्तर्गत मुद्दा दोहोर्याई हेर्ने निस्सा प्रदान भै दायर हुन आएको प्रस्तुत मुद्दाको संक्षिप्त तथ्य एवं ठहर यस प्रकार छ :– अयोध्या ठाकुरको २ छोरा जेठा म परमेश्वर ठाकुर र कान्छा विपक्षी रामलक्षन ठाकुर सोनार भएकोमा हामी बीच अंश मुद्दा चली यसै अदालतबाट २०५० साल चैत्र महिनामा मिलापत्र भै बाबु अयोध्या ठाकुरको नाउँको जिल्ला धनुषा तुल्सीयाही जब्दी गा.वि.स.वडा नं.३ को कि.नं.९५ को ०–३–१८ जग्गा कित्ताकाट भै कि.नं.५११ को ०–२–११½ मेरो भागमा र दक्षिणतर्फबाट कि.नं.५१० को ०–१–६½ जग्गा विपक्षी मध्येका भाई रामलक्षन ठाकुरको नाउँमा दर्ता भै आ–आफ्नो जग्गा भोग चलन गरी आएकोमा कुनै विवाद थिएन । उक्त कि.नं.५१० को जग्गाबाटै मेरो जग्गामा पानी पटने सन्धिसर्पन पर्ने जग्गा भएकोमा विपक्षी मध्येका भाई रामलक्षन ठाकुरले मलाई थाहा जानकारी समेत केही नदिई विपक्षी मध्येको विरेन्द्र ठाकुर हजामलाई मिति २०५७।३।२८ मा मालपोत कार्यालय धनुषाबाट र.नं.१९२५ बाट पारीत गरी लिनुदिनु गरेको कुरा मिति २०५७।४।१ मा नक्कल लिई थाहा पाएकोले सोको निर्दिष्ट म्यादभित्र मालपोत कार्यालय धनुषाको मि.नं.४ को हकसफा मुद्दा दिएकोमा मालपोत कार्यालय धनुषाले हकवाला भएकोमा विवाद नरहेको सन्धिसर्पनका सम्बन्धमा प्रमाण बुझी निर्णय गर्नुपर्ने हुँदा सन्धिसर्पन सम्बन्धमा प्रमाण बुझ्ने यस कार्यालयको क्षेत्राधिकार भित्रको नभएकाले ३५ दिन भित्र धनुषा जिल्ला अदालतमा जानु भनी मालपोत कार्यालय धनुषाबाट मिति २०५८।१०।१७ मा फैसला भएकोले सोको मिति २०५८।१०।३० मा नक्कल लिई यस अदालतमा नालेस गर्न आएको हुँ । तसर्थ कि.नं.५९० को जग्