निर्णय नं. ७९८० - कर्तव्य ज्यान ।
नेपाल कानून पत्रिका शब्दबाट फैसला खोज्नुहोस् निर्णय नं. ७९८० - कर्तव्य ज्यान । भाग: ५० साल: २०६५ महिना: असोज अंक: ६ फैसला मिति :२०६५/०४/२६ ३०१२ निर्णय नं.७९८० ने.का.प. २०६५ अङ्क ६ सर्वोच्च अदालत, संयुक्त इजलास माननीय न्यायाधीश श्री खिलराज रेग्मी माननीय न्यायाधीश श्री ताहिर अली अन्सारी सम्वत् २०६३ सालको फौ.पु.नं २०६ फैसला मितिः २०६५।४।२६।१ मुद्दा : कर्तव्य ज्यान । पुनरावेदक वादीः सन्तराम मौर्यको जाहेरीले नेपाल सरकार विरुद्ध प्रत्यर्थी प्रतिवादीः भारत उत्तर प्रदेश जिल्ला सिद्धार्थनगर थाना इटहवा गाउँ डवरा बस्ने टिहुल भन्ने राजकुमार हरिजन समेत शुरु निर्णय गर्नेः मा.जि.न्या.श्री शारदाप्रसाद घिमिरे पुनरावेदन फैसला गर्नेः मा.न्या.श्री मोहनप्रकाश सिटौला मा.न्या.श्री बम कुमार श्रेष्ठ § हत्याको वारदात नेपालको भू–भाग भन्दा बाहिर भएमा नेपालको अदालतमा मुलुकी ऐन भाग १, प्रारम्भिक कथनको २ न. समेतका प्रचलित कानून अनुसार कारवाही र निर्णय हुन सक्ने स्थिति नहुँदा अदालतले पनि यस्तो अवस्थामा क्षेत्राधिकार ग्रहण गर्न नमिल्ने । (प्रकरण नं.४) § अधिकार प्राप्त अधिकारी समक्ष भएको अपुष्ट साविती वयानको आधारमा मात्र नेपालको भूमिमा वारदात भएको रहेछ भनी मान्न नमिल्ने । § पाल सरहदमा वारदात भएको भनेको ठाउँमा कुनै संकेतसम्म देखा नपरेको र नेपालमा वारदात भएको भन्ने कुराको अन्य वस्तुनिष्ठ प्रमाण देखिन भेटिन नआएकोले प्रादेशिक क्षेत्राधिकार वाहिर गई जिल्ला अदालतवाट भएको फैसला त्रुटिपूर्ण हुने हुँदा शंकारहित तवरले घटनाको साथै कसूर समेत प्रमाणित हुन नसकेको स्थितिमा आरोपित कसूरवाट सफाई दिने गरेको पुनरावेदन अदालतको फैसला सदर हुने । (प्रकरण नं.५) पुनरावेदक वादी तर्फवाटः विद्वान उपन्यायाधिवक्ता श्री लोकजंग शाह प्रत्यर्थी वादी तर्फवाटः अवलम्वित नजीरः फैसला न्या.ताहिरअलि अन्सारीः पुनरावेदन अदालत वुटवल रुपन्देहीको मिति २०६३।१।३१ को फैसला उपर न्याय प्रशासन ऐन, २०४८ को दफा ९(१) बमोजिम बादी पक्षको पुनरावेदन परी यस अदालतमा दायर हुन आएको प्रस्तुत मुद्दाको संक्षिप्त त एवं ठहर यस प्रकार छ :– मृत्यु भन्दा अघि टाउको समेतमा लागेको चोटहरुको कारण मृत्यु भएको भन्ने समेत व्यहोराको भारतमा गरिएको पोष्टमार्टम रिपोर्ट । ई.सन् २४–३–०३ (वि.सं. २०६०।३।१० गते) दिन साँझ ७ वजेको समयमा अत्याधिक पानी परी रहेको चारै तर्फ पानी रहेको ग्राम धनौरीको नजिक नेपाल भारतको सिमा नजिक (नो मेन्स लैण्ड) भारतीय भूभागमा नेपाल भारत सिमाना रहेको पिलर न. ५६७÷६७ नजिक हेर्दा मुस्लीम जस्तो देखिने सो पिलर तर्फ मुख, मुठ्ठी अर्ध खुल्ला, आँखा वन्द अवस्थामा अं. वर्ष ३५ को पुरुष जातको वेवारीसी लाश रहेको भन्ने समेत व्यहोराको भारत उत्तर प्रदेश जिल्ला सिद्धार्थनगर थाना ढेवरुवाबाट गरिएको विभिन्न कागजातहरुको लेखाई रहेको । मिति २०६०।३।९ गते दिउँसो मेरो भाई मिन्कन मौर्यलाई फकाई कृष्णनगर वजारमा गाउँको राज कुमार हरिजनले ल्याई जि.क.व. कृष्णनगर गा.वि.स.वार्ड न. १ सेमरा बस्ने काले भन्ने राजेन्द्र यादव र निजले सँग साथमा ल्याएको निज राजेन्द्र यादवले काले भनी बोलाएको व्यक्ति समेतले सो दिन राती अन्दाजी १० वजेको समयमा सेमरा गाउँ देखि केही पूर्व सिसौ बगैचामा लगी मेरो भाई मिन्कन मौर्यलाई चक्कु समेतले प्रहार गरी कर्तव्य गरी मारी मृतक लाशलाई नेपाल भारत सिमा नजिक भारतीय भू–भागमा फाली फरार भएको हुँदा निजहरु उपर कानून बमोजिम कारवाही गरिपाऊँ भन्ने जाहेरी । मिति २०६०।३।१० गते नेपाल भारत सिमा नजिक भारतीय भू–भागमा फेला परेको