निर्णय नं. ९२३४ - उत्प्रेषण/परमादेश

 नेपाल कानून पत्रिका शब्दबाट फैसला खोज्‍नुहोस् निर्णय नं. ९२३४ - उत्प्रेषण/परमादेश भाग: ५६ साल: २०७१ महिना: मंसिर अंक: ८ फैसला मिति :२०७१/०६/३० ३८३३ नेकाप २०७१, अङ्क ८, नि.नं.९२३४ सर्वोच्च अदालत, संयुक्त इजलास माननीय न्यायाधीश श्री गोविन्दकुमार उपाध्याय माननीय न्यायाधीश श्री जगदीश शर्मा पौडेल आदेश मिति : २०७१।६।३०।५ २०६७-WO-०३४३ विषय : उत्प्रेषण/परमादेश । निवेदक : सशस्त्र प्रहरी सहायक निरीक्षक लक्ष्मण लामा विरूद्ध विपक्षी : सशस्त्र प्रहरी बल प्रधान कार्यालय हलचोक, काठमाडौंसमेत § निवेदकले उर्दीको पोसाकमा मादक पदार्थ सेवन गरेको र सचेत गराउँदा पनि आचरणसम्बन्धी नियम बारम्बार उल्लङ्घन गरेको स्थिति नरहेको र गल्ती सुधार्न प्रतिबद्धसमेत रहेको स्थितिमा सिभिल पोसाकमा न्यून मात्राको मदिरा सेवनको सामान्य अवस्थामा निवेदकलाई सशस्त्र प्रहरी नियमावली, २०६० को नियम ८४(ख) १ बमोजिम भविष्यमा सरकारी नोकरीको निमित्त सामान्यतः अयोग्य नठहरिने गरी नोकरीबाट हटाएको निर्णय निवेदकको कसुरको मात्रा भन्दा चर्को देखिन आएकोले विपक्षी सशस्त्र प्रहरी बल प्रधान कार्यालयको प्रहरी नायब महानिरीक्षकको मिति २०६७।१।२९ र त्यसलाई सदर गरेको ऐ. कार्यालयका प्रहरी महानिरीक्षकको मिति २०६७।५।२९ को निर्णयसमेत उत्प्रेषणको आदेशद्वारा बदर भै सशस्त्र प्रहरी नियमावली, २०६० को नियम ८४ को खण्ड (क) मा उल्लिखित अन्य उपयुक्त सजाय गरी निजलाई पूर्ववत् सेवा बहाल गर्नु भनी विपक्षीहरूको नाममा परमादेशको आदेश जारी हुने । (प्रकरण नं.१५) निवेदकको तर्फबाट : विद्वान् वरिष्ठ अधिवक्ता हरिकृष्ण कार्की विपक्षीको तर्फबाट : विद्वान् उपन्यायाधिवक्ता सूर्यराज दाहाल अवलम्बित नजिर : सम्बद्ध कानून : § सशस्त्र प्रहरी बल नियमावली, २०६० को परिच्छेद १० को नियम ८७(१)(ग), (घ), (ङ) र (ज) को कसुरमा नियम ८४(क), (ख)(१) आदेश न्या.गोविन्दकुमार उपाध्याय : नेपालको अन्तरिम संविधान, २०६३ को धारा ३२ तथा १०७(२) बमोजिम दायर हुन आएको प्रस्तुत निवेदनको सङ्‍क्षिप्त तथ्य एवम्‍ ठहर आदेश यस प्रकार छ : म निवेदकले सशस्त्र प्रहरी सहायक निरीक्षक पदको भर्ना प्रक्रियामा सहभागी भई सफल भए अनुसार मिति २०६४।३।११ देखि सेवा प्रारम्भ गरी आएको थिएँ । सशस्त्र प्रहरी बल दक्षिणकाली गण दरबन्दी भई योग तालिमको सिलसिलामा सशस्त्र प्रहरी बल बंगलामुखी विशेष कार्यदल गणमा कार्यरत रहेको अवस्थामा मिति २०६७।१।२१ गते राति आफूखुसी ब्यारेक छाडी बाहिर गई मादक पदार्थ सेवन गरेको र सशस्त्र प्रहरी बल कालिन्चोक भगवती गण दरबन्दी रहेको स.प्र.स.नि संगम के.सी. ले चलाएको मोटरसाइकल दुर्घटना भई एक माओवादी कार्यकर्ताको मृत्यु भएको विषयलाई लिएर सशस्त्र प्रहरी बल प्रधान कार्यालय कानून तथा अनुगमन शाखाद्वारा मिति २०६७।१।२२ मा सोधिएको स्पष्टीकरणको तोकिएको समयमै आफू निर्दोष रहेको आधार कारण सहित लिखित जवाफ पेस गरेको थिएँ । म निवेदकले पेस गरेको स्पष्टीकरणको जवाफ सन्तोषजनक नभएको भनी पुनः स्पष्टीकरण माग भए अनुसार सम्पूर्ण सत्य तथ्य उल्लेख गरी स्पष्टीकरण पेस गरेकोमा सशस्त्र प्रहरी बल प्रधान कार्यालयका सशस्त्र प्रहरी नायब महानिरीक्षक भीष्मकान्त अर्यालले निर्णय पर्चा गरी म निवेदकसमेतलाई सशस्त्र प्रहरी नियमावली, २०६० को उपनियम (१) को (ग), (घ), (ङ) र (ज) को कसुरमा ऐ. नियम ८४(ख)(१) बमोजिम भविष्यमा सरकारी नोकरीको निमित्त सामान्यतः अयोग्य नठहरिने गरी नोकरीबाट हटाउने गरी मिति २०६७।१।२९ मा निर्णय गर्नुभएको थियो । मिति २०६७।१।२९ को निर्णयउपर म निवेदकले पुनरावेदन गरेकोमा सुरू निर्णयल