निर्णय नं. ८०३९ - कर्तव्य ज्यान ।

 नेपाल कानून पत्रिका शब्दबाट फैसला खोज्‍नुहोस् निर्णय नं. ८०३९ - कर्तव्य ज्यान । भाग: ५० साल: २०६५ महिना: फागुन अंक: ११ फैसला मिति :२०६५/०५/०४ ५२०४ निर्णय नं.८०३९ २०६५ फागुन,अङ्क ११ सर्वोच्च अदालत, संयुक्त इजलास माननीय न्यायाधीश श्री वलराम के.सी माननीय न्यायाधीश श्री रामकुमारप्रसाद शाह सम्वत २०६४ सालको फौ.पु.नं ५७८ फैसला मितिः २०६५।५।४।४ मुद्दाः कर्तव्य ज्यान । पुनरावेदक प्रतिवादीः का.जि. धर्मस्थली गा.वि.स. वडानं. ५ घर भै हाल कारागार कार्यालय भद्रवन्दी गृह, जगन्नाथ देवलमा थुनामा रहेको वर्ष ३३ को गोविन्दवहादुर कार्की विरुद्ध विपक्षी वादीः शिवप्रसाद लामिछानेको जाहेरीले नेपाल सरकार शुरु फैसला गर्ने न्यायाधीश:– मा.जि.न्या.श्री ओमप्रकाश मिश्र पुनरावेदन फैसला गर्नेः- मा.न्या.श्री रणवहादुर वम मा.न्या.श्री जगदीश शर्मा पौडेल § Due Process पूरा र पालन गरी पुर्पक्ष गरिएको अभियुक्तको मुख हेरेर अ.वं.१८८ नं. प्रयोग गर्ने नभई सजाय घटाउँदा विभिन्न कुराहरू विचार गर्नु पर्ने । (प्रकरण नं.१२) § अ.वं. १८८ नं. प्रयोग गरी सजाय घटाउने राय व्यक्त गर्ने सामान्य नियम नभई यसको प्रयोग अपवाद हुने । (प्रकरण नं.१३) § अ.वं. १८८ नं को प्रयोग गरी सजाय घटाउदा अदालतले देहायका कुरा र अवस्थाहरू विचार पुर्‍याउनु पर्नेः क) ज्यान मर्न गएको कारण, अवस्था र परिस्थिति ख) अपराधको तयारी योजना तथा अभियुक्त र पीडितका बीच पूर्व रिसईवी, सम्वन्ध ग) अपराधमा संलग्न अभियुक्तहरूको संख्या घ) प्रयोग गरिएको हतियार ङ) मर्नेको शरीरमा देखिएको घाउचोट च) ज्यान मारिएको ठाउँ अवस्था घटनास्थल र समय छ) अभियुक्तको चरित्र तथा आपराधिक रेकर्ड उपरोक्त कुराहरूको अतिरिक्त देहायका कुराहरूलाई समेत अदालतले विचार पुर्‍याउनु पर्नेः क) मर्नेको आपराधिक रेकर्ड ख) मर्नेको आश्रीत परिवार ग) मर्नेको घरको परिवारको हैसियत घ) मर्नेको समग्र आर्थिक अवस्था (प्रकरण नं.१५) § सजाय घटाउनु पर्ने कारण र आधार चित्तमा के कसरी लाग्यो सो कुरा रायमा लेखिएमा मात्र माथिल्लो अदालतमा विचार गरिन सक्ने । (प्रकरण नं.१६) § सेना र प्रहरी जस्तो राष्ट्र र नागरिकको सुरक्षा गर्न हतियार सहित प्रदान गरेर राज्यले जिम्मेवारी प्रदान गरेको मानिसले मादक पदार्थ सेवन गरेर आफ्नो ओहदा पोशाक र पदको आडमा सरकारी कार्यको प्रयोगको लागि प्राप्त हतियार प्रयोग गरी एक सामान्य निशस्त्र नागरिकको हत्या गरेको जघन्य अपराधमा कैद सजायमा Leniency देखाउन पर्ने कुनै कारण नहुने । (प्रकरण नं.१८) पुनरावेदक प्रतिवादी तर्फवाटः विद्वान अधिवक्ता श्री वावुराम कुँवर विपक्षी वादी तर्फवाटः अवलम्वित नजीरः सम्बद्ध कानूनः § मु.ऐन ज्यान सम्बन्धी महलको १३(१), १३, १४, १३(१)(२)(३),(४), § प्रमाण ऐन, २०३१ को दफा १०(क) र § मुलुकी ऐन अ.वं. १८८ फैसला न्या.वलराम के.सी.: पुनरावेदन अदालत पाटनको मिति ०६३।१०।४ को फैसला उपर न्याय प्रशासन ऐन २०४८ को दफा ९ बमोजिम प्रतिवादीका तर्फवाट यस अदलतमा दायर हुन आएको प्रस्तुत मुद्दाको संक्षिप्त तथ्य र ठहर यसप्रकार छ । मिति २०६१।१२।११ गते राती राजेश खत्री समेतको मिलेमतोवाट गोविन्दवहादुर कार्कीले भाई अर्जुनकुमार लामिछानेलाई गोली हानी हत्या गरेकोले निजहरूलाई पक्राउ गरी कानूनवमोजिम कारवाही गरिपाऊँ भन्ने समेत व्यहोराको शिवप्रसाद लामिछानेको जाहेरी दरखास्त । वायां आँखा र नाक नजिक गोली लागेको जस्तो घाउ भएको, टाउकोमा टुप्पीको भाग देखि वायां तर्फ करीव १ इन्च गोलो गहिराई अनुमान गर्न नसकिने घाउ भएको भन्ने