निर्णय नं. ८०४२ - जबरजस्ती करणी ।

 नेपाल कानून पत्रिका शब्दबाट फैसला खोज्‍नुहोस् निर्णय नं. ८०४२ - जबरजस्ती करणी । भाग: ५० साल: २०६५ महिना: फागुन अंक: ११ फैसला मिति :२०६५/१०/२९ ५२३७ निर्णय नं.८०४२ २०६५ फागुन अङ्क ११ सर्वोच्च अदालत, संयुक्त इजलास माननीय न्यायाधीश श्री मोहनप्रकाश सिटौला माननीय न्यायाधीश श्री शुसिला कार्की २०६० – CR – ०२५५ फैसला मितिः २०६५।१०।२९।४ मुद्दाः जबरजस्ती करणी । पुनरावेदक प्रतिवादीः जि. नुवाकोट,विदुर गा.वि.स. बडा नं. ८ घर भई हाल कारागार शाखा डिल्लीबजारमा थुनामा रहेको गोकर्ण खनाल विरुद्ध प्रत्यर्थी वादीः स्पन्दना के.सी. को जाहेरीले नेपाल सरकार शुरु फैसला गर्नेः मा.जि.न्या. श्री शिवनारायण यादव पुनरावेदन फैसला गर्नेः मा.न्या. श्री हरिराम कोइराला मा.न्या. श्री बुद्धिप्रसाद रेग्मी § पीडितलाई गाडीमा साथै लिई जाँदाका अवस्थामा पक्राउ परेको तथ्यलाई स्वीकार गरी बयान गरेको र साथमा लिई जानुपर्ने कारण दिन नसकेको अवस्थामा मौकामा अधिकारप्राप्त अधिकारीका समक्ष वारदातको क्रमवद्ध रुपमा उल्लेख गरी आरोपित कसूरमा सावित रही बयान गरेको अवस्थामा यसलाई स्वेच्छाको होइन भनी निजले जिकिर लिएको भएपनि अन्य स्वतन्त्र प्रमाणबाट प्रमाणित गराउन सकेको नहुँदा सो साविती बयान प्रमाण ऐन, २०३१ को दफा ९(२) (क) ले निजका विरुद्ध प्रमाण ग्राहो हुने । (प्रकरण नं.३) § आफ्ना कुराहरु प्रष्टसंग राख्न सक्ने, हिडडुल गर्न सक्ने, घर छोडेर हिडेकी भनिएकी यी पीडित अशक्त नै भएको अन्य कुनै स्वतन्त्र प्रमाणबाट पुष्टी हुन नसकेको स्थितिमा स्वास्थ्य परीक्षण गर्ने चिकित्सकले Abnormal Behaviour लेखिदिएकै भरमा निजलाई अशक्त भनी मान्न नसकिने । § एक नाबालिक केटीले जबरजस्ती करणीको वारदात पश्चात् Abnormal Behaviour गर्नु स्वाभाविक नै हुन आउँछ । तर जबरजस्ती करणीको वारदात पूर्व निजको स्थिति अशक्त थियो भन्ने कुरा वस्तुपरक प्रमाणबाट पुष्टि हुनुपर्ने । (प्रकरण नं.४) पुनरावेदक प्रतिवादी तर्फवाटःविद्वान अधिवक्ता श्री दामोदर पुरुष ढकाल, श्री भूमिनन्द ढकाल, र श्री नानीवावु दाहाल प्रत्यर्थी वादी तर्फवाटःविद्वान सहन्यायाधिवक्ता श्री युवराज सुवेदी अवलम्वित नजीरः सम्बद्ध कानूनः मुलुकी ऐन ज.क.महलको १, ३(२), ३(क) र १०, प्रमाण ऐन, २०३१ को दफा ९(२)(क) फैसला न्या.मोहनप्रकाश सिटौलाः न्याय प्रशासन ऐन २०४८ को दफा ९ ले यसै अदालतको क्षेत्राधिकार भित्र पर्ने प्रस्तुत संक्षिप्त तथ्य र ठहर यस प्रकार छः- जबरजस्ती करणी गर्ने गोकर्ण खनाल र पीडित वर्ष १० की कान्छी तामाङ्गलाई आवश्यक अनुसन्धान तथा कारवाहीको लागि पठाईएको भन्ने वडा प्रहरी कार्यालय लैनचौरको पत्र । म गोकर्ण खनाललाई राम्रोसंग चिन्दछु । निज मेरो पहिलो श्रीमान् कृष्णप्रसाद उपाध्याय खनालबाट जन्मेको सहोदर छोरा हो । निज मसंगै बस्ने गरेका छन् । निजलाई पछि खोजी भएका बखत वा उपस्थित गराउने जनाउ पाएका बखत हाजिर गराउने गरी जमानीमा लिन मन्जुर छु भन्ने समेत व्यहोराको शुभ कुमारी थापाले गरी दिएको हाजिर जमानी कागज । कान्छी तामाङ्गको शरीरमा कहिँ–कतै चोट लागेको छैन । तर योनी सुन्निएको छ भन्ने समेत व्यहोराको प्रसुतिगृह थापाथलीको प्रतिवेदन । यस संस्था (सिविन वालिका होम) बाट उसको अभिभावकको खोज तलास गर्दा समेत फेला पार्न सकिरहेको छैन । निज गोकर्ण खनालले कान्छी तामाङ्गलाई जबरजस्ती करणी गरेको हो भनी मलाई बताएको हुनाले निजलाई पक्राउ गरी मुलुकी ऐन जबरजस्ती करणीको महल अन्तर्गत कारवाही गरी सजाय समेत गरिपाऊँ भन्ने समेत व्यहोराको स्पन्दना के.सी को जाहेरी दरखास्त । वा.१.