निर्णय नं. ८७६२ - दर्ता बदर दर्ता

 नेपाल कानून पत्रिका शब्दबाट फैसला खोज्‍नुहोस् निर्णय नं. ८७६२ - दर्ता बदर दर्ता भाग: ५४ साल: २०६९ महिना: बैशाख अंक: १ फैसला मिति :२०६८/०६/०८ ४५८४ ने.का.प. २०६९, अङ्क १ निर्णय नं. ८७६२ सर्वोच्च अदालत, संयुक्त इजलास माननीय न्यायाधीश श्री प्रकाश वस्ती माननीय न्यायाधीश श्री कमलनारायण दास २०६३–FI–१०३० फैसला मितिः २०६८।६।८।१ मुद्दा : दर्ता बदर समेत । पुनरावेदक वादीः रामलाल श्रेष्ठको मु.स. गर्ने काठमाडौं जिल्ला काठमाडौं महानगरपालिका वडा नं. २ बस्ने न्हुच्छेमायाँ श्रेष्ठ समेत विरूद्ध प्रत्यर्थी प्रतिवादीः गणेशलाल श्रेष्ठको मु.स.गर्ने ललितपुर जिल्ला ठैव गाउँ विकास समिति वडा नं. ५ बस्ने मोहन श्रेष्ठ समेत शुरू फैसला गर्नेः मा.जि.न्या. श्री गिरीराज पौड्याल पुनरावेदन फैसला गर्नेः मा.न्या. श्री ज्ञानेन्द्रबहादुर कार्की मा.न्या. श्री गोविन्दकुमार उपाध्याय § मोहीबाट बाली प्राप्त गरी भरपाई गराएकै आधारबाट मात्र उक्त जग्गालाई निजी गुठी भन्न नमिल्ने । § मूल प्रमाणका रुपमा पेश गरेको लालमोहरको व्यवस्थाले शेष कसर मात्र खान पाउने प्रकृतिको सम्पत्तिलाई निजी गुठी मान्ने आधार नहुने । (प्रकरण नं.६) § एकै दिन सोही अदालतले सोही विवादसँग सम्बन्धित जग्गालाई राजगुठी मानी भएको फैसला चुनौतीरहित रुपमा कायम रहिरहेको अवस्थामा सो अन्तिम फैसलाको विपरीत निजी गुठी मान्न नसकिने । (प्रकरण नं.७) § कुनै पनि जग्गा निजी गुठी भन्नलाई दाताको स्रोत र दातासँग दावीकर्ताको सम्बन्ध देखिनु पर्दछ । सो जग्गा कुन प्रयोजनका लागि गुठी राखिएको हो गुठीपत्र, दानपत्र, शिलालेख, ताम्रपत्र र ताडपत्र आदिबाट देखिनु पर्दछ । यस्ता लिखतका अलावा सो जग्गा निजी गुठीका रुपमा दाताका सन्तान दरसन्तानबीच प्रयोग भई आएको कुरा पनि प्रमाणबाट पुष्टि हुुनुपर्दछ । यस्ता प्रमाण आपसमा भएका बण्डापत्र र बकसपत्र आदि हुन सक्दछन् । अड्डा अदालतमा परेका मुद्दा र तिनमा भएका फैसला पनि निजी गुठी देखिने आधार हुन सक्ने । (प्रकरण नं.८) पुनरावेदकहरूका तर्फबाटः विद्वान वरिष्ठ अधिवक्ता शम्भु थापा र विद्वान अधिवक्ता श्री धु्रवनाथ पन्त प्रत्यर्थी तर्फबाटः विद्वान अधिवक्ताद्वय दीपकप्रसाद खरेल र रमेशकुमार मैनाली अवलम्बित नजीरः सम्बद्ध कानूनः § गुठी संस्थान ऐन, २०२९ को दफा २(च) § गुठी संस्थान ऐन, २०३३ को दफा २(घ) फैसला न्या.प्रकाश वस्तीः पुनरावेदन अदालत पाटनको फैसलाउपर वादीको तर्फबाट परेको निवेदनमा न्याय प्रशासन ऐन, २०४८ को दफा १२ बमोजिम मुद्दा दोहोर्‍याई हेर्ने निस्सा प्रदान भै पेश हुन आएको प्रस्तुत मुद्दाको संक्षिप्त तथ्य एवं ठहर यस प्रकार छ :– ललितपुर ठैवका प्रजाहरूलाई संवत् १८८१ साल पौष १४ रोज १ को लालमोहर बमोजिम गुठी चलाउन प्रदान गरिएका जग्गाहरू मध्ये भैरव देवताको पूजा चलाउन पर्ने फिरादीका जिजु बाजे बराजुले प्राप्त गरी आएकोमा जिजु बाजेको शेषपछि बाजे हीरा श्रेष्ठ, त्यसपछि बाबु मोतिलाल श्रेष्ठ र निजको शेषपछि फिरादी म रामलाल श्रेष्ठ, गुठीयार जग्गाधनी भएको ललितपुर जिल्ला हरिसिद्धि गाउँ विकास समिति वडा नं. ८(क) बाट २०२१ सालमा सर्भे नापी भएको कि.नं. २८० को रोपनी ३–६–० जग्गा मालपोत कार्यालय ललितपुरमा साविक पा. ठैव १ नं. को लगतमा बाबु मोतिलालको नाममा अषेल खेत जनिई दर्ता भएको भूमिसुधार लागू हुँदा ७ नं. फाँटवारी भरेको उपरोक्त जग्गा भैरव देवताको आजा पूजा गरी गुठी पर्व चलाई आएको जिजु बाजेकै पालादेखिको फिरादीको हकको निजी गुठी जग्गा हो । यस्तो जग्गालाई अन्यथा गरी विपक्ष गुठी तहसिल तथा खर्च कार्यालयले विपक्ष मध्येको छ