निर्णय नं. ७७६० - अंश चलन
नेपाल कानून पत्रिका शब्दबाट फैसला खोज्नुहोस् निर्णय नं. ७७६० - अंश चलन भाग: ४८ साल: २०६३ महिना: पौस अंक: ९ फैसला मिति :२०६३/०४/१६ ५८९२ निर्णय नं. ७७६० ने.का.प. २०६३ अङ्क ९ सर्वोच्च अदालत, संयुक्त इजलास माननीय न्यायाधीश श्री मीनबहादुर रायमाझी माननीय न्यायाधीश श्री पबनकुमार ओझा सम्बत् २०६१ सालको दे.पु.न. ८४५४ फैसला मितिः २०६३।४।१६।३ मुद्दा : — अंश चलन । पुनरावेदक/प्रतिवादीःजिल्ला सुनसरी मधुबन गा.वि.स.वडा नं. ९ बस्ने बालेश्वर साहु विरुद्ध विपक्षी/वादीः ऐ.ऐ. दुःखी साहु समेत § हाम्रो प्रचलित कानूनमा कंही पनि बाबुआमा वाहेक अरु घरको मुख्य हुन सक्दैन भनेर किटान गरिएको छैन । अंशवण्डाको १० नं. को कानूनी व्यवस्था घरको मुख्यको रुपमा बाबुआमा रहेको अवस्थाको हकमा मात्र हो । जुन परिवारमा अंशवण्डा नभएका सगोलका अंशियार मध्ये बाबुआमा घरको मुख्य हुदैनन् त्यस अवस्थामा समेत अंशवण्डाको उक्त १० नं. को कानूनी व्यवस्था आकर्षित हुन्छ भन्न नमिल्ने । (प्रकरण नं.१८) § हाम्रो सामाजिक वनोटको कारण घर परिवारको मुख्य अवस्थानुसार बाबु, आमा, लोग्ने, जेठो छोरा हुने गर्दछन् तर यस क्रम विपरीत परिवार चलाउने खुवी भएको अन्य सदस्य घरको मुख्य हुदैन भन्ने कुनै पक्का नियम वा कानून नदेखिने । § हाम्रो प्रचलित कानूनमा लेनदेन व्यवहारको ८ नं. ले पनि सो ऐनद्धारा निर्धारित योग्यता भएका परिवारका जो कोही सदस्य पनि घरको मुख्य हुन सक्ने अवस्था देखिन्छ । त्यसो हुँदा बाबुले छोरासँग अंश माग्न मिल्दैन भन्ने भनाई वा मान्यता युक्तिसँगत एवं तर्कसँगत नहुने । (प्रकरण नं.१९) § प्रस्तुत मुद्दाको सन्दर्भमा आफूले आफ्नो जिवनकालमा आर्जित सम्पत्तिको सम्पूर्ण हिस्सा एकासगोलको आफ्नै छोराहरुको नाममा राखी दिएकोमा उनै छोराहरुले खान लाउन नदिई घरबाट निकाली दिएको अवस्थामा केवल कानूनी व्यवस्थामा पिताले छोराहरुबाट अंश माग्ने कानून नभएको भन्ने कारणले मात्र अंश जस्तो नैसर्गिक हकबाट वन्चित गर्न नमिल्ने । (प्रकरण नं.२०) § अंशवण्डाको १८ नं. को कानूनी व्यवस्था हेर्दा मानो नछुटिई सँग बसेका अंशियार छन भने जुनसुकै अंशियारले सँगोलको सम्पत्तिबाट वा सँगोलको खेती उद्योग व्यापार व्यवसायबाट बढे बढाएको सँगोलको आर्जन र लेनदेन व्यवहारको महलको ८ नं. बमोजिम लगाएको ऋण सबै अंशियारलाई भाग लाग्छ भन्ने समेतको कानूनी व्यवस्था छ प्रस्तुत मुद्दाको सन्दर्भमा त पिता आफैले दावीका सम्पत्तिहरु जोडेको अवस्था भएबाट यस्तो अंशवण्डाको २ र १८ नं. अनुसार सँगोलका सबै अंशियार वीच भाग लाग्ने संम्पत्तिबाट वादीहरुलाई विमुख गर्न नमिल्ने । (प्रकरण नं.२२) पुनरावेदक प्रतिवादी तर्फबाटः विपक्षी वादी तर्फबाटः अवलम्वित नजीरः फैसला न्या.पवनकुमार ओझाः न्याय प्रशासन ऐन, २०४८ को दफा ९(१) अनुसार पर्न आएको प्रस्तुत मुद्दाको संक्षिप्त तथ्य र ठहर यस प्रकार छ :- २. फिरादीका २ छोरामा जेठा बलराम र कान्छो बालेश्वर हुन । हामी ४ जनाको सानो परिवार हुँदा जग्गा किन्दा छोराहरुकै नाममा राखि दिएका थियौं । निजहरुको विवाह गरेपछि क्रमिक रुपमा विवाद पर्न गै झगडा हुन थाल्यो । झगडाको उग्ररुप लिई मिति २०५७।१।१ गते देखि जग्गाको आयस्ता विपक्षीहरुले रोकी अन्य आयश्रोत समेत छोराहरुले आफैले राखी हामी बृद्ध अवस्थाका बाबु, आमालाई छोराहरुले खान लाउन नदिई घरबाट निकाला समेत गरि दिएकोले अंशवण्डा गरौ भन्दा इन्कार गरेकाले अन्यायमा परि फिराद गर्न आएका छौं । विपक्षीहरुबाट अंशवण्डाको २०, २१, २२, २३ नं. बमोजिम तायदाती फांटवारी लिई ४ भागको २ भाग अंश छुट्याई चलन समेत चलाई पाउँ भन्ने