निर्णय नं. ७७७३ - उत्प्रेषण समेत

 नेपाल कानून पत्रिका शब्दबाट फैसला खोज्‍नुहोस् निर्णय नं. ७७७३ - उत्प्रेषण समेत भाग: ४८ साल: २०६३ महिना: माघ अंक: १० फैसला मिति :२०६३/१०/२३ ४१५५ निर्णय नं. ७७७३ ने.का.प.२०६३ अङ्क १० सर्वोच्च अदालत, संयुक्त इजलास माननीय न्यायाधीश श्री केदारप्रसाद गिरी माननीय न्यायाधीश श्री कल्याण श्रेष्ठ सम्वत २०६१ सालको रिट नं. : ३७२७ आदेश मितिः २०६३।१०।२३।३ विषयः– उत्प्रेषण समेत । रिट निवेदकः सप्तरी जिल्ला, भुतही गा.वि.स. वडा नं. ८ बस्ने विरेन्द्रप्रसाद विश्वकर्माको पत्नी हाल उदयपुर जिल्ला, ठोकशीला गा.वि.स. वडा नं. २ बस्ने उर्मिला देवी विश्वकर्मा विरूद्ध विपक्षीः सप्तरी जिल्ला, भुतही गा.वि.स. वडा नं. ८ बस्ने विरेन्द्र विश्वकर्मा समेत § माना चामल सगोलबाट भराउने कुरा हो, अंश मुद्दामा जस्तो भाग छुट्याउने होइन । सगोलको अंशियारले उसको परिवारको सदस्य सरह इज्जत आमद अनुसार खान लाउन पाउने कानूनी र नैसर्गिक हक हुने । § सगोलको परिवारले आफ्नो सदस्यलाई इज्जत आमद अनुसार खान लाउन दिनुपर्ने विषय कानूनी दायित्व वा कर्तव्य कै रुपमा रहेको देखिन्छ । त्यसमा पनि लोग्नेस्वास्नीको ४ नं. अन्तर्गतको विवादमा त सासु ससुरा समेतबाट बुहारीले मानाचामल भराई पाउने विषय अन्तर्निहित रहेको पाईदा लोग्नेको अंशहकमा सिमित रही माना चामल भराई दिनुपर्ने भन्ने पुनरावेदन अदालतको आदेश कानूनी व्यवस्थाको ठाडै प्रतिकूल देखिने । (प्रकरण नं.१८) § मानाचामल कति भराई दिने भन्ने कुरा परिवारको आय श्रोत र हैसियतमा भर पर्दछ जसलाई फैसलाको ठहरले निश्चित गरी दिएको हुन्छ । कार्यान्वयन गर्दा फैसलाले ठहर गरेको कुरामा सिमित रही भराई दिने हुँदा ठहर भै रहेको कुरा विपरीत को–कसको के–कति अंश भाग हो भन्ने कुरा फैसला कार्यान्वयको क्रममा उठाउन नमिल्ने । (प्रकरण नं.१९) § मुद्दा कारवाहीयुक्त अवस्थामा रहेको स्थितिमा भए गरेका काम कारवाही वा आदेश वेरितको भएको भनी अ.वं. १७ नं. बमोजिम माथिल्लो अड्डामा निवेदन दिन पाइने कानूनी व्यवस्था हो । मुद्दा फैसला भैसके पछि कार्यान्वयनका क्रममा उठेको रित वेरितको प्रश्नबाट अन्तिम भै बसेको फैसलाको ठहरको औचित्य भित्र प्रवेश गरी बोल्न नमिल्ने । § कार्यान्वयसँग सम्बन्धित कुनैपनि रित वेरितका प्रश्नहरु नउठाईएको अवस्थामा अंश भाग भन्दा वढी लिलाम गरेको वेरितको भएको भनी अन्तिम फैसलाको ठहर बुँदालाई प्रभावित पार्ने गरी भएको पुनरावेदन अदालतको आदेश अ.वं. १७ नं. को कानूनी व्यवस्थाको मर्म र भावना विपरीत प्रत्यक्ष त्रुटी देखिने । (प्रकरण नं.२०) रिट निवेदक तर्फबाट : विद्वान अधिवक्ता श्री तुल्सीराम निरौला विपक्षी तर्फबाट : विद्वान अधिवक्ता श्री भागवतप्रसाद चौधरी अवलम्वित नजीरः आदेश न्या.कल्याण श्रेष्ठः तत्कालिन नेपाल अधिराज्यको संविधान, २०४७ को धारा २३ र ८८(२) बमोजिम यस अदालतमा दायर हुन आएको प्रस्तुत रिट निवेदनको संक्षिप्त तथ्य र आदेश यस प्रकार छः– २. विपक्षी विरेन्द्र विश्वकर्मासँग मेरो २०५४।३।२९ मा सामाजिक परम्परा अनुसार विवाह भएकोमा दाईजोको निहुँमा बारम्बार कुटपिट गर्ने गर्दथे । २०५५ सालमा विपक्षी मध्येको दुलारी देवीलाई सौता हाली सोही सालमा विपक्षीहरु र सासु ससुरा समेत भई खान लाउन नदिई घरबाट निकाला गरेकोले लोग्ने स्वास्नीको ४ नं. अनुरुप माना चामल भराई पाउँ भनी २०५६ सालको सा.दे.नं. २६९२ को मुद्दा दिएको थिएँ । सप्तरी जिल्ला अदालतबाट प्रति महिना रु. ७००।– माना चामल भराई पाउने ठहरी भएको फैसला पुनरावेदन अदालत राजविराजबाट सदर भई अन्तिम रहेको छ । ३. उक्त फैसला बमोजिम माना चामल दिलाई पाउ