निर्णय नं. ७७७५ - उत्प्रेषण परमादेशसमेत
नेपाल कानून पत्रिका शब्दबाट फैसला खोज्नुहोस् निर्णय नं. ७७७५ - उत्प्रेषण परमादेशसमेत भाग: ४८ साल: २०६३ महिना: माघ अंक: १० फैसला मिति :२०६३/१०/२२ ४२४५ निर्णय नं. ७७७५ ने.का.प.२०६३ अङ्क १० सर्वोच्च अदालत, संयुक्त इजलास माननीय न्यायाधीश श्री अनूपराज शर्मा माननीय न्यायाधीश श्री राजेन्द्रकुमार भण्डारी संवत् २०६३ सालको रिट नं. : ०२७४ आदेश मितिः २०६३।१०।२२।२ विषयः उत्प्रेषण परमादेश समेत । निवेदकः पर्वत जिल्ला शंकर पोखरी गा.वि.स.वा.न. ५ कुडापानी घर भई हाल का.जि. का.म.न.पा. वा.नं. १० नयाँ वानेश्वर वस्ने सुनिल पौडेल विरूद्ध विपक्षीः नेपाल दूर संचार कम्पनी लिमिटेड, केन्द्रीय कार्यालय, काठमाडौं समेत § जहाँ राज्यको प्रत्यक्ष लगानी, नियन्त्रण, सहभागिता र स्वामित्व रहन्छ, जुन प्रतिष्ठानको संस्थापना सार्वजनिक सेवा प्रदान गर्ने उद्देश्यले गरिएको हुन्छ, सिद्धान्ततः त्यस्तो प्रतिष्ठानमा राज्यको उपस्थिति रहेको तथा त्यसलाई राज्यकै विस्तारित रुप मानिने । (प्रकरण नं.११) § राज्यको प्रत्यक्ष लगानी, नियन्त्रण, सहभागिता, स्वामित्व एवं सार्वजनिक सेवा प्रदान गर्ने उद्देश्यले संस्थापित भएको संस्थाले कम्पनी ऐन, २०५३ अन्तर्गत तयार गरेको कम्पनीको प्रवन्धपत्र एवं सोही प्रवन्धपत्र अनुरुप जारी गरेको विनियम त्यस्तो कम्पनीका हकमा कानून हुने भएकोले त्यस्तो विनियमावली विपरीत हुने गरी कम्पनीका काम कारवाही निर्देशित रहन नसक्ने। § लगानीकर्ता र स्वामित्व धारण गर्ने राज्यले नै आफूले संस्थापना गरेको कम्पनीका कर्मचारी सम्वन्धमा नियमन गर्न वनाएको विनियमको हैसियत अन्य निजी क्षेत्रको कम्पनीको विनियम सरह हुन नसक्ने । (प्रकरण नं.१३) § कर्मचारी विनियमावली, २०६१ को विनियम १६ तथा अनुसूची २ ले स्पष्टसँग पदपूर्तिको लागि योग्यता तोकिदिएको अवस्थामा सो व्यवस्था भन्दा वाहिर गै संचालक समितिले निर्णय गर्न र विज्ञापनमा योग्यतासम्वन्धी शर्त तोक्न नमिल्ने । (प्रकरण नं. १६) § विपक्षी कम्पनी कानूनी व्यक्ति रहेकोमा विवाद देखिदैन । प्राकृतिक व्यक्ति र कानूनी व्यक्ति बीच विभाजनको प्रमुख आधार नै यो रहेको हुन्छ की प्राकृतिक व्यक्तिले कानूनले निषेध गरेका वाहेक सवै कार्य गर्न सक्षम हुन्छ भने कानूनी व्यक्ति तीनै कार्य गर्न सक्षम हुन्छ जुन सम्वन्धित कानूनले गर्न अनुमति प्रदान गर्दछ । कानूनले गर्नु भनी स्पष्ट नगरेको कार्य कानूनी व्यक्तिबाट सम्पन्न भएमा त्यस्तो कार्य गैरकानूनी हुने । § नेपाल दुर संचार कम्पनी लिमिटेड, कर्मचारी विनियमावली, २०६१ ले निर्दिष्ट गरि दिएको भन्दा अतिरिक्त योग्यतासम्वन्धी शर्त तोकी विपक्षी कम्पनीबाट भएको विज्ञापन त्रुटीपूर्ण रहेको देखिन आउने । (प्रकरण नं. १६) § कम्पनीको कर्मचारीसम्वन्धी कानूनको रुपमा रहेको कर्मचारीसम्वन्धी विनियमावली, २०६१ ले तोकिदिएको योग्यता सम्वन्धी व्यवस्थाको त्रुटिपूर्ण हुने गरी अनुभवसम्वन्धी शर्तहरु उल्लेख गरिएको विपक्षी नेपाल टेलिकमद्धारा सूचना नं. १५/०६३/६४ अन्तर्गत प्रकाशित विज्ञापनबाट, विज्ञापनमा उल्लेख भएबमोजिम अनुभव प्राप्त व्यक्ति वाहेकका निवेदक सहितका सम्वन्धित योग्य नागरिकहरुले विज्ञापित पदमा दर्खास्त दर्ता गराउनबाट वन्चित हुनु पर्ने हुन्छ । परिणामतः धारा ११ द्धारा सुनिश्चित समानताको हक अवरुद्ध हुने भै प्रकाशित विज्ञापन त्यस्ता अनुभव प्राप्त नभएका नागरिकहरुका हकमा भेदभावपूर्ण देखिन आउने । § खुल्ला प्रतियोगिताद्धारा पदपूर्ति गर्दा सम्वन्धित कानूनबमोजिम योग्यता पुगेका सवैले समान रुपमा सहभागी हुन सक्ने व्यवस्था मिलाउनु भनी विपक्षी