निर्णय नं. ७७८० - कर्तव्यज्यान

 नेपाल कानून पत्रिका शब्दबाट फैसला खोज्‍नुहोस् निर्णय नं. ७७८० - कर्तव्यज्यान भाग: ४८ साल: २०६३ महिना: माघ अंक: १० फैसला मिति :२०६३/०७/२७ ३१०४ निर्णय नं. ७७८० ने.का.प.२०६३ अङ्क १० सर्वोच्च अदालत, संयुक्त इजलास माननीय न्यायाधीश श्री बलराम के.सी माननीय न्यायाधीश श्री तपवहादुर मगर सम्वत् २०५८ सालको फौ.पु.नं. : २७०३ फैसला मितिः २०६३।७।२७।२ मुद्दाः कर्तव्य ज्यान । पुनरावेदक वादीः मदनलाल श्रेष्ठको जाहेरीले श्री ५ को सरकार विरूद्ध विपक्षी प्रतिवादीः मकवानपुर जिल्ला हेटौडा न.पा. वडा नं. ४ बस्ने हरिशचन्द्रप्रसाद कर्माचार्य § प्रतिवादीले आफ्नी श्रीमतीलाई सलले घाँटीमा कसी भुईमा लडाएकोमा श्रीमतीको उपचार गर्न नलागी सो कुरा कसैलाई नबताई कोठाको ढोका बन्द गरी घरबाट वाहिर निस्किएको र करिब एक घण्टा पछि मात्र कोठामा आएको भनी प्रतिवादी स्वयंले अधिकार प्राप्त अधिकारी समक्ष व्यक्त गरेको हुँदा प्रतिवादीले आवेशप्रेरित भएर होश नपुर्याई कार्य गर्दा मृतकको मृत्यु भएको भन्ने नदेखिने । § श्रीमतीले घाँटीमा लगाएको सलले निजको घाँटी कसेर अठ्याउँदा मानिसको मृत्यु हुन सक्छ भनेर एउटा सामान्य विवेक भएको व्यक्तिले पनि बुझ्ने कुरा हुने । (प्रकरण नं.२८) § आफुसँगै आफ्नै घरको कोठामा साथ रहेको श्रीमतीसँग विवाद झगडा गरी सलले श्रीमतीको घाँटी कसी अठयाउनु र घटनाको जानकारी छिमेकी समेत कसैलाई नदिई ढोका थुनेर घरवाहिर निस्कनु जस्ता कार्यबाट प्रतिवादीले मृतकलाई मार्न चाहेको स्पष्ट हुने । § श्रीमतीसँग झगडा हुँदा आफ्नी २० महिनाकी छोरीलाई केही चोटपटक लाग्न सक्छ कि भन्ने चिन्ता गरी छोरीलाई विछयौनामा राख्नु र श्रीमतीलाई सलले घाँटी कस्नुबाट प्रतिवादीले आवेगमा आएर मृतकको हत्या गरेको भन्न नमिल्ने । § प्रस्तुत वारदातलाई शुरु र पुनरावेदन अदालतले भवितव्य ठहर गरी ज्यान सम्वन्धी महलको ६(२) नं. बमोजिम प्रतिवादीलाई सजाय ठहर गरेको त्रुटीपूर्ण देखिँदा उल्टी भै ज्यानसम्वन्धीको १३(३) बमोजिम सर्वस्वसहित जन्मकैद हुने । (प्रकरण नं.३०) पुनरावेदक वादी तर्फबाट : विपक्षी प्रतिवादी तर्फबाट : अवलम्वित नजीरः फैसला न्या.वलराम के.सी. : न्याय प्रशासन ऐन, २०४८ को दफा १२ अन्तर्गत पुनरावेदन अदालत हेटौडाको फैसला उपर वादीको तर्फबाट मुद्दा दोहोराउने निवेदन परी यस अदालतबाट मुद्दा दोहोराई हेर्ने निस्सा भएको प्रस्तुत मुद्दाको तथ्य यस प्रकार छ : – २. मिति २०५४।६।१३ गते छोरीलाई कपडा छोटो र महंगो भयो भनी श्रीमतीले किचकिच गर्न थालिन, सोही निउँबाट श्रीमती मसँग झगडा गर्न थालिन, सोही निउँबाट मलाई बोतलले प्रहार गरिन र बोतलको प्रहारले मलाई २ पटक लाग्यो र मेरो छोरी समेत साथमा भएको हुँदा मैले छोरीलाई समाएँ, रिस उठ्यो, रिसको आवेगमा श्रीमतीको कपडाको सलले श्रीमतीको घाँटी कसी दिएँ, निज भुइमा लडिन, पानी ल्याई छर्कि सल फुकाई हेर्दा मरी सकिछिन, मृतकलाई घर भित्र कोठामा राखी ढोका बन्द गरी छोरीलाई लिएर दाजुलाई जिम्मा दिई पुनः घर गई ताला ल्याई लगाई घटनाको जाहेरी गर्न आएको छु भन्ने समेत व्यहोराको प्रतिवादी हरिशचन्दप्रसाद कर्माचार्यको जाहेरी दरखास्त । ३. मेरो छोरी आफ्नो राजीखुशी साथ जि.म.हे.न.पा. वडा नं. ४ बस्ने हरिशचन्द्रप्रसाद कर्माचार्यसँग प्रेम विवाह गरी आएको थिइन र मेरो ज्वाई विदेश जानु भएको थियो, विदेशबाट फर्की आएपछि मेरो छोरीलाई पटक पटक यातनाहरु समेत दिने गर्थे भन्ने कुरा छोरीले मेरो घरमा आई पटक पटक भन्ने गर्थिन, मिति २०५४।६।१४ गते ज्वाई हरिशचन्द्रले मेरो छोरीलाई कर्तव्य गरी मारेको हुँदा निजलाई पक्राउ गरी कानू