निर्णय नं. ७७८२ - सवारी गौवध
नेपाल कानून पत्रिका शब्दबाट फैसला खोज्नुहोस् निर्णय नं. ७७८२ - सवारी गौवध भाग: ४८ साल: २०६३ महिना: माघ अंक: १० फैसला मिति :२०६३/०२/१० २९०७ निर्णय नं. ७७८२ ने.का.प.२०६३ अङ्क १० सर्बोच्च अदालत, संयुक्त इजलास माननीय न्यायाधीश श्री राजेन्द्रकुमार भण्डारी माननीय न्यायाधीश श्री राजेन्द्रप्रसाद कोईराला संवत २०६१ सालको फौ.पु.नं. : ३७९४ फैसला मितिः २०६३।२।१० मुद्दाः सवारी गौवध । पुनरावेदक / वादीः क्वाके चौधरी समेतको जाहेरीले श्री ५ को सरकार विरूद्ध विपक्षी /प्रतिवादीः जि.रुपन्देही वुटवल नगरपालिका वडा नं. ४, पाखापानी घर भै रा.१ ख ८२ नं. को वस चालक वेचन भन्ने अनिरुद्रप्रसाद माझी § प्रस्तुत वारदातमा प्रतिवादीले गाई गोरुलाई कुटेको भन्ने तथ्य स्थापित छैन । सवारी चलाउँदा सवारीको व्रेक फेल हुनु र कुट्नुलाई एउटै अर्थमा लिन नमिल्ने । § व्रेक फेल हुनु एउटा आकस्मिक घटना हो । सवारी साधन जस्तो यान्त्रिक वस्तुमा व्रेक फेल हुनु र त्यस्तो व्रेक फेल भएको अवस्थामा गुडिरहेको सवारीले वाटोमा हिडिरहेको पशुवस्तुलाई कुल्चन सक्ने सम्भावनालाई स्वभाविक घटनाको रुपमा लिनु पर्ने । § कुट्नु भनेको कुनै उद्देश्य वा मनसायले गरिने एउटा कार्य हो । तसर्थ, यान्त्रिक गडवडीको कारणले मिसिनरी वस्तुको व्रेक फेल हुनु र कुट्नुलाई समान आपराधिक कार्य (Actus Reus) मान्न नसकिने । (प्रकरण नं.१९) पुनरावेदक वादी तर्फबाटः विद्वान उपन्याधिवक्ता श्री सुरेन्द्रवहादुर थापा विपक्षी प्रतिवादी तर्फबाटः अवलम्बित नजीरः फैसला न्या.राजेन्द्रकुमार भण्डारीः पुनरावेदन अदालत तुल्सीपुरको मिति २०६०।१०।१९ को फैसलामा न्याय प्रशासन ऐन, २०४८ को दफा १२(१) को खण्ड (क) अनुसार मुद्दा दोहर्याई हेर्ने निस्सा प्रदान भै दायर भएको प्रस्तुत मुद्दाको सँक्षिप्त व्यहोरा यसप्रकार छः- २. मिति २०५९।७।१३ गते तुलसीपुर घोराही चल्ने रा.१ ख ८२ नं. को वसले क्वाके चौधरीको मुल्य रु. १,०००। पर्ने वगलु गाई र विगो रु. १५,००। पर्ने सेतो रंगको वच्चु चौधरीको गोरुलाई चालकले रफतारमा चलाएको कारणले किची मारेकोले चालकलाई कानून बमोजिम कारवाही गरी क्षेतिपूर्ति दिलाई पाऊँ भन्ने समेत व्यहोराको सँयुक्त जाहेरी दर्खास्त । ३. पूर्व, पश्चिम सडक उत्तर दक्षिण वाँझो चौर प्रति ४ किल्ला भित्र घटना घटी सडकको बीच भागमा रगतको खाल परी सुकेको र एक गाई र गोरुको घटनास्थल मै मृत्यु भएको भन्ने घटनास्थल प्रकृति मुचुल्का । ४. पेटको भागको दायांबाट वायां सम्म २ फिट जति भुडि फुटन गई आन्द्रा भुडि जमिनमा लत्रिएको भन्ने गाईको लास प्रकृति र अगाडिको दायां खुट्टाको पातामा किचिएको भन्ने गोरुको लाश प्रकृति मुचुल्का । ५. मिति २०५९।७।१३ गते मैले रा.१ ख ८२ नं. को वस चलाई घोराही तर्फ आउँदा घटनास्थल नेर २०।२५ वटा गाई गोरु दक्षिणबाट उत्तर जान भनी वाटो काट्दा मैले चलाएको वसको व्रेक अकस्मात फेल भै रोकिन नसक्दा वसको अगाडि भागको दाहिने साईडको वम्पर बाट ठोकि किचिन गै जाहेरवालाको गाई र गोरुको मृत्यु भएको हो भन्ने समेत व्यहोराको चालक अनिरुद्रप्रसाद माँझीको वयान कागज । ६. मिति २०५९।७।१३ गते अनिरुद्रप्रसाद माझीले तुलसीपुरबाट घोराही जानका लागी चलाई ल्याएको रा १ ख ८२ नं. को वसले घटनास्थलमा आई पुग्दा गाई गोरु वाटो देखि दक्षिणबाट उत्तर तर्फ जान भनी वाटो काटी जान लाग्दा उक्त वसमा ठक्कर लागी घटनास्थलमै मृत्यु भएको हो चालकले वढी रफ्तारमा वस चलाई ल्याएको र वसको व्रेक नलागेको कारणबाट उक्त घटना भएको हो भन्ने समेत व्यहोराको वुझिएका छविलाल चौधरी समेतका मानिसहरुले गरी दिएको करिव एक