निर्णय नं. ९०५३ - उत्प्रेषणसमेत

 नेपाल कानून पत्रिका शब्दबाट फैसला खोज्‍नुहोस् निर्णय नं. ९०५३ - उत्प्रेषणसमेत भाग: ५५ साल: २०७० महिना: पौस अंक: ९ फैसला मिति :२०६९/११/२१ ३६४८ ने.का.प. २०७०, अङ्क ९ निर्णय नं.९०५३ सर्वोच्च अदालत, संयुक्त इजलास माननीय न्यायाधीश श्री दामोदरप्रसाद शर्मा माननीय न्यायाधीश श्री रामकुमार प्रसाद शाह आदेश मिति : २०६९।११।२१ २०६८–WO–०५२९ विषय :– उत्प्रेषणसमेत । निवेदक : जिल्ला बाँके, नेपालगञ्ज नगरपालिका वडा नं. २ घर भै हाल ऐ. वडा नं.१६ बस्ने प्रेमकाजी शाक्य विरूद्ध विपक्षी : पुनरावेदन अदालत, नेपालगञ्जसमेत § अ.बं. १७ नं. को व्यवस्था कार्यविधिसम्बन्धी विषय हो । कार्यविधि कानूनअन्तर्गतको कानूनी व्यवस्थाबाट कसैको हक अधिकारमा असर पर्ने गरी मूलभूत विषयमा कुनै आदेश गर्न नमिल्ने । § मानो छुट्टिएको मिति अंश मुद्दामा सारवान् विषय भई अंशियारहरूको लागि निर्णायक विषयवस्तु हो । सो मितिलाई परिवर्तन गर्दा अंश सम्पत्तिको मात्रामा मात्र होइन कतिपय सम्पत्तिमा अंश पाउने र कतिपय सम्पत्तिमा अंश नपाउने अवस्थासमेत हुने अवस्था भएकोले मानो छुट्टिएको मिति अंश मुद्दामा सारवानरूपमा प्रयोग हुने विषय हुने । § अ.बं. १७ नं. को रोहमा परिवर्तन गर्ने अधिकारक्षेत्र माथिल्लो अदालतले सैद्धान्तिक विचलन वा कानूनको घोर उल्लङ्घन भएको अवस्थामा बाहेक प्रयोग गर्नु उपयुक्त हुँदैन । मातहत अदालतमा परेका मुद्दाको काम कारवाहीमा म्याद नाघेको वा बेरीत भएको अर्थात कार्यविधि कानूनको प्रयोगमा स्पष्ट त्रुटि भएको अवस्थामा मात्र अ.बं. १७ नं. प्रयोग गरी त्यसमा उपयुक्त आदेश गर्नुपर्दछ । न्यायिक मनको प्रयोग गरी निर्धारण गरिएको सो मितिलाई अ.बं. १७ नं. को रोहमा परिवर्तन गर्न नहुने र परिवर्तन गर्नुअघि फैसला गर्दा पर्ने स्पष्ट प्रभावलाई माथिल्लो अदालतले सदैव ध्यान राख्नुपर्ने । (प्रकरण नं.४) निवेदकका तर्फबाट : विद्वान वरिष्ठ अधिवक्ता सर्वज्ञरत्न तुलाधर विपक्षीका तर्फबाट : विद्वान वरिष्ठ अधिवक्ता हरिहर दाहाल र विद्वान अधिवक्ताद्वय मधुर पाठक तथा सुनील कुमार श्रेष्ठ अवलम्बित नजीर : सम्बद्ध कानून : आदेश न्या.रामकुमार प्रसाद श्रेष्ठ : नेपालको अन्तरिम संविधान, २०६३ को धारा ३२, १०७ बमोजिम यस अदालतमा दर्ता हुन आएको प्रस्तुत रिट निवेदनको संक्षिप्त तथ्य एवं ठहर निम्नबमोजिम रहेको छ :– बाबु हिराकाजी आमा मङ्गलीमायाबाट ५ छोरा र ३ छोरीको जायजन्म भएकोमध्ये जेठो पन्नाकाजी, माहिलो मोतिकाजी, साहिंलो म प्रेमकाजी, काइँलो श्यामकाजी, कान्छो सन्तोषकाजी र ३ छोरीहरू सबैको विवाह भै सकेको छ । ५ जना दाजुभाइहरू हुँदा परिवार धेरै भएबाट अब बण्डापत्र गरौं भनी मिति २०५३।११।१७ गते बण्डापत्र लिखत खडा गरेका थियौं । तर अंशियारहरूका बीचमा केही सम्पत्तिको विषयमा मतभिन्न भएका कारणबाट कुरा मिल्न नसक्दा उक्त बण्डापत्र रजिष्ट्रेशन लिखत पारीत हुन नसकी हालसम्म बण्डा भएको छैन । त्यसपछि विपक्षीमध्येको श्यामकाजी शाक्य, पन्ना काजी शाक्य र मोतिकाजी शाक्यले बाबु हिराकाजी शाक्यसमेत अरू ३ जनाउपर मिति २०५३।११।१७ गते मानो छुट्टिएको मिति कायम गरी अंशबण्डा गरी पाऊँ भनी मिति २०६७।११।२ गते बाँके जिल्ला अदालतमा मुद्दा दायर गर्नुभयो । मलाई विपक्षीहरूले घरबाट निकाला गरेकोले मिति २०६८।२।२३ गते बाँके जिल्ला अदालतमा अंशपाऊँ भनी नालेस दायर गरेको थिएँ । त्यसपछि बाँके जिल्ला अदालतबाट नालेस परेको अघिल्लो दिनलाई मानो छुट्टिएको मिति कायम गरी नालेस परेको अघिल्लो दिनसम्मको अंश गर्नुपर्ने सम्पत्तिको तायदाती दुवै पक्षबाट पेश गर्नु भनी मिति २०६८।५।२७ गते आदेश