निर्णय नं. ९२४२ - कर्तव्य ज्यान

 नेपाल कानून पत्रिका शब्दबाट फैसला खोज्‍नुहोस् निर्णय नं. ९२४२ - कर्तव्य ज्यान भाग: ५६ साल: २०७१ महिना: पौस अंक: ९ फैसला मिति :२०७१/०५/२७ १४३४६ सर्वोच्च अदालत, संयुक्त इजलास माननीय न्यायाधीश श्री सुशीला कार्की माननीय न्यायाधीश श्री बैद्यनाथ उपाध्याय फैसला मिति : २०७१।५।२७।६ ०७०-RC-०११२ मुद्दा : कर्तव्य ज्यान । वादी :गुराँसदेवी लामाको जाहेरीले नेपाल सरकार विरूद्ध प्रतिवादी : जिल्ला भक्तपुर, भक्तपुर न.पा. चाँगुनारायण घर भै जिल्ला रूपन्देही मुर्गियामा माइती घर भई काठमाडौं जिल्ला, काठमाडौं महानगरपालिका वडा नं. ६ बौद्ध, टुसालमा बसोवास गरी हाल केन्द्रीय महिला कारागार कार्यालयमा थुनामा रहेकी राधिका श्रेष्ठ § प्रताडीत महिलाद्वारा भएको हिंसा र आवेशप्रेरित हत्याबीच केही अन्तर रहेको पाइन्छ । आवेशप्रेरित हत्यामा तत्कालै उठेको रिसको कारण मौकामा प्रहार गरी हत्या गरेको हुँदा त्यसमा मनसाय तत्त्वको अभाव रहन्छ । Battered Women syndrome (BWS) को दावी लिइएको वारदात हत्या नै हो तर वारदातको कारक तत्त्व भने मर्ने व्यक्ति स्वयम्‌ नै रहेको हुने । § धेरै जसो BWS सुविधा खोजिएको विवादमा वर्षौँदेखि प्रताडीत, घरेलु हिंसाको सिकार भएकी महिला जो पतिबाट दुर्व्यवहारको सिकार निरन्तर भएका हुन्छन्, चोट, प्रहार, धक्का (Trauma) बराबर पाउँछन्, बारम्बार परपुरूषको लान्छना, दुर्व्यवहार पाउँछन् वा ज्यान मार्ने धम्कीसमेत पाउँछन् । निजले उक्त पीडक पति, प्रेमीको हत्या मौकामा गरेको नभई कैयौँ दिनपछि ज्यान जोगाउन वा पीडक निदाएको वा नशा सेवन गरेको बखत मौका छोपी गर्ने गर्दछन् । यस्तो हत्याको एकमात्र कारण आवेश, घृणा, प्रहारबाट मुक्ति वा पीडकले मार्ने डर, त्रासबाट मुक्ति रहेको हुने । (प्रकरण नं. ८) § अदालतले अं.बं.१८८ नं. को प्रयोग कर्तव्य ज्यान मुद्दामा अवस्था हेरी सजायमा छुट प्रदान गर्ने गरिन्छ । तर BWS भन्ने कुरा एक प्रकारले सम्बन्धित महिलाले पाउने कानूनी सुविधा हो जहाँ मृतक पीडक हुन्छ र महिला प्रताडीत हुँदा पीडित भएकी हुन्छे । निज महिलाले गर्ने अपराध पीडाको उपज हुन आउँछ । अत: अं.बं.१८८ नं. ले मात्र BWS को सम्बोधन हुन नसक्ने हुँदा यसको लागि छुट्टै कानूनद्वारा सम्बोधन हुन आवश्यक देखिने । (प्रकरण नं. १८) § सबै तथ्यगत परिस्थिति र आफ्नै लोग्नेबाट हुने गरेको घरेलु हिंसाबाट प्रताडीत भई घरको पारिवारिक वातावरण नै कलहमय भई आजित अवस्थामा पुगी आफ्नै लोग्नेलाई मार्नुपर्ने अवस्थामा प्रतिवादी पुगेको, निजको दुर्इ वटा नाबालिग छोरीहरूसमेत रहेको र निज नाबालिगहरूको पालनपोषण, रेखदेख संरक्षण गर्नुपर्ने तथ्यलाई समेत विचार गर्दा निज प्रतिवादीलाई मुलुकी ऐन, ज्यानसम्बन्धीको महलको १३(१) नं. बमोजिम सजाय गर्दा चर्को पर्ने देखिँदा प्रतिवादीको अंशभागको हकमा सर्वस्व गर्नु नपर्ने र कैदको हकमा १० (दश) वर्ष सजाय हुने गरी व्यक्त भएको पुनरावेदन अदालतको राय मनासिब देखिने । (प्रकरण नं. १९) § BWS को अवस्था मुलुकी ऐन, अ.ब. १८८ नं. को भन्दा फरकफरक रहेकाले प्रतिपादित सिद्धान्त, परिवर्तित सन्दर्भ, समयको माग र BWS को गाम्भीर्यतासमेतको आधारमा कर्तव्य ज्यान मुद्दामा BWS को परीक्षण गर्ने र सो परीक्षण प्रतिवेदन एवम्‌ विशेषज्ञको रायलाई सजायमा आंशिक छुट वा सजायबाट पूर्ण सफाइ दिनको लागि प्रमाणमा ग्राह्‍य बनाउन उपयुक्त व्यवस्था हुन आवश्यक देखिने । (प्रकरण नं. २०) निवेदकको तर्फबाट : विपक्षीको तर्फबाट : अवलम्बित नजिर : सम्बद्ध कानून : § मुलुकी ऐन, ज्यानसम्बन्धीको महलको १, १३ नं. § मुलुकी ऐन, अं.बं. १८८ नं.