निर्णय नं. ९२४३ - कर्तव्य ज्यान

 नेपाल कानून पत्रिका शब्दबाट फैसला खोज्‍नुहोस् निर्णय नं. ९२४३ - कर्तव्य ज्यान भाग: ५६ साल: २०७१ महिना: पौस अंक: ९ फैसला मिति :२०७१/०६/२९ ८३०५ सर्वोच्च अदालत, संयुक्त इजलास माननीय न्यायाधीश श्री सुशीला कार्की माननीय न्यायाधीश श्री दीपकराज जोशी फैसला मिति : २०७१।६।२९। ४ ०६८-CR-१२२७ मुद्दा : कर्तव्य ज्यान । पुनरावेदक/वादी : प्रहरी निरीक्षक कमलप्रसाद खरेलको जाहेरीले नेपाल सरकार विरूद्ध प्रत्यर्थी/प्रतिवादी : जिल्ला सर्लाही, मुसैली गा.वि.स. वडा नं. १ बस्ने रामईश्वर राय यादवसमेत § अनुसन्धान तहकिकातको सिलसिलामा कागज गराइएका व्यक्तिहरू जबसम्म अदालतमा आई आफूले बोलेका कुराहरू खम्बिर हुने गरी बकपत्र गर्दैनन् उक्त प्रमाणहरूलाई ग्राह्य भन्न नसकिने । (प्रकरण नं. ४) § कुनै पनि हत्याको आपराधिक कार्य प्रमाणित हुनको लागि सो कार्य दुषित मनसाय (Mens Rea) राखी पूर्वयोजना बनाई कार्य (Actus Reus) गरिएको हुनुपर्दछ । सो कार्यको परिणामको पूर्वजानकारी (Foresightness of consequence) र परिणाम घटाउने इच्छा (Desire of consequence) समेत भएको हुनुपर्दछ । कर्तव्य ज्यान मुद्दामा प्रतिवादीहरूद्वारा गरिएको कार्यमा ती चार तत्त्वहरू रहेका थिए भन्ने कुरा वादी पक्षले नै ती कुरा स्थापित भएको प्रमाणित गर्नुपर्ने । (प्रकरण नं. ७) पुनरावेदक/वादीको तर्फबाट : विद्वान् उपन्यायाधिवक्ता टिकेन्द्र दाहाल प्रत्यर्थी/प्रतिवादीको तर्फबाट : अवलम्बित नजिर : § नेकाप २०४८, अङ्क ५, नि.नं. ४२८७, पृ. १८६ § सर्वोच्च अदालत बुलेटिन २०५९, वर्ष ११, अङ्क ९, पृ.१९ सम्बद्ध कानून : § मुलुकी ऐन, ज्यानसम्बन्धीको महलको १ नं., १३(३) र १६ नं. § प्रमाण ऐन, २०३१ को दफा १८ सुरू तहमा फैसला गर्ने : मा.जि.न्या.श्री कुलप्रसाद शर्मा पुनरावेदन तहमा फैसला गर्ने : मा.मु.न्या.श्री अली अकवर मिकरानी मा.जि.न्या.श्री द्वारिकामान जोशी फैसला न्या. सुशीला कार्की : न्याय प्रशासन ऐन, २०४८ को दफा ९(१) बमोजिम पुनरावेदन अदालत, जनकपुरको मिति २०६८।६।२ को फैसलाउपर वादी नेपाल सरकारको तर्फबाट यस अदालतमा पुनरावेदन परी निर्णयार्थ पेस हुन आएको प्रस्तुत मुद्दाको सङ्‌क्षिप्त तथ्य एवम्‌ ठहर यस प्रकार छ : जिल्ला सर्लाही, मलङ्गवा नगरपालिका वडा नं.२ मा बस्ने वर्ष २९ की पचियादेवीलाई हत्या गरी सो स्थानदेखि आधा कि.मि. दक्षिण नेपाल भारतको सिमाना नजिक धान खेतमा मृतक फेला परेको भन्ने व्यहोराको मिति २०६१।७।२४ गतेको रिपोर्ट जाहेरी । जिल्ला सर्लाही, मलङ्गवा नगरपालिका वडा नं.२ स्थित राजश्री सिनेमा हलदेखि १०० गज तथा कृष्णहरि रामहरिको घरदेखि पश्चिम, रमेश साहको घरदेखि पूर्व, श्यामकिशोरको खाली जग्गादेखि उत्तर, हुलाकी सडकदेखि दक्षिण यति ४ किल्लाभित्र रहेको उत्तर मुखको मूलढोका भएको पचियादेवी सुत्ने गरेको घर कोठा घटनास्थल सो कोठाभित्र खाटमाथि विस्ताराको डसना तकियाको खोलमा रगत जस्तो लागेको सोही कोठामा लेडिज साडी जस्तो गम्छा रहेको बाहिरपट्टि झ्यालमा जेन्स लुँगी रहेको भन्ने व्यहोराको घटनास्थल मुचुल्का । नेपाल भारत सिमाना नजिक ३२६।१ नं. को पिलरदेखि १०० गज उत्तर नेपालतर्फ धान खेतमा मृतक लास रहेको, मृतक लासको खुट्टामा तन्नाले बाँधिएको अवस्थामा रहेको, माथि जीउमा कपडा नभएको, मुख अनुहारमा कीरा परी मासु झरेको, बायाँ हातको नाडीमा पचियाकुमारी नाम लेखेको, टाउकोको रौँ झरी लासको शरीरमा कीरा परी दुर्गन्ध आएको, मृतक लासदेखि १०० गज उत्तर धान खेतमा बुन्दै गरेको स्विटर फेला परेको सोमा रगत लागेको जस्तो देखिएको मृतक पचियादेवीको लास जाँच मुच