निर्णय नं. ९२४६ - कर्तव्य ज्यान
नेपाल कानून पत्रिका शब्दबाट फैसला खोज्नुहोस् निर्णय नं. ९२४६ - कर्तव्य ज्यान भाग: ५६ साल: २०७१ महिना: पौस अंक: ९ फैसला मिति :२०७१/०७/१७ २७५६ सर्वोच्च अदालत, संयुक्त इजलास माननीय न्यायाधीश श्री बैद्यनाथ उपाध्याय माननीय न्यायाधीश श्री गोविन्दकुमार उपाध्याय फैसला मिति : २०७१।७।१७।२ ०६८-CR-११८३ मुद्दा : कर्तव्य ज्यान । पुनरावेदक/प्रतिवादी : कास्की जिल्ला, अर्मला गा.वि.स. वडा नं. ८ बस्ने कुमान गुरूङसमेत विरूद्ध प्रत्यर्थी/वादी : कृष्णकुमारी सापकोटाको जाहेरीले नेपाल सरकार § प्रतिवादीहरूले आफूले गल्ती गरेको महसुस गरी आफैँ प्रहरीसमक्ष उपस्थित भै न्यायिक कामकारवाहीमा सहयोग गरेको भन्ने आधारमा सुरूले अ.बं.१८८ नं.को प्रयोग गरी प्रतिवादीहरूलाई ऐनबमोजिम सजाय गर्दा चर्को पर्ने भनी जनही १०/१० वर्षमात्र कैद हुने ठहर्याएको सुरूको राय समर्थन गरेको पुनरावेदन अदालतको राय सम्बन्धमा विचार गर्दा निर्मम तवरले कुटपीट गरेको, घटनामा हँसियासमेतका हतियार प्रयोग भएको, अमानवीय तवरले रातारात लास जङ्गलमा लगी गाडिएको र घटनापश्चात यी प्रतिवादीहरू लामो समयसम्म फरार रहेको देखिएको । § ज्यान मारी सकेपछि पनि कुनै पछुतो भएको नदेखिई घिसार्दै जङ्गलमा लगी लास गाडी दबाउने प्रयास भएको देखिँदा यसरी अपराध गरेको अवस्थामा प्रतिवादीहरूलाई दया, माया वा नरम दिल गर्नुपर्ने कुनै आधार नदेखिने । (प्रकरण नं.४) पुनरावेदक/प्रतिवादीका तर्फबाट : विद्वान् अधिवक्ताहरू लक्ष्मीप्रसाद मैनाली र रामचन्द्र त्रिपाठी प्रत्यर्थी/वादीका तर्फबाट : अवलम्बित नजिर : सम्बद्ध कानून : § मुलुकी ऐन, अ.बं. १८८ नं. § मुलुकी ऐन, ज्यानसम्बन्धीको महलको १३(३) नं. सुरू तहमा फैसला गर्ने : मा.जि.न्या.श्री नीलकण्ठ उपाध्याय रेग्मी पुनरावेदन तहमा फैसला गर्ने : मा.न्या. श्री रामप्रसाद खनाल मा.न्या. श्री विश्वम्भरप्रसाद श्रेष्ठ फैसला न्या. बैद्यनाथ उपाध्याय : न्याय प्रशासन ऐन, २०४८ को दफा ९ बमोजिम पुनरावेदन अदालत, पोखराको मिति २०६८।८।२६ को फैसलाउपर प्रतिवादीहरूको तर्फबाट संयुक्त पुनरावेदन पर्न आएको प्रस्तुत मुद्दाको सङ्क्षिप्त तथ्य एवम् ठहर यस प्रकार छ : कास्की जिल्ला, अर्मला गा.वि.स. वडा नं. ८ तिबेनियास्थित जङ्गलमा वनमासाको झाडीमा आलो माटोले पुरिएको, खन्दै जाँदा ५/५ फिट लम्बाई र ३ फिट चौडाईको खाल्डोमा उत्तर टाउको, दक्षिण गोडा पारी उत्तानो अवस्थामा रहेको मृतक लास फेला परेको, दुबै आँखा बन्द, बायाँतर्फको भाग किचिएको, जिब्रो टोकिएको र बाहिर निस्किएको, घाँटी लुलो भई टाउको लत्रिने भएको, टाउकाको बायाँतर्फ अङ्ग्रेजी भि आकारको ४ इन्च लम्बाईको चोट देखिएको, लास सडी गलीसकेको र दुर्गन्धित अवस्थामा रहेको देखिएको भन्ने व्यहोराको लास जाँच मुचुल्का । कास्की जिल्ला, अर्मला गा.वि.स. वडा नं. ९ स्थित रमेश सापकोटाको घरमा दैलो ठेला नजिक गारोको भित्ता उप्किएको र सोही ठाउँमा रमेश सापकोटालाई कुटपीट गरिएको भन्ने व्यहोराको घटनास्थल मुचुल्का । वर्ष ४६ को रमेश सापकोटालाई कुमान गुरूङ, ध्रुव गुरूङ, जितबहादुर गुरूङ, ओमप्रकाश गुरूङसमेतले नेत्रप्रसाद नेपालीको गोरूको खुट्टा काटिदिएको विषयलाई लिएर कुटपीट गरी घाँटी कसी मारी मिति २०६६।५।१९ गते तिबेनिया जङ्गलमा लास गाडेको अवस्थामा लास फेला पारी लास हेर्दा गम्भीर चोटपटक लागेको अवस्था रहेको हुँदा निजहरूले रमेश सापकोटालाई कुटपीट गरी कर्तव्यबाट मारी लास गाडिदिएको हुँदा कारवाही गरिपाउँ भन्ने व्यहोराको जाहेरी दरखास्त । मिति २०६६।५।३ गते बेलुकी २१:५० बजे समयमा कुमान गुरूङसमेत