निर्णय नं. ९२४९ - कर्तव्य ज्यान
नेपाल कानून पत्रिका शब्दबाट फैसला खोज्नुहोस् निर्णय नं. ९२४९ - कर्तव्य ज्यान भाग: ५६ साल: २०७१ महिना: पौस अंक: ९ फैसला मिति :२०७१/०६/२२ ४९२९ सर्वोच्च अदालत, संयुक्त इजलास माननीय न्यायाधीश श्री गोविन्दकुमार उपाध्याय माननीय न्यायाधीश श्री ओमप्रकाश मिश्र फैसला मिति : २०७१।६।२२।४ ०६८-CR-१३३१ मुद्दा : कर्तव्य ज्यान । पुनरावेदक/प्रतिवादी : रूकुम जिल्ला, शोभा गा.वि.स. वडा नं. ४ घर भै हाल कारागार कार्यालय, रूकुममा थुनामा रहेकी सीता भन्ने लालहीरा कामी विरूद्ध प्रत्यर्थी/वादी : कर्मासिंह भन्ने काप्चे कामीको जाहेरीले नेपाल सरकार § प्रतिवादीहरूले गुट बनाई संयुक्तरूपमा गरेको वारदातलाई संयुक्त वारदात भनिन्छ । यसमा कसले बढी कुट्यो, कसले कम कुट्यो, कसको प्रहार प्राणघातक भयो अथवा कुनै कसैले कुट्दै कुटेन कि जस्ता कुरा कमन ल मा प्रासङ्गिक हुँदैनन् । ज्यान लिने अथवा साङ्घातिक कुटपीट गर्ने मनसाय भै सो सन्दर्भमा समूहमा बसी एक अर्कालाई उकासी हौसाई अथवा हातै हाली कुटपीट गरेमा सबै प्रतिवादी समानरूपमा सहभागी भएको मानिने र समान सजायका भागीदार हुने अवस्था रहने । § पश्चिमा फौजदारी कानून र मुलुकी ऐन, ज्यानसम्बन्धीको महलको १३ नं. को फरक भनेको, १३ नं. आकर्षित हुनको लागि प्रतिवादीले मर्ने मानिसको जीउमा हात हालेको कुरा प्रमाणित हुनैपर्ने देखिन्छ । जुन कुरालाई कमन लले अनिवार्य मानेको छैन । जीउमा हात हालेको प्रमाणित भएको अवस्थामा प्रतिवादीले एक मुक्का हान्यो वा धेरैपटक हान्यो, खुकुरी वा बन्दुक जस्तो साङ्घातिक हतियारले हान्यो वा सामान्य लौरो, छडी आदिले कुट्यो भन्ने कुरालाई पश्चिमा कानून झैं उक्त १३ नं. ले महत्त्वहीन कुरा मानेको देखिने । (प्रकरण नं. ४) § प्रतिवादीले मृतकलाई कुटपीट गरी सिकिस्त बनाएको र मृतकको मृत्युको परिणामको बीचमा अरू कुनै स्वतन्त्र घटना घटेको र सो कारण प्रभावकारी वा निर्णायकरूपमा मृतकको मृत्युको कारण भएको भन्ने कुनै पनि कुरा भए घटेको देखिँदैन । यी प्रतिवादीको सो फल्ट (fault) सँग मृतकको मृत्युको सम्बन्ध connection स्थापित हुने । (प्रकरण नं. ५) § नारी आफ्नो गरिमा, स्वतन्त्रता र इज्जतको कुरामा लान्छित हुन चाहँदैनन् । यो उनीहरूको शारीरिक स्वायत्तता (autonomy) भित्र पर्ने कुरा हो । यी कुराहरूमा उनीहरू अत्यन्त संवेदनशील हुन्छन् । पुनरावेदिका आफैँले मृतकसँग वारदातको कारण झिकेकी वा निहुँ खोजेकी छैनन् । वारदातले यो रूप र परिणाम लिने कुरा पुनरावेदिकाको पूर्वजानकारीमा छैन । पुनरावेदिकाको गोप्य कुरा प्रकाशमा आउनुको अर्थ निजको पारिवारिक जीवनमा सङ्कटको ग्रहण लाग्नु हो । यी कारणलगायत पुनरावेदिकाको नाबालक छोरी रहेकी र पुनरावेदिकाले अदालतमा समेत साँचो कुरा गरेर न्याय सम्पादनमा सहयोग गरेकी समेतको अवस्थाले गर्दा पुनरावेदिका थप सहानुभूतिको पात्र हुने । (प्रकरण नं. ७) पुनरावेदक/प्रतिवादीका तर्फबाट : विद्वान् अधिवक्ता विश्वप्रकाश भण्डारी प्रत्यर्थी/वादीका तर्फबाट : अवलम्बित नजिर : सम्बद्ध कानून : § मुलुकी ऐन, अ.बं. १८८ नं. § मुलुकी ऐन, ज्यानसम्बन्धीको महलको १३(३) नं. सुरू तहमा फैसला गर्ने : मा.जि.न्या.श्री अर्जुन अधिकारी पुनरावेदन तहमा फैसला गर्ने : मा.मु.न्या. श्री विश्वनाथ जोशी मा.न्या. श्री मिहिरकुमार ठाकुर फैसला न्या. गोविन्दकुमार उपाध्याय : न्याय प्रशासन ऐन, २०४८ को दफा ९(१) अनुसार दायर हुन आएको प्रस्तुत मुद्दाको सङ्क्षिप्त तथ्य र निर्णय यस प्रकार छ : मिति २०६६।३।२४ गते बिहान अन्दाजी ७ बजेको समयमा म मेरो भिनाजु जितलाल कामीको