निर्णय नं. ९२५२ - क्षेत्रफल सुधार
नेपाल कानून पत्रिका शब्दबाट फैसला खोज्नुहोस् निर्णय नं. ९२५२ - क्षेत्रफल सुधार भाग: ५६ साल: २०७१ महिना: पौस अंक: ९ फैसला मिति :२०७१/०८/२३ ४४४१ सर्वोच्च अदालत, संयुक्त इजलास माननीय न्यायाधीश श्री ओमप्रकाश मिश्र माननीय न्यायाधीश श्री देवेन्द्र गोपाल श्रेष्ठ फैसला मिति : २०७१।८।२३।३ ०६७-CI-००६५ मुद्दा : क्षेत्रफल सुधार । पुनरावेदक/वादी : बारा जिल्ला, वतरा गाउँ विकास समिति वडा नं. ६ फूलवरिया बस्ने वैद्यनाथ राउत अहिर विरूद्ध प्रत्यर्थी/प्रतिवादी : ललितपुर जिल्ला, ललितपुर उपमहानगरपालिका वडा नं. ९ बस्ने तुलसीभक्त श्रेष्ठ § कुनै पनि मुद्दामा वादी प्रतिवादीबीच मुख नमिली सबुद प्रमाण बुझी विवादित विषयमा हक निश्चित गर्नुपर्ने हुन आउँछ भने त्यस्तो मुद्दामा हक बेहकको प्रश्न समावेश भएको मान्नुपर्ने । § विवादित जग्गामा वादी वा प्रतिवादीमध्ये कसको हक पुग्ने भन्ने विवाद उत्पन्न भएको अवस्थामा हक बेहकमा निर्णय गर्ने अधिकार मालपोत ऐन, २०३४ ले मालपोत कार्यालयलाई दिएको नदेखिने । (प्रकरण नं. ४) पुनरावेदक/वादीको तर्फबाट : विद्वान् अधिवक्ताद्वय विश्वप्रकाश सिग्देल र हरिकृष्ण कायस्थ प्रत्यर्थी/प्रतिवादीको तर्फबाट : विद्वान् अधिवक्ता जानकीप्रसाद गिरी अवलम्बित नजिर : सम्बद्ध कानून : § मालपोत ऐन, २०३४ को दफा ७(३) सुरू तहमा फैसला गर्ने : मालपोत अधिकृत पुनरावेदन तहमा फैसला गर्ने : मा.न्या. श्री राजेन्द्रप्रसाद राजभण्डारी मा.न्या. श्री गिरिराज पौड्याल फैसला न्या. ओमप्रकाश मिश्र : न्याय प्रशासन ऐन, २०४८ को दफा १२(१) को खण्ड (क) र (ख) बमोजिम दोहोर्याई हेर्ने निस्सा प्राप्त भै दर्ता हुन आएको प्रस्तुत पुनरावेदनपत्रको सङ्क्षिप्त तथ्य एवम् ठहर यस प्रकार छ : जिल्ला बारा, गाउँ विकास समिति वतरा वडा नं. ६ बस्ने, मथुरा राउतको नाति, जोदा राउतको छोरा ऐ.ऐ. बस्ने वैद्यनाथ राउत अहिरले मेरा नाममा दर्ता रहेको जिल्ला बारा, गाउँ विकास समिति दोहेरी वडा नं. ४ को कि.नं. ३३ को ज.वि. ०-१-१६ जग्गाधनी प्रमाणपुर्जा भएको र उक्त जग्गाको फिल्डबुकमा ज.वि. १-१६-० भएकाले फिल्डबुक अनुसार स्रेस्ता पुर्जा कायम गरिपाउँ भन्ने द.नं. २६९५ मिति २०६४।६।१४ मा दिएको निवेदन । निवेदन मागबमोजिम मोठ स्रेस्ताबाट यसमा के हुन गएको हो स्रेस्ता अनुसार खुलाई दिनुहुन भनी मोठ फाँटलाई सोध्दा मोठ फाँटबाट साविक नापीको स्रेस्ताबाट जग्गाधनी तुलसीभक्त श्रेष्ठ ललितपुर टोल वडा नं. ९ का नाउँमा दोहेरी वडा नं. ४ कि.नं. ३३ ज.वि. ०-१-१६ जग्गा मिति २०३१।१२।२५ को पारित राजीनामाबमोजिम वैद्यनाथ राउत अहिरको नाउँमा मोठ कायम छ, रोक्का छैन भनी लेखी आएकोमा फिल्डबुक उतार पेस भएकोमा जग्गाधनी तुलसीभक्त श्रेष्ठका नाममा गाउँ विकास समिति दोहेरी वडा नं. ४ कि.नं. ३३ ज.वि. १-१६-० जग्गा उल्लेख भएको देखिएकाले तुलसीभक्त श्रेष्ठ दाताका नाममा ७ सात दिने म्याद जारी गरी लेखी पठाउने भनी मिति २०६४।६।२७ मा मालपोत कार्यालयबाट भएको आदेश । सो आदेशानुसार तुलसीभक्त श्रेष्ठका नाममा ७ सात दिने म्याद जारी गरी पठाउँदा नक्साको फोटोकपि फिल्डबुक उतारको फोटोकपि, लिखतको फोटोकपि, नागरिकताको फोटोकपि मिति २०६४।७।२२ को म्याद जारीपत्रको फोटोकपि, मिति २०६४।७।२६ गते म्याद बुझेको भरपाई साथै वारिस मुकरर गरेको वारिसनामाको कागजसमेत संलग्न गरी जिल्ला ललितपुर, नगरपालिका वडा नं. ९ मा बस्ने मोतिलाल श्रेष्ठको नाति भक्तलाल श्रेष्ठको छोरा ऐ.ऐ. बस्ने तुलसीभक्त श्रेष्ठको वा. सुलेमान मिया अंसारीबाट द.नं. ४३२६ मिति २०६४।७।२८ मा लिखित जवाफ पेस भएको ।