निर्णय नं. ७६९२ - उत्प्रेषण मिश्रित परमादेश

 नेपाल कानून पत्रिका शब्दबाट फैसला खोज्‍नुहोस् निर्णय नं. ७६९२ - उत्प्रेषण मिश्रित परमादेश भाग: ४८ साल: २०६३ महिना: भाद्र अंक: ५ फैसला मिति :२०६३/०१/२१ ४७३६ निर्णय नं.७६९२ ने.का.प.२०६३ अङ्क ५ सर्वोच्च अदालत, पूर्ण इजलास माननीय न्यायाधीश श्री केदारप्रसाद गिरी माननीय न्यायाधीश श्री रामनगिना सिंह माननीय न्यायाधीश श्री कल्याण श्रेष्ठ २०६२ सालको रि.पू.ई.नं.............. २४ आदेश मितिः२०६३।१।२१।५ विषय :–उत्प्रेषण मिश्रित परमादेश । निवेदकः भूमिसुधार तथा व्यवस्था मन्त्रालयको अतिरिक्तमान ना.सु. पदमा कार्यरत बाबुराम श्रेष्ठ विरुद्ध विपक्षीः प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, सिंहदरवार समेत § कानूनी प्रश्नका सम्बन्धमा विलम्बको सिद्धान्त आकर्षित हुन नसक्ने । § कानून स्पष्ट हुँदाहुँदै पनि कार्यान्वयन नगर्ने वा कार्यान्वयनमा ढिलाई गर्ने अनि त्यसैको आडमा हक प्राप्त व्यक्तिलाई हक इन्कार गर्न विलम्ब जस्ता सिद्धान्तको आड लिनदिने हो भने निजामती प्रशासनमा अकर्मण्यता छाउने खतरा रहने । (प्रकरण नं.१२) § निजामती प्रशासनलाई चुस्त र दुरुस्त बनाउन, जनताप्रतिको स्तरीय सेवाको सुनिश्चितता बढाउन तथा निजामती प्रशासनका अभिन्न अंगको रुपमा रहेका कर्मचारीहरुले काम प्रति प्रतिबद्धता देखाउने तथा सोबाट उत्प्रेरित भइरहने अवस्था सुचारु राख्न ल्याइएको प्रोत्साहनमुखी कानूनी व्यवस्थालाई निरर्थक वा अप्रयोगको स्थितितर्फ लैजान नहुने । (प्रकरण नं.१३) § निवेदकले निजामती सेवा नियमावलीबमोजिम प्राप्त गरेको पुरस्कारस्वरुपको थप तलववृद्धि अन्तिम तलवमान भन्दा बढी हुने भएकोले दिन नमिल्ने भन्ने समेतका निर्णय र सो बमोजिमका पत्र समेत उत्प्रेषणको आदेशद्वारा बदर गरी निवेदकले प्राप्त गरेको पुरस्कार स्वरुपको रकम र थप तलववृद्धि समेत जोडी तलवमान दिनु भनी विपक्षीहरुका नाउमा परमादेश समेत जारी हुने । (प्रकरण नं.१४) निवेदक तर्फवाटः विद्वान अधिवक्ता श्री हरिप्रसाद उप्रेती विपक्षी तर्फवाटः विद्वान सहन्यायाधिवक्ता श्री राजनारायण पाठक अवलम्वित नजीरः आदेश न्या.केदारप्रसाद गिरीः नेपाल अधिराज्यको संविधान, २०४७ को धारा २३ तथा ८८(२) अन्तर्गत परेको प्रस्तुत रिट निवेदनमा संयुक्त इजलासका माननीय न्यायाधीशहरु बीच मतैक्य हुन नसकी सर्वोच्च अदालत नियमावली, २०४६ को नियम ३(१)(ख) अन्तर्गत पेश हुन आएको प्रस्तुत रिट निवेदनको तथ्य र यस इजलासको ठहर यसप्रकार छ :– २. म निवेदक २०३५।७।२ मा बढुवा नियुक्ति भई मिति २०४७।४।१ बाट अतिरिक्तमान प्राप्त रा.प.अ. प्रथम श्रेणी नायव सुव्वा पदको कर्मचारी हुँ । ना.सु.को पदमा २०५४ सालमा १० ग्रेड खाई पुरानो रु.३०।– दरको ७ ग्रेडको रु.२१०।– र नयाँ रु.११२ दरको ३ ग्रेडको रु.३३६।– तथा ०५७।०५८ को १३०।– का दरले २ ग्रेडको रु.२६०।– समेत जम्मा रु.८०६।– र ०५७ श्रावण देखि लागू भएको शुरु तलव स्केल रु.५८५०।– गरी जम्मा रु.६६५६।– को अतिरिक्त निजामती सेवा नियमावली, २०५० को नियम ११६ बमोजिम पुरस्कार स्वरुप श्री ५ को सरकार (सचिवस्तर) को मिति २०५६।७।१५ को निर्णयले प्राप्त पाँच तलव वृद्धिको रु. ५६०।– समेत जम्मा रु.७२१६।– खाइपाई आएकोमा ०५८।५९ को तलवी प्रतिवेदन पारित हुँदा अन्तिम तलवमान रु.७१५०।– भन्दा बढी भएको भनी निजामती कितावखानाबाट मासिक रु.६६।– कट्टा गरि दिएको छ जवकि ०५७।४।१ बाट लागु भएको अतिरिक्तमानको ना.सु.को तलवमान रु.५८५०।– र ग्रेड (तलववृद्धि) १ को रु.१३०।– का दरले १० वटा ग्रेडको रु.१३००।– गरी जम्मा अतिरिक्तमानको तलव रु.७१५०।– हुने हो । अगाडि प्राप्त गरेको ग्रेड समायोजन भै