निर्णय नं. ७६९५ - उत्प्रेषण समेत
नेपाल कानून पत्रिका शब्दबाट फैसला खोज्नुहोस् निर्णय नं. ७६९५ - उत्प्रेषण समेत भाग: ४८ साल: २०६३ महिना: भाद्र अंक: ५ फैसला मिति :२०६३/०५/११ ४८८९ निर्णय नं.७६९५ ने.का.प.२०६३ अङ्क ५ सर्वोच्च अदालत, संयुक्त इजलास माननीय प्रधानन्यायाधीश श्री दिलीपकुमार पौडेल माननीय न्यायाधीश श्री खिलराज रेग्मी संवत् २०६० सालको रिट नं. ......३४०१ आदेश मितिः २०६३।५।११।१ विषय :– उत्प्रेषण समेत । निवेदकः अधिवक्ता धनञ्जय खनाल विरुद्ध विपक्षीः सम्माननीय प्रधानमन्त्री तथा मन्त्रिपरिषदको कार्यालय समेत § आयोजना संचालन गर्दा त्यसबाट वातावरणमा पर्ने प्रभावको मूल्याङ्कन (ETA) गर्नुपर्ने गरी वातावरण संरक्षण ऐनले गरेको ब्यवस्था बमोजिम नहरको पानी तालमा राख्ने र बढी भएमा Outlet बाट लैजाने भनी गर्न लागिएको कार्यका सम्बन्धमा वातावरणमा पर्ने प्रभावको मूल्याङ्कन समेत भए गरेको नपाइनाले वीसहजारी तालको दक्षिण किनारामा खनिएको खाल्टो र त्यहाँ गर्न लागिएका अन्य योजनाहरू कार्यान्वयन गर्दा वातावरण संरक्षण ऐन, २०५३ को दफा ३, ४ र ५ तथा सीमसार नीति २०५९ र रामसार महासन्धि १९७१ र जैविक विविधता महासन्धि १९९२ अनुकूल काम भएको छ भनी मान्न नमिल्ने । (प्रकरण नं. १८) § संरक्षित क्षेत्र भन्ने नामाकरणले नै यी क्षेत्र अन्य क्षेत्रभन्दा संवेदनशील हुन भनी मान्नुपर्ने हुन्छ। यस्ता संवेदनशील क्षेत्र राष्ट्रिय मात्र नभै अन्तर्राष्ट्रिय महत्वका समेत भएकोले यी क्षेत्रको संरक्षण गर्नु राष्ट्रको प्रमुख दायित्व हुने । § विश्व सीमसार क्षेत्रमा सूचीकृत भएको बीसहजारी ताल र त्यसको वरिपरिको क्षेत्रको संरक्षणसम्बन्धी विषय राष्ट्रिय मात्र नभै अन्तर्राष्ट्रिय महत्वको समेत भएकोले वीसहजारी ताल र यसको वरिपरिे कुनै योजना संचालन गर्नुपर्ने भएमा Comprehensive रुपको Master Plan तयार गरी वातावरण संरक्षण ऐन, २०५३ को दफा ९ र १०, सीमसार नीति २०५९, रामसार महासन्धि १९७१, जैविक विविधता महासन्धि १९९२ र संविधानको धारा २६(२) समेतलाई मध्यनजर राखी सीमसार क्षेत्र बीसहजारी तालको संरक्षण सम्बन्धमा आवश्यक व्यवस्था मिलाई कार्य गर्नु गराउनु भनी विपक्षीहरूको नाममा निर्देशनात्मक आदेश जारी हुने । (प्रकरण नं.१९) निवेदक तर्फवाटः विद्वान वरिष्ठ अधिवक्ता श्री विश्वकान्त मैनाली तथा विद्वान अधिवक्ताहरू श्री धनञ्जय खनाल, श्री रमाकान्त गौतम र श्री राजु चापागाइ विपक्षी तर्फवाटः उपस्थित विद्वान उपन्यायाधिवक्ता श्री ब्रजेश प्याकुरेलल अवलम्वित नजीरः ने.का.प. २०५३, अंक १, पृष्ठ ३३, नेका.प. २०५३, अंक ७, नि.नं. ६२३१, पृष्ठ ५८२, ने.का.प. २०५४, अंक ६, नि.नं. ६३९१, पृष्ठ ३१२, ने.का.प. २०५६, अंक ९, नि.नं. ६७८९, पृष्ठ ७०० आदेश प्र.न्या.दिलीपकुमार पौडेलः नेपाल अधिराज्यको संविधान, २०४७ को धारा २३ र ८८(२) अन्तर्गत यस अदालतमा पर्न आएको प्रस्तुत निवेदनको संक्षिप्त व्यहोरा र ठहर यसप्रकार छ :– २. नेपालको कूल भू–भागमध्ये ५.०६ वा ७,४३,५६३ हेक्टर क्षेत्रफल अर्थात संख्यात्मक रुपमा २४२ वटा सीमसार क्षेत्र नेपालमा पाइने र यसमा पाइने सम्पूर्ण जीवजन्तुहरू प्रकृति संतुलनका लागि अत्यावश्यक मानिन्छन् । ती मध्ये नेपालको चितवन जिल्लामा पर्ने प्राकृतिक सम्पदा र पर्यटन प्रवर्द्धनका दृष्टिकोणले समेत महत्वपूर्ण वीसहजारी ताल र सो क्षेत्रको टिकौली वन जंगलमा विभिन्न प्रजातीका चराहरू, जंगली जनावर, विरुवाहरू, जलवनस्पती आदि समेत बसोवास गरी आएका तथा रहेभएका र ती मध्ये वनस्पती लगायतका चीज परम्परादेखि औषधोपचार लगायत विभिन्न काममा प्रयोग हुंदै आएका र स्थानीय रैथाने प