निर्णय नं. ८१४७ - उत्प्रेषण मिश्रित परमादेश प्रतिषेध

 नेपाल कानून पत्रिका शब्दबाट फैसला खोज्‍नुहोस् निर्णय नं. ८१४७ - उत्प्रेषण मिश्रित परमादेश प्रतिषेध भाग: ५१ साल: २०६६ महिना: भाद्र अंक: ५ फैसला मिति :२०६५/१२/०४ ३४०२ निर्णय नं.८१४७ भदौ, २०६६ अङ्क ५ सर्वोच्च अदालत, संयुक्त इजलास माननीय न्यायाधीश श्री रामप्रसाद श्रेष्ठ माननीय न्यायाधीश श्री गिरीशचन्द्र लाल संवत्२०६३ सालको रिट नं..... ०७२० आदेश मितिः २०६५।१२।४।३ विषयः उत्प्रेषण मिश्रित परमादेश प्रतिषेध । निवेदकः रुपन्देही जिल्लाको बुटवल औद्योगिक क्षेत्र बुटवलमा अवस्थित बुटवल धागो कारखाना लिमिटेडका तर्फबाट अख्तियार प्राप्त ऐ.का. महाप्रबन्धक रामस्वार्थ यादव विरुद्ध विपक्षीः रुपन्देही जिल्लाको बुटवलमा अवस्थित श्रम कार्यालय लुम्बिनी अञ्चल बुटवल समेत § श्रम ऐन, २०४८ को दफा ५९(१) अनुसार श्रम ऐन अन्तर्गत सजाय हुने कसूरको सम्बन्धमा सम्बन्धित ट्रेड यूनियनको उजूरीबाट मुद्दा दायर हुनसक्ने कानूनी व्यवस्था भएकोले विवादमा अवकाशित कामदार कर्मचारीहरू तर्फबाट नेपाल कारखाना मजदुर कांग्रेस समेतबाट परेको उजूरीको आधारमा भएको कारवाहीलाई अन्यथा भन्न नमिल्ने । (प्रकरण नं.४) § कर्मचारीले जागिरको भरमा आफू र आफ्नो परिवारको भरणपोषण गर्नुपर्ने भएकोले बाध्यात्मक रुपमा रकमहरू स्वीकार गर्दैमा कारखानाको अवकाशको निर्णयलाई स्वीकार गरेको भन्न र व्याख्या गर्नु न्यायोचित नहुने । (प्रकरण नं.५) § कारखानाका कामदार कर्मचारीहरूको सेवाको सुरक्षाको प्रत्याभूति श्रम ऐन, २०४८ को दफा १० ले गरिरहेको परिप्रेक्ष्यमा निवेदक कारखानाबाट विपक्षी कामदार कर्मचारीहरूलाई अवकाश दिँदा अपनाउनु पर्ने कानूनी सिद्धान्त, श्रम ऐन नियमको कानूनी प्रक्रियालाई नअपनाई दूषितढंगबाट अवकाश दिएको श्रम ऐन, २०४८ को दफा ५५(२) अनुसार श्रम ऐनको प्रतिकूल हुने गरी कामदार कर्मचारीको कटौती गरेमा कटौती गरिएका कामदार कर्मचारीलाई बहाली गराउन आदेश दिन सक्ने अधिकार श्रम कार्यालयलाई भएको, श्रम ऐन, २०४८ को दफा ५९(१) अनुसार श्रम ऐन अन्तर्गत सजाय हुने कसूरको सम्बन्धमा सम्बन्धित ट्रेड यूनियनको उजूरीबाट मुद्दा दायर हुनसक्ने । (प्रकरण नं.७) निवेदक तर्फबाटः विद्वान अधिवक्तात्रय नेत्र आचार्य, दीपेन्द्र पौडेल र रामचन्द्र सुवेदी विपक्षी तर्फवाटः विद्वान सहन्यायाधिवक्ता राजेन्द्र पोखरेल, विद्वान वरिष्ठ अधिवक्ता बसन्तराम भण्डारी एवं विद्वान अधिवक्ताहरू भोजराज भट्ट, रमेश वडाल र विशेश्वरप्रसाद ढकाल अवलम्वित नजीरः नेकाप २०५१, अङ्क १०, निर्णय नं. ४९८५, पृष्ठ ७४४ सम्बद्ध कानूनः § श्रम ऐन, २०४८ को दफा ५५, ५५(१)(ख), ५५(२) ५९(१), ६०, ७३(३), ७३(४) § बुटवल धागो कारखानाको आन्तरिक नियमावलीको नियम १४(२)(क) आदेश न्या.रामप्रसाद श्रेष्ठः नेपालको अन्तरिम संविधान, २०६३ को धारा ३२ र १०७ (२) अन्तर्गत रिट निवेदन दायर हुन आएको प्रस्तुत निवेदनको संक्षिप्त तथ्य एवं आदेश यस प्रकार छ :– बुटवल धागो कारखाना लि. नेपाल सरकारको अधिकांश स्वामित्वमा रहने गरी कारखानाको प्रबन्धपत्र नियमावलीमा तोकिएको कार्य गर्ने गरी तत्काल प्रचलित कम्पनी ऐन अन्तर्गत २०३९।१२।०३ मा संस्थापित संगठित संस्था हो । कारखाना सञ्चालन गर्न तत्कालिन मन्त्रिपरिषद्को मिति २०५८।५।२८ तथा २०६०।३।२६ को निर्णय र निर्देशनबमोजिम कारखानाको व्यवस्थापन सिमित समयका लागि करारमा दिने निर्णय भएको थियो । उक्तअनुसार तत्कालिन अवस्थामा साल्ट ट्रेडिङ कर्पोरेशन लिमिटेडले व्यवस्थापन करारमा लिई सञ्चालन गर्न स्वीकार गरि दुबै पक्ष बीच मिति २०६०।९।२२ मा व्यवस्थापन करार सम्पन्न भएको थियो । उक्त करार