निर्णय नं. ८१५५ - अंश नामसारी

 नेपाल कानून पत्रिका शब्दबाट फैसला खोज्‍नुहोस् निर्णय नं. ८१५५ - अंश नामसारी भाग: ५१ साल: २०६६ महिना: भाद्र अंक: ५ फैसला मिति :२०६५/१२/१२ ३५९० निर्णय नं.८१५५ भदौ, २०६६ अङ्क ५ सर्वोच्च अदालत, संयुक्त इजलास माननीय न्यायाधीश श्री ताहिर अली अन्सारी माननीय न्यायाधीश श्री प्रकाश वस्ती संवत् २०६३ सालको दे.पु.नं. – ८८६९ फैसला मितिः २०६५।१२।१२।४ मुद्दा : अंश नामसारी पुनरावेदक प्रतिवादीः जिल्ला रुपन्देही आभा गा.वि.स. वडा नं. ८ बडबलिया बस्ने रोहु मुसलमान समेत विरुद्ध प्रत्यर्थी वादीः जिल्ला रूपन्देही आभा गा.वि.स. वार्ड नं. ८ वडवलिया बस्ने अकबर अली मुसलमान शुरु फैसला गर्नेः मा.जि.न्या.श्री इन्द्रमान कर्माचार्य पुरावेदन फैसला गर्नेः मा.न्या.श्री राजेन्द्रप्रसाद कोइराला मा.न्या.श्री विश्वनाथ जोशी § कुनै अंश मुद्दाको अन्त्य या त अंश नपाउने ठहरेको अवस्थामा हुन्छ या त अंश पाउने ठहरेको अवस्थामा हुन्छ । अर्थात् अंश मुद्दाको अन्तिम परिणति सम्पत्ति प्राप्त हुनु वा नहुनु हुन्छ । अंश पाउने ठहरेको स्थितिमा अंश बुझिलिएको वा विधिवत् तवरले सो हक छाडेको स्थितिमा मात्र मुद्दाको अन्त्य हुनसक्ने । (प्रकरण नं.३) § बाबुको जीवनकालमै पनि छोराले बाबु निजका बाबु, दाजु भाइसमेतलाई अंश मुद्दा दिन सक्दछ र सगोलको सम्पत्तिमा निजको हिस्सा अन्तरभूत मानिन्छ भने बाबु र छोरालाई स्वतन्त्र हैसियत राख्ने दुई अलग एकाइ मान्नुपर्ने हुन्छ । तसर्थ सोही मुद्दाको हकमा आकर्षित हुने अ.वं. ८५ अलग मुद्दामा आकर्षित नहुने । (प्रकरण नं.३) पुनरावेदक तर्फबाटः प्रत्यर्थी तर्फबाटः अवलम्वित नजीरः सम्बद्ध कानूनः § मुलुकी ऐन अ.वं. ८५ नं. फैसला न्या.प्रकाश वस्तीः न्याय प्रशासन ऐन, २०४८ को दफा ९ को उपदफा १ को खण्ड (ग) अन्तर्गत पुनरावेदन पर्न आएको प्रस्तुत मुद्दाको संक्षिप्त तथ्य एवं ठहर यस प्रकार छ :– मूल पुरुष नेगु मुसलमानको २ छोरामध्ये जेठा विपक्षी टुवर मुसलमान, कान्छा मेरो बाबु सुनाउल्लाह मुसलमान भएकोमा मेरो आमा हारुन्नीसा मुलसमान्नी बाबुलाई छाडी पोइला गइसकेकी तथा मेरो बाबु सुनाउल्लाह मुसलमानको परलोक भइसकेको, मेरो कुनै दाजुभाइ दिदीबहिनी छैनन् । विपक्षी जेठा बाबु टुवर र विपक्षी निजकी श्रीमती ठूलीआमा रोहु मुसलमान्नीबाट जन्मेका ३ छोरामध्ये क्रमशः जेठा विपक्षी हकिकुल्लाह, माहिला विपक्षी जमिरुल्लाह, कान्छा विपक्षी जमाल अहमद मुसलमान भएको तथा विपक्षी हकिकुल्लाहको श्रीमती विपक्षी भुल्ठी मुसलमान भएकोमा विपक्षीहरू सबै जीवित हुँदा म फिरादी सँगै एकासगोलमा बसिआएका थियौँ । यता केही दिनदेखि विपक्षीहरूले मप्रति हेपाहा व्यवहार गर्न थालेपछि मेरा बाबु सुनाउल्लाहको आधा अंश म फिरादीलाई दिई रीतपूर्वक बण्डा गरी आ–आफ्नो खती उपति गरी बसौं भनी मिति २०५९।१२।२३ गतेका दिन विपक्षीहरूसँग अनुरोध गर्दा विपक्षीहरू एकमुख भई तलाई अंश दिन्नौँ भनी जवाफ दिएकाले यो फिराद पत्र प्रस्तुत गरेको छु । मेरो साक्षी प्रमाणको मूल्याङ्कन गरी अंशबण्डाको २०।२१।२२।२३ नं. बमोजिम तायदाती फाँटवारी लिई सम्पूर्ण सम्पत्तिमा २ भाग लगाई एक भाग विपक्षीहरूको पर सारी एक भाग अंश दिलाई पाऊँ भन्ने समेत व्यहोराको फिराद पत्र । विपक्षी वादी हामी प्रतिवादीहरूको अंशियार अर्थात् सुनाउल्लाहको छोरा नाताका व्यक्ति नै नहुँदा निजलाई अंश दिनपर्ने होइन, छैन । हाम्रो वास्तविक पुस्तेवारीको हकमा मूल पुरुष नेगु मुसलमान भई निजका २ छोरा जेठा प्रतिवादीमध्येको म टुवर मुसलमान, कान्छा सुनाउल्लाह मुसलमान भएको टुवरकी श्रीमती प्रतिवादीमध्येकी म रोहु मुसलमान भई हा