निर्णय नं. ७७०१ - उत्प्रेषण परमादेश लगायत जो चाहिने आज्ञा, आदेश पूर्जी जारी गरिपाऊँ ।
नेपाल कानून पत्रिका शब्दबाट फैसला खोज्नुहोस् निर्णय नं. ७७०१ - उत्प्रेषण परमादेश लगायत जो चाहिने आज्ञा, आदेश पूर्जी जारी गरिपाऊँ । भाग: ४८ साल: २०६३ महिना: भाद्र अंक: ५ फैसला मिति :२०६३/०३/१६ २७३५ निर्णय नं.७७०१ ने.का.प.२०६३ अङ्क ५ सर्वोच्च अदालत, संयुक्त इजलास माननीय न्यायाधीश श्री अनूपराज शर्मा माननीय न्यायाधीश श्री पवनकुमार ओझा २०५९ सालको रिट नं. ३०८५ आदेश मितिः २०६३।३।१६।३ विषय :– उत्प्रेषण परमादेश लगायत जो चाहिने आज्ञा, आदेश पूर्जी जारी गरिपाऊँ । रिट निवेदकः काठमाडौं जिल्ला काठमाडौं महानगरपालिका वडा नं. १५ बस्ने दुर्गा मैयादेवी महर्जन विरुद्ध विपक्षीः काठमाडौं जिल्ला काठमाडौं महानगरपालिका वडा नं. १५ बस्ने लक्ष्मीनारायण महर्जन समेत § विवादको जग्गाको स्थिति के कस्तो थियो तथा वांडफांड गर्न मिल्ने अवस्था विद्यमान थियो थिएन भन्ने कुरा साधारण अधिकारक्षेत्र अन्तर्गत प्रमाणको मूल्यांकन गरेर नै गर्नुपर्ने हुँदा त्यस्तो विषयमा असाधारण अधिकारक्षेत्रवाट हेरी जाँची मूल्यांकन गर्न नमिल्ने । § भूमिसुधार अधिकारीले त्यस्तो निर्णय गर्दा अधिकार क्षेत्रको त्रूटि गरेको वा प्रमाण बुझ्ने कार्य नै नगरेको वा प्रमाणको मूल्यांकन वा विवेचना नै नगरी निर्णय गरेको जस्ता अवस्थामा त्यस्तो निर्णयको परीक्षण गरी यस अदालतले निर्णय बदर गरी त्यस्ता त्रूटि सुधार गर्न भूमिसुधार अधिकारीलाई आदेश दिन सक्ने । § भूमिसुधार अधिकारीले कानूनले दिएको अधिकारभित्र रही प्रमाणको संकलन, मूल्यांकन र विवेचना गरी जग्गाधनीलाई जग्गा दिन नमिल्ने, निजको जग्गाको मोल वापत मोहीबाट निर्धारित मूल्य बमोजिमको रकम भराउने र विवादित जग्गामा मोहीको हक कायम गर्ने गरी भूमि सम्बन्धी ऐन, २०२१ को दफा २६ङ(१)(ग) बमोजिम गरेको निर्णय त्रूटिपूर्ण नदेखिने । (प्रकरण नं.९) निवेदक तर्फवाटः विद्वान वरिष्ठ अधिवक्ता श्री वसन्तराम भण्डारी विपक्षी तर्फवाटः विद्वान उपन्यायाधिवक्ता श्री शरदकुमार खड्का र विद्वान अधिवक्ता श्री नारायणप्रसाद वस्याल अवलम्वित नजीरः आदेश न्या.पवनकुमार ओझाः नेपाल अधिराज्यको संविधान, २०४७ को धारा २३ र ८८(२) बमोजिम पर्न आएको प्रस्तुत रिट निवेदनको संक्षिप्त तथ्य एवं ठहर यसप्रकार छ :– २. काठमाडौं जिल्ला साविक स्वयम्भु डल्लु वडा नं. ३ हाल का.म.न.पा.वडा नं. १५ कि.नं.क १७८ क्षेत्रफल रो ०–८–०–० जग्गाको मोही विपक्षी लक्ष्मी नारायण महर्जन भएकोले जग्गा वांडफांड गरिपाउँ भनी २०५४।४।१० मा विपक्षी भूमिसुधार कार्यालयमा निवेदन दिंदा निज मोही मञ्जूर भएनन् । सो कारवाई चलिरहेको अवस्थामा मोहीले बाली नबुझाएको हुंदा बाली भराई मोही निस्काशन गरि पाऊँ भन्ने मुद्दा चलि हाल यसै अदालतमा कारवाइमा छ । जग्गा वांडफांड उपरको निवेदनमा कारवाई गरी भूमिसुधार कार्यालयले उक्त जग्गा वांडफांड गर्न नमिल्ने भन्दै भूमि सम्बन्धी ऐन, २०२१ को दफा २६ङ बमोजिम सो जग्गामा मोहीको घर आदि भएकोले सवै जग्गा मोहीको नाममा कायम गराई जग्गाको मूल्यांकन प्रतिरोपनी ८ लाख कायम गर्ने भनी जिल्ला मूल्य निर्धारण समितिबाट ०५८।२।१२ का निर्णय भएको रहेछ । सो आधारमा मेरो भागको जग्गा वापत २ लाख रुपैयां मोहीले म जग्गावालालाई बुझाउनु पर्ने गरी ०५८।३।७ मा भू.सु.का. काठमाडौंबाट निर्णय भएको रहेछ । सो निर्णय उपर पुनरावेदन नलाग्ने हुँदा यो निवेदन गरेको छु । ३. मैले उक्त जग्गा वांडफांड गर्न निवेदन दिंदा घर टहरा भएको जग्गा मोहीलाई दिई अरु ४ आना जग्गा मलाई दिनु भनी माग गरेको थिएं । यसरी खालीजग्गा पनि बांकी रहेको अवस्थामा सम्पूर्ण जग्गा मोहीलाई दिने गरी