निर्णय नं. ८१५७ - विवाह बदर
नेपाल कानून पत्रिका शब्दबाट फैसला खोज्नुहोस् निर्णय नं. ८१५७ - विवाह बदर भाग: ५१ साल: २०६६ महिना: भाद्र अंक: ५ फैसला मिति :२०६६/०१/२२ ७८२८ निर्णय नं.८१५७ भदौ, २०६६ अङ्क ५ सर्वोच्च अदालत, संयुक्त इजलास माननीय न्यायाधीश श्री प्रेम शर्मा माननीय न्यायाधीश श्री मोहनप्रकाश सिटौला संवत २०६२ सालको फौ.पु.नं... ३७३० फैसला मितिः २०६६।१।२२।३ मुद्दाः विवाह बदर । पुनरावेदक वादीः जिल्ला वारा कलैया नगरपालिका वडा नं. ४ वस्ने सोमेश्वरप्रसाद कायस्थ विरुद्ध प्रत्यर्थी प्रतिवादीः भारत मधुवनी अन्तर्गत पर्ने हरिपाटी गाउँ भैया टोल जन्मघर भै हाल जि.वारा कलैया न.पा.वडा नं. ७ वस्ने शिवशंकर दास समेत शुरु निर्णय गर्ने : मा.जि.न्या.दिनेशकुमार कार्की पुनरावेदन फैसला गर्नेः मा.न्या.श्री ऋृषिराज जोशी मा.न्या.श्री हरिबहादुर वस्नेत § जीवनको सहयात्रामा एक अर्काको हातेमालो गरी जीवन निर्वाह गर्नुपर्ने जीवन सँगीनी (Life Partner) शारीरिक एवं मानसिक अस्वस्थ एवं विकलाङ्ग भएमा त्यसरी ऐनमा भएको कानूनी मनसायलाई दिग्भ्रमित पारी गरे गराएको विवाह स्वतः बदर हुने अवस्थासमेत हुँदा आफूलाई झुक्याई, ढाँटी विहेवन्धनमा बाँधिएकी स्वास्नी मानिसलाई त्याग्न वा अस्वीकार गर्न पाउने अधिकार जीवनको अधिकार (Right of Life) अन्तर्गतकै व्यक्तिगत अधिकारमा लिन सकिने । § मानिसको व्यक्तिगत जीवनसँग सरोकार राख्ने अति महत्वपूर्ण विषयमा अदालत समेतले संवेदनशील भएर मौजुदा कानूनी व्यवस्थाको परिधिभित्र रही न्यायिक मनको समेत उदारताका साथ यथेष्ट रुपमा ध्यान केन्द्रित गरी त्यस्तो पीडित पक्षलाई न्याय निश्रित गर्नैपर्ने । (प्रकरण नं.८) पुनरावेदक तर्फबाटः विद्वान अधिवक्ताहरू श्री शम्भु थापा, मिथिलेशकुमार सिँह र कृष्ण सापकोटा प्रत्यर्थी तर्फबाटः अवलम्वित नजीरः सम्बद्ध कानूनः § विवाहवारीको ५ नं. § सर्वोच्च अदालत नियमावली, २०४९ को नियम १०४(च)(ख) फैसला न्या.प्रेम शर्माः पुनरावेदन अदालत हेटौंडाको फैसलाउपर वादीको तर्फबाट मुद्दा दोहोर्याई हेरी पाऊँ भनी परेको निवेदनमा यस अदालतबाट न्याय प्रशासन ऐन, २०४८ को दफा १२(१) (क) को आधारमा निस्सा प्रदान भै पेश हुन आएको प्रस्तुत मुद्दाको संक्षिप्त तथ्य एवं ठहर यस प्रकार छ:- मेरी कन्या सुयोग्य, सुशिक्षित सद्दे भएकी हुँदा कुशल गृहणी हुनेछिन भनी प्र. शिवशंकर दासले भनेबाट प्रतिष्ठित सम्भ्रान्त परिवारका निजको कुरामा लागी जातीय रीतिअनुसार २०४८।२।९ मा मैले प्र.पुनमसँग विवाह गरी लोग्नेस्वास्नीको सम्बन्ध स्थापित भएकोमा निजले घरका समान तोडफोड गर्ने, ओछ्यानमा दिशा पिसाव गरी फोहर गर्ने, घातक हतियारहरू लिई जाइलाग्ने, अपशव्द प्रयोग गरी गाली गलौज गर्ने आदि बहुलाएको जस्तो क्रियाकलापहरू गरेबाट डाक्टरलाई देखाउँदा साधारण औषधि तत्काल नियन्त्रणको लागि दिएबाट काठमाडौं टिचिङ्ग अस्पतालका डाक्टरको सल्लाहसमेतबाट मानसिक अस्पताल काठमाडौंमा भर्ना गराई औषधिउपचार गराउँदा निज २,३ वर्ष अगावै देखि बौलाएकी र राँची लानुपर्ने सल्लाह सुझाव दिएकोमा प्र. शिवशंकरलाई बोलाई तपाइकी छोरी सद्दे छ भनी ढाँटी किन विवाह गराउनु भएको हो भनी सोध्दा निजले छोरी १९८९ को सेप्टेम्वरदेखि नै बौलाएकी र कहिले काहीँ मात्र सामान्य स्थितिमा आउने गरेको हुँदा विवाह भएपछि ठीक हुन्छ की भनी ढाँटी विवाह गराएको भनेबाट निज प्र.पुनम बौलाएकी भन्ने यकीन २०४८।३।३२ गते थाहा जानकारी भएबाट नालेस गर्न आएको छु । बौलाएकी स्वास्नी मानिसलाई सद्दे भनी ढाँटी गराएको विवाह मन्जूर नभएबाट विवाह बदर गरी सजायसमेत गरिपाऊँ भन्ने वादीको फिराद पत्र ।