निर्णय नं. ९०४१ - उत्प्रेषण, परमादेश
नेपाल कानून पत्रिका शब्दबाट फैसला खोज्नुहोस् निर्णय नं. ९०४१ - उत्प्रेषण, परमादेश भाग: ५५ साल: २०७० महिना: मंसिर अंक: ८ फैसला मिति :२०७०/०५/३१ ३८१३ ने.का.प. २०७०, अङ्क ८ निर्णय नं.९०४१ सर्वोच्च अदालत, संयुक्त इजलास सम्माननीय का.मु.प्रधान न्यायाधीश श्री दामोदरप्रसाद शर्मा माननीय न्यायाधीश श्री प्रकाश वस्ती आदेश मिति : २०७०।५।३१।२ रिट नं. ०६७–WO–१०६४ मुद्दाः उत्प्रेषण, परमादेश । निवेदक : पर्सा जिल्ला, अमरपट्टी गा.वि.स. वडा नं. १ घर भई क्षेत्रीय प्लान्ट क्वारोन्टिन कार्यालय, वीरगञ्जमा कृषि सेवा बाली संरक्षण समूहको रा.प.तृ. श्रेणीमा कार्यरत् जीतेन्द्र यादव विरूद्ध विपक्षी : लोकसेवा आयोग, केन्द्रीय कार्यालय अनामनगर, काठमाडौसमेत § न्यूनतम् शैक्षिक योग्यताको लहरमा लेखिँदैमा सबै शैक्षिक उपाधिको स्तर र मान्यता सामान हुने अर्थ गर्न नमिल्ने । (प्रकरण नं.११) § कानूनले अख्तियारी दिएको निकायले गरेको निर्णय पूर्वाग्रही, कपटपूर्ण र विधि प्रक्रियाप्रतिकूल रहेको भनी यस अदालतमा चुनौती दिइएको अवस्थामा मात्र सो निर्णयको न्यायिक परीक्षण हुन सक्दछ । अन्यथा अधिकारप्राप्त निकायको विधिसम्मत् प्रक्रियाबाट सम्पन्न भएको निर्णयका हकमा आशंका गर्न नमिल्ने । (प्रकरण नं.१२) § सर्वोच्च अदालतको उपल्लो इजलासको नजीर सर्वोच्च अदालतकै उपल्लो भन्दा कम न्यायाधीश संलग्न इजलासका लागि र सर्वोच्च अदालतको नजीर मातहातका अदालतसमेतका न्यायिक तथा अर्धन्यायिक निकायलगायत सबैका लागि न्यायाधीश निर्मित कानूनका रूपमा बाध्यकारी हुने । (प्रकरण नं.१४) § बी.एस्सी. (एग्री.) कै आधारमा एम.एस्सी. इन्टिमोलोजी अध्ययन गरी उत्तीर्ण हुन्छ र सोलाई सम्बन्धित निकायहरूले स्नातकोत्तर मान्दछन् भने त्यो अतिरिक्त शैक्षिक उपाधि हो । सेवा प्रवेश गर्दा बी. एस्सी. (एग्री.) को उपाधि देखाई सेवा प्रवेश गरेकाहरू मध्ये कसैले एम.एस्सी. (एग्री) को शैक्षिक योग्यता प्राप्त गरेको भए अतिरिक्त शैक्षिक उपाधि मानिने, तर कसैले एम.एस्सी. इन्टिमोलोजी गरेको भए नमानिने भनी अर्थ गर्नु तर्कसंगत नहुने । (प्रकरण नं.१८) § सेवा प्रवेश गर्दा प्राप्त गरेको उपाधिभन्दा माथिल्लो शैक्षिक योग्यताको उपाधि प्राप्त भै सो उपाधि उक्त सेवा समूह वा उपसमूहसँग सम्बन्धित विषयको अतिरिक्त उपाधि भएको स्पष्ट देखिएको अवस्थामा कार्यक्षमता मूल्याङ्कनद्वारा गरिने बढुवामा निवेदकले प्राप्त गरेको उपाधिलाई अतिरिक्त उपाधिको अङ्क प्रदान गरी बढुवा गर्नुपर्ने । (प्रकरण नं.१९) निवेदकतर्फबाट: विद्वान वरिष्ठ अधिवक्ता श्री हरिप्रसाद उपे्रती, विद्वान अधिवक्ताहरू श्री सतीसकुमार झा र श्री अरूण ज्ञबाली विपक्षीतर्फबाट: विद्वान सहन्यायाधिवक्ता श्री रेवतीराज त्रिपाठी, विद्वान अधिवक्ता श्री मातृकाप्रसाद निरौला अवलम्बित नजीर : सम्बद्ध कानून : नेपाल कृषि सेवा (गठन, समूह तथा श्रेणी विभाजन र नियुक्ति) नियमावली, २०५० को नियम ७ सँग सम्बन्धित अनुसूची ३ को दयहा (च) ५ आदेश मा.न्या.श्री प्रकाश वस्ती : नेपालको अन्तरिम संविधान, २०६३ को धारा १०७(२) बमोजिम यस अदालतको असाधारण अधिकारअन्तर्गत दायर हुन आएको प्रस्तुत निवेदनको तथ्य र ठहर यस प्रकार छः– म निवेदक नेपाल कृषि सेवा बाली संरक्षण समूहको रा.प.तृतीय श्रेणीको पदमा मिति २०५१।१२।१३ मा नियुक्ति पाई विभिन्न कार्यालयहरूमा कार्यरत् रहिआएको छु । यसैबीचमा लोकसेवा आयोगको मिति २०६६।६।२७ को गोरखापत्रमा प्रकाशित बढुवा सूचना नं.४२/०६७–०६८ को विज्ञापनबमोजिम नेपाल कृषि सेवा बाली संरक्षण समूहको रा.प. द्वितीय श्रेणीको पद संख्या एक