निर्णय नं. ८०८७ - अंश ।

 नेपाल कानून पत्रिका शब्दबाट फैसला खोज्‍नुहोस् निर्णय नं. ८०८७ - अंश । भाग: ५१ साल: २०६६ महिना: जेष्ठ अंक: २ फैसला मिति :२०६६/०१/१६ ४०१८ निर्णय नं. ८०८७ जेठ २०६६ अङ्क २ सर्वोच्च अदालत, संयुक्त इजलास माननीय न्यायाधीश श्री ताहिर अली अन्सारी माननीय न्यायाधीश श्री कृष्णप्रसाद उपाध्याय २०५८ सालको दे.पु.नं. ७९२८ फैसला मितिः २०६६।१।१६।४ मुद्दा :– अंश । पुनरावेदक/ वादीः भक्तपुर जिल्ला चाँगु गा.वि.स वडा नं.९ बस्ने गणेशबहादुर खत्रीको मु.स. गर्ने ऐ.ऐ. बस्ने रामगोपाल खत्री समेत विरुद्ध प्रत्यर्थी /प्रतिवादीः भक्तपुर जिल्ला चाँगु गा.वि.स वडा नं. ९ बस्ने भक्तकुमारी खत्रीको मु. स. गर्ने ललितपुर जिल्ला इमाडोल गा.वि. स. वडा नं. २ वस्ने मन विष्ट समेत § सगोलमा रहनु र संयुक्त दर्ता हुनु दुई अलग–अलग अवस्था हुन् । अंश नलिई सगोलमा रहेको बेला कुनै अंशियारको परलोक भएमा निजको नामको सम्पत्ति कुनै एक अंशियारको नाममा नामसारी भए पनि त्यसबाट सबै अंशियारको भाग लाग्ने तर अंशबण्डा भईसकेपछि कुनै एक अंशियारको परलोक भएपछि निजको सम्पत्ति अन्य अंशियारहरूको संयुक्त नामसारी दर्ता गराएका छन् भने सो संयुक्त नामसारी दर्ता गराएकै आधारमा ती अंशियारहरूलाई सगोलको अंशियार भन्न नमिल्ने । (प्रकरण नं.६) § भिन्न भएको बाबुको परलोकपछि निजका नामको बाँकी रहेको जग्गा वा अचल जेथामा कानूनबमोजिम अन्यथा भएमा बाहेक निजका जीवित छोरा–छोरीहरू सबैको भाग लाग्नु स्वभाविकै हुनेहुदा संयुक्त नामसारी गराइएको जग्गामा सबै दर्तावालाहरूको बराबर भाग लाग्छ र आफूले चाहेको बेला आफ्नो भागसम्म छुट्याई लिन पाउने पनि हुन्छ । तर बाबुको नामको जग्गा निजको परलोकपछि पहिलादेखि भिन्न भई बसेका छोराहरूले सगोलमा वा संयुक्त रुपमा नामसारी गराएबाटै अंशबण्डाको प्रयोजनका लागि तिनीहरूको स्थिति सगोलको अंशियार जस्तो हुनजाने भनी अर्थ गर्न नमिल्ने । (प्रकरण नं.७) शुरु फैसला गर्नेः मा.जि.न्या.श्री देवेन्द्र राज शर्मा पुनरावेदन फैसला गर्नेः मा.न्या.श्री विनोदप्रसाद ढुंगेल, मा.न्या श्री कोमल नाथ शर्मा पुनरावेदकतर्फवाटःविद्वान अधिवक्ता श्री कमलबहादुर बोगटी प्रत्यर्थीतर्फवाटः विद्वान अधिवक्ता श्री इश्वरी भटृराई अवलम्वित नजीरः (ने.का.प. २०४३, अंङ्क ३, निर्णय नं. २६६४ (ने.का.प.२०५३, अङ्क ११, निर्णय नं.६२९२, पृष्ठ ८०२ ( ने.का.प. २०५६, निर्णय नं. ६८२४, पृष्ठ ८५५ सम्बद्ध कानूनः § मुलुकी ऐन अ.बं. ७८ § अंशवण्डाको ३० नं. र रजिष्ट्रेशनको १ नं फैसला न्या.ताहिर अली अन्सारीः पुनरावेदन अदालत पाटनको मिति २०५५।१२।२९ को फैसलाउपर वादीकोतर्फवाट परेको मुद्दा दोहोर्‍याई पाऊँ भन्ने निवेदनमा न्याय प्रशासन ऐन, २०४८ को दफा १२ को उपदफा (१) को खण्ड (क) (ख) अनुसार दोहोराउने निस्साप्रदान भै पेश हुन आएको प्रस्तुत मुद्दाको संक्षिप्त टिपोट र ठहर यसप्रकार छ :– बाबु उदयबहादुरका ४ छोरामा जेठो म फिरादी, माहिलो रामबहादुर, साहिलो श्यामबहादुर र कान्छो मदनबहादुर भएकोमा बाबु उदयबहादुर, आमा, माहिलो रामबहादुर र साहिलो श्यामबहादुरको परलोक भइसकेको छ । हाल जीवित अंशियारमा जेठो म फिरादी–१ माहिलो रामबहादुरको हकखाने निजको श्रीमती भक्त कुमारी–१, साहिलो श्यामबहादुरको हकखाने निजको श्रीमती सीता देवी र छोराहरू बलबहादुर, भरतबहादुर, पवनबहादुर, प्रकाशबहादुर–१ र कान्छो मदनबहादुर गरी ४ अंशियार छौं । विवाह खर्च परसार्नु पर्ने छैन । बाबुको २०२८ सालमा मृत्यु भएपछि हामी दाजु भाईहरू चल सम्पत्ति सोहीबखत लिई मानो छुट्टीई वसेका छौं । अचल सम्पत्ति वण्डा नभई सँगोलमा नै छ ।