निर्णय नं. ८२९६ - अंश दर्ता ।

 नेपाल कानून पत्रिका शब्दबाट फैसला खोज्‍नुहोस् निर्णय नं. ८२९६ - अंश दर्ता । भाग: ५२ साल: २०६७ महिना: बैशाख अंक: १ फैसला मिति :२०६६/१०/०६ ३८९७ निर्णय नं. ८२९६ वैशाख, २०६७ सर्वोच्च अदालत, संयुक्त इजलास सम्माननीय प्रधान न्यायाधीश श्री अनूपराज शर्मा माननीय न्यायाधीश श्री गिरीशचन्द्र लाल दे.पु.नं. : ०६३–CI–०४४५ फैसला मितिः २०६६।१०।६।४ मुद्दा : अंश दर्ता । पुनरावेदक/प्रतिवादीः धनुषा जिल्ला, लोहना गा.वि.स. वडा नं. ७ बस्ने रामचरित्र साह समेत विरुद्ध प्रत्यर्थी/वादीः धनुषा जिल्ला, लोहना गा.वि.स. वडा नं. ७ बस्ने वौधनाथप्रसाद साह शुरु फैसला गर्नेः मा.न्या.श्री बलरामप्रसाद अधिकारी पुनरावेदन फैसला गर्नेः मा.मु.न्या. श्री प्रेम शर्मा मा.न्या. श्री मधुसुदनलाल श्रेष्ठ § एउटा निश्चित प्रयोजनका लागि छुट्याइएको जग्गा सो प्रयोजनमा उपयोग समेत भै बाँकी रहेको अवस्थामा त्यसलाई बण्डा गर्न नपर्ने निजी आर्जनको भनी अलग गर्न नमिल्ने । § सगोलमा रहेका अंशियारले सगोलकै पैतृक सम्पत्तिबाट विद्याध्ययन प्रयोजनका लागि प्राप्त गरेको जग्गालाई आफ्नो निजी आर्जनको संज्ञा दिने हो भने अंश पाउने सबैको बराबर अंश गर्नुपर्छ भन्ने अंशबण्डाको २ नं. को व्यवस्था अर्थहीन हुन जाने । (प्रकरण नं.२) § कुनै व्यक्ति विशेषको कथन मात्रै कुनै सम्पत्ति निजी आर्जनको हो भन्ने कुराको पुष्ट्याईंको आधार बन्न त्यस्तो सम्पत्ति प्राप्त गर्दाको स्रोतलाई हेर्नुपर्ने । § लिखतमा दाइजो पेवाको रकमबाट खरीद गरिएको भन्ने व्यहोरा उल्लेख हुनु मात्रले पनि दाइजो पेवाबाट प्राप्त भएको भन्ने मानिँदैन, को कसबाट कहिले र कति दाइजो वा पेवा प्राप्त भएको हो भन्ने स्रोत खुलाउन सक्नुपर्ने । § निजी आर्जनको आफूखुश गर्न पाउने सम्पत्ति भन्ने कुनै पनि स्रोत र आधार प्रस्तुत हुन नसकेको अवस्थामा सगोलका अंशियारहरूमध्ये कुनै एक अंशियारका रुपमा रहेको सम्पत्तिलाई अन्य अंशियारले दावी गर्नसक्ने र त्यसलाई बण्डायोग्य सम्पत्तिबाट बाहेक गर्न सकिने स्थिति नरहने । (प्रकरण नं.३) पुनरावेदक/प्रतिवादी तर्फबाटः प्रत्यर्थी/वादी तर्फबाटः अवलम्वित नजीरः सम्बद्ध कानूनः o अंशबण्डाको २ र १८ नं. o स्त्री अंशधनको ५ नं. फैसला प्र.न्या.अनूपराज शर्माः न्याय प्रशासन ऐन, २०४८ को दफा ९(१)(ग) अनुसार यस अदालतमा पुनरावेदन परी पेश हुन आएको प्रस्तुत मुद्दाको संक्षिप्त तथ्य एवं ठहर यस प्रकार छः मुल पुरुष जनक साहको २ छोरा जेठा सीताराम साह तथा कान्छा रामऔतार साह हुनुहुन्छ । सीताराम तथा रामऔतारबीच कानूनतः अंशबण्डा भई दुवैजना अलग–अलग भई बसेका छन् । रामऔतारको ४ छोरा जेठा विपक्षी रामचरित्र साह, माहिला रामअनुग्रह साह, साँहिला म फिरादी वौधनाथप्रसाद साह तथा कान्छा विपक्षी जीतनारायण साह हुनुहुन्छ । विपक्षी मीरा साह विपक्षी रामचरित्र साहको श्रीमती तथा विपक्षी सावित्रीदेवी विपक्षी रामअनुग्रह साहको श्रीमती हुनुहुन्छ । आमा स्वर्गीय भैसक्नु भएको छ । हामी वादी प्रतिवादीहरू एकासगोलमा बस्दै आइरहेका थियौं । पारिवारिक संख्याको बृद्धि भएपश्चात् घरमा एक आपसमा बराबर झैं झगडा हुने गरेकोले म फिरादीले विपक्षी पितालाई अब हाम्रो परिवार ठूलो भैसक्यो, त्यसकारण अंशबण्डा गरी अलग अलग भई बसौं भनी भन्दा विपक्षी पिताले झगडा भए होस्, तिम्रो यस जग्गामा अंश छैन र तिमीलाई पैतृक सम्पत्तिको जग्गाबाट अंश पनि दिँदैनौं भनी भन्दा गाउँघरमा सार्वजनिक पञ्चायत बसाउँदा गाउँघरका भरभलादमीहरू समेतले निज विपक्षीहरूलाई सम्झाउँदा बुझाउँदा झन् विपक्षी पिता उत्तेजित भई तिमीलाई अंश पनि