निर्णय नं. ८२९८ - उत्प्रेषण, परमादेश ।
नेपाल कानून पत्रिका शब्दबाट फैसला खोज्नुहोस् निर्णय नं. ८२९८ - उत्प्रेषण, परमादेश । भाग: ५२ साल: २०६७ महिना: बैशाख अंक: १ फैसला मिति :२०६६/१०/०३ ३१८९ निर्णय नं. ८२९८ वैशाख, २०६७ सर्वोच्च अदालत, संयुक्त इजलास माननीय न्यायाधीश श्री बलराम के.सी. माननीय न्यायाधीश श्री प्रेम शर्मा संवत् २०६० सालको रिट नं. ३३३१ आदेश मितिः २०६६।१०।३।१ विषयः उत्प्रेषण, परमादेश । निवेदकः का.जि.का.म.न.पा. वडा नं ९ श्रीराम भवन वस्ने विमलादेवी सराफको अधिकृत वारेस विनित सराफ विरुद्ध विपक्षीः मन्त्रिपरिषद् सचिवालय समेत § अन्यथा प्रमाणित नभएसम्म कसैका नाममा दर्ता रहेको जग्गा दर्तावालाको नै मान्नुपर्ने । (प्रकरण नं.२०) § कुनै साधिकार निकायको आधिकारिक निर्णय र स्रोतविना कसैको सम्पत्ति अनिश्चितकालसम्म निरर्थक रुपमा रोक्का गर्ने र त्यस्तो सूचना प्रकाशित गर्ने अधिकार नरहने । § कानूनी राजमा कानूनको परिपालना सबैले गर्नुपर्छ । सरकार वा राज्य वा राज्यका निकाय साधन स्रोत सम्पन्न निकाय भएको र स्वभावैले नागरिकको संरक्षक भएको हुँदा कानूनी राजको पालनामा अझ बढी गम्भीर हुनुपर्छ र नागरिकको हक हितको संरक्षणमा संवेदनशील बन्नुपर्ने । § राज्य वा राज्यका निकायले नागरिकको सम्पत्ति अनिश्चितकालसम्म बिनाआधार र कारण रोक्का राख्न मिल्ने देखिदैन । यदि त्यसरी रोक्का राखी नागरिकका मौलिक हक हनन् भएको देखिएमा यस अदालतले असाधारण अधिकारक्षेत्रअन्तर्गत नागरिकको मौलिक हक संरक्षणको लागि रिट क्षेत्रबाट त्यस्ता अनाधिकार निर्णय वा सूचना बदर गर्नसक्ने । (प्रकरण नं.४०) निवेदक तर्फवाटः विद्वान वरिष्ठ अधिवक्ता श्री कृष्णप्रसाद भण्डारी, विद्वान अधिवक्ता श्री शम्भु थापा, श्री रामप्रसाद भण्डारी, श्री कृष्णप्रसाद सापकोटा र श्री सुरेन्द्रकुमार महतो विपक्षी तर्फबाटः विद्वान सहन्यायाधिवक्ता श्री ठोकप्रसाद सिवाकोटी, विद्वान अधिवक्ताहरू श्री बद्रीनाथ शर्मा र श्री विश्वप्रकाश भण्डारी अवलम्वित नजीरः सम्बद्ध कानूनः o नेपालको अन्तरिम संविधान, २०६३ को धारा १९ आदेश न्या.बलराम के.सी.: तत्कालीन नेपाल अधिराज्यको संविधान २०४७ को धारा २३ र ८८(२) अन्तर्गत यस अदालतमा पर्न आएको रिट निवेदनको संक्षिप्त तथ्य एवं ठहर यस प्रकार छ :– निवेदिका भारतको दिल्लीमा वस्दै आएकोमा जि.प्र.का. काठमाडौँको सूचनामा विपक्षीहरूबाट श्री ५ को सरकार (सचिवस्तर) को २०५९।५।२१ को निर्णय भई २०५९।१०।२ गतेको गोरखापत्रमा श्रीमती विमलादेवी सराफको नाउँ दर्ताको विभिन्न कित्ताका जग्गाहरूको दर्ता बदरको कारवाही भइरहेको सूचना प्रकाशित भएको कुरा छिमेकिहरूबाट टेलिफोनमार्फत् थाहा पाई विपक्षीहरू समक्ष दर्ता बदरको कारवाही हुन नपर्ने निवेदन गर्दा हालसम्म कुनै जवाफ सूचना प्राप्त भएको छैन । विपक्षीहरू समक्ष मिति २०५९।५।२५ को श्री ५ को सरकार (सचिव स्तर) को निर्णय र तत् सम्बन्धी काम कारवाहीको प्रतिलिपि विपक्षी नं ७ मा माग्दा निवेदन दर्ता गर्न नमाने पछि हुलाकमार्फत २०६०।१।३ मा पठाएको द.न. १९३९ को निवेदनमा आज सम्म कुनै निर्णय भएको जानकारी दिइएन । अन्य विपक्षीहरूबाट पनि निर्णयको नक्कल दिइएन । यसर्थ उक्त २०५९।५।२१ को (कतै २०५९।५।२५ लेखिएको) दर्ता बदरसम्बन्धी निर्णय र प्रकाशित सूचना त्रुटिपूर्ण एवं बदरभागी छ । उल्लिखित गोरखापत्रमा प्रकाशित सूचनामा उल्लिखित श्रीमती विमला देवी सराफको नाउँ दर्ताको साविक का.जि. सिनामंगल वडा नं ७ घ हाल का.म.का. म.न.पा. वडा नं ३५ कि.नं ३३९ र ३४० अष्टवरसिं वाडेबाट, कि.नं २८७, २९४, २८२, २८४, २८५, २८८, २८६, २९३, २८९ खड्गप्रस