निर्णय नं. ७००९ - उत्प्रेषण
नेपाल कानून पत्रिका शब्दबाट फैसला खोज्नुहोस् निर्णय नं. ७००९ - उत्प्रेषण भाग: ४३ साल: २०५८ महिना: भाद्र अंक: ४३ फैसला मिति :२०५७/१२/१५ २७७८ निर्णय नं. ७००९ ने.का.प. २०५८ अङ्क ५/६ संयुक्त इजलास सम्माननीय प्रधानन्यायाधीश श्री केशवप्रसाद उपाध्याय माननीय न्यायाधीश श्री हरिश्चन्द्रप्रसाद उपाध्याय संवत् २०५५ सालको रिट नं. २७७५ आदेश मितिः २०५७।१२।१५।४ विषयः उत्प्रेषण । रिट निवेदकः जिल्ला पर्सा विरगंज नगरपालिका वडा नं. १५ वस्ने खैरुल नेसा । विरुद्ध विपक्षीः पुनरावेदन अदालत, हेटौंडा समेत । § प्रतिवादीको घर दैलामा मिति २०५४।८।१८ मा टाँस भएको लिलाम सम्बन्धी म्याद टाँस मुचुल्का हेर्दा उक्त म्याद टांस्दा देख्ने भनिएका साक्षीहरुमा सम्बन्धित वडाको भलाद्मी साक्षी नराखी अ.वं. ११० नं. बिपरीत वडा नं. ६ का व्यक्तिहरुलाई साक्षी राखेको देखिन्छ । निज वडा नं. ६ का भलाद्मी साक्षीहरु प्रतिवादीको छर छिमेकका व्यक्ति हुन भन्ने पनि नदेखिएकोले यि निवेदक प्रतिवादीले मिति २०५४।९।७ मा लिलाम गर्ने भनि १५ दिने म्यादको सूचना प्राप्त गरेको भनि मान्न कानूनतः मिल्ने देखिएन । त्यस्तो कानूनको रीत नपुगेको लिलाम सम्बन्धी म्याद टाँसको सूचनाको आधारमा रीतपूर्वककै म्याद सम्झी पर्सा जिल्ला अदालतको तहसिलदारवाट मिति २०५४।९।७ मा भएको लिलामी र सो लिलामी मुचुल्कालाई सदर गर्ने गरेको पर्सा जिल्ला अदालतको मिति २०५४।९।२५ को र पुनरावेदन अदालत हेटौंडाको मिति २०५५।२।२२ को आदेश कानूनसंगत नदेखिंदा वदर गरि दिएको छ । पुनः कानून वमोजिम कारवाही गर्नु भनि बिपक्षी पर्सा जिल्ला अदालतको नाममा परमादेश समेत जारी हुने । (प्र.नं. ९) निवेदक तर्फबाटः विव्दान अधिवक्ता श्री वालकृष्ण नेउपाने विपक्षी तर्फबाटः विव्दान अधिवक्ता श्री हरिहर दाहाल अलवम्वित नजिरः आदेश प्र.न्या. केशवप्रसाद उपाध्यायः नेपाल अधिराज्यको संविधान, २०४७ को दफा २३ र ८८(२) वमोजिम पर्न आएको प्रस्तुत रिट निवेदनको संक्षिप्त तथ्य व्यहोरा यसप्रकार छ । २. म निवेदकलाई बिपक्षी महमद आलमले लेनदेन मुद्दा दिएकोमा पर्सा जिल्ला अदालतले मिति २०५३।३।२३ मा वादी दावी पुग्ने ठहर्याएको र पुनरावेदन अदालत, हेटौंडाले मिति २०५४।१।२३ मा सदर गरी अन्तिम अवस्थामा छ । सो फैसला वमोजिमको रकम मेरो नाममा दर्ता रहेको जिल्ला पर्सा मुर्ली गा.वि.स.वडा नं. १५ को कि.नं. २२ को ००१४ र सो मा बनेको घर साथै ऐ. समपुर गा.वि.स.वडा नं. ३ कि.नं. १९१ को ०.५.० जग्गावाट असूल उपर गरी पाउँ भनि बिपक्षी महमद आलमको बिपक्षी तहसिल फँटमा निवेदन परेकोमा मलाई कुनै सुनुवाईको मौका नै नदिई मोल कायम मुचुल्का गरी २०५४।९।७ मा लिलाम गरेको सो लिलाम वदर गरी पाउं भनि जिल्ला अदालतमा निवेदन दिएकोमा २०५४।९।२५ मा सोहि आदेशलाई सदर गरेकोले पुनरावेदन अदालत, हेटौंडामा उक्त आदेश उपर निवेदन दिएकोमा त्यहांवाट समेत २०५५।२।२२ मा कानून बमोजिम गर्नु भनि आदेश भएको छ । म निवेदकको नाममा जारी भएको ०५४।९।७ मा लिलाम हुने मिति २०५४।८।१८ मा तामेल भएको भनिएको म्याद अ.वं. ११० नं.को रित पुगी तामेल भएको छैन । उक्त म्याद तामेल गर्दा नगरपालिकाको कुनै पनि प्रतिनिधी रोहवरमा राखिएको छैन । म निवेदकको नाममा तामेल भएको कुनै पनि म्यादमा वावुको नाम, टोल, छिमेक लेखिएको छैन । वादीले बिगो भरी भराउको दरखास्त दिंदा जिल्ला अदालत नियमावली, २०५२ को नियम ७५(२) अनुसार खुलाउनु पर्ने कुरा नखुलाई बेरीतको दरखास्त दिएको छ । म्याद टाँस गर्दा मुल ढोकामा टाँस नभै पक्कि घरमा टाँस गरेको भन्ने छ । जुन गैरकानूनी छ । दुई कित्ता जग्गा देखाई दरखास्त