निर्णय नं. ७०१४ - उत्प्रेषण लगायत अन्य उपयुक्त आज्ञा आदेश वा पूर्जि जारी गरीपाउँ ।
नेपाल कानून पत्रिका शब्दबाट फैसला खोज्नुहोस् निर्णय नं. ७०१४ - उत्प्रेषण लगायत अन्य उपयुक्त आज्ञा आदेश वा पूर्जि जारी गरीपाउँ । भाग: ४३ साल: २०५८ महिना: भाद्र अंक: ५ फैसला मिति :२०५७/१२/१० २३३४ निर्णय नं. ७०१४ ने.का.प. २०५८ अङ्क ५/६ संयुक्त इजलास माननीय न्यायाधीश गोबिन्दवहादुर श्रेष्ठ माननीय न्यायाधीश केदारप्रसाद गिरी संवत् २०५६ सालको रिट नम्वर ..४००८ आदेश मितिः २०५७।१२।१०।६ विषयः उत्प्रेषण लगायत अन्य उपयुक्त आज्ञा आदेश वा पूर्जि जारी गरीपाउँ । रिट निवेदकः का.जि.का.म.न.पा.वडा नं. ११ वस्ने अरुण वैद्य समेत । विरुद्ध विपक्षीः गुठी संस्थान, केन्द्रीय कार्यालय, डिल्लीवजार काठमाडौं समेत § निवेदकहरुको साविक वमोजिमको पूजा आजा आदिको कार्यमा वाधा अवरोध हुने गरी करार भएको नदेखिनुको साथै गुठी संस्थानको लिखित जवाफको प्रकरण नं. ७ मा ‘देवस्थल र सत्तलमा परम्परा बमोजिमको धार्मिक कार्य निरन्तर रुपमा हुन दिने कुरामा संस्थान प्रतिबद्ध भएको भन्ने र काठमाडौं महानगरपालिकाको लिखित जवाफको प्रकरण नं. ३ मा कसैलाई पनि देवस्थलमा प्रवेश गर्न निषेध नगरेकोले सनातनदेखि चलि आएको धर्मको अभ्यास र अबलम्वनमा आँच नआउने भन्ने व्यहोरा समेतबाट निवेदकहरुको धार्मिक हक हनन् भएको मान्न नमिल्ने हुंदा उत्प्रेषणको आदेश जारी गर्नुपर्ने नदेखिने । (प्र.नं. १०) निवेदक तर्फबाटः विव्दान अधिवक्ताव्दय श्री सुदीप पौडेल र श्री माधवकुमार वस्नेत विपक्षी तर्फबाटः विव्दान अधिवक्ता श्री रवि तामांग अवलम्वित नजिरः आदेश न्या.केदारप्रसाद गिरीः नेपाल अधिराज्यको संविधान, २०४७ को धारा २३ र ८८(२) वमोजिम पर्न आएको प्रस्तुत रिट निवेदनको संक्षिप्त व्यहोरा एवं आदेश यसप्रकार छ । २. काठमाडौं जिल्ला, काठमाडौं महानगरपालिका वडा नं. ११ स्थित त्रिपुरेश्वर महादेवको मन्दिरमा हाँमीले पिता पूर्खाका पाला देखि नै दैनिक पूजा, अर्चना, भजन, कीर्तन, विवाह, ब्रतवन्ध समेत गरी आएको र तीज, शिवरात्री, कृष्ण अष्टमी जस्ता पर्वमा त्रिपुरेश्वरवासी मात्र नभई अन्य श्रद्धालु समेत आउने, धर्मकार्य गर्ने गर्दछन् । मन्दिर वरीपरीका सत्तलमध्ये केहीमा सुकुम्वासी वसेका र केहीमा हमीले भजन कीर्तन, रुद्री जस्ता पुजा र बिभिन्न पर्वमा नाचगान भजन कीर्तन गर्दै आएकोमा मन्दिरको सत्तल मध्ये पूर्व पटिृको भाग जीर्ण भै भत्केको र सो सत्तल पुनः निर्माण गर्नुपर्ने महानगरपालिका र गुठी संस्थानको कानूनी दायित्व भए पनि नगरेकोले हांमी त्रिपुरेश्वरवासीले पुनः निर्माण गरी पुनः धार्मिक कार्यमा प्रयोग गरेको, महादेवको मूल मन्दिरको छाना भत्कन गएको समेतवाट अशुभ घटना घट्न सक्ने देखिएकोले पुनः निर्माणको लागि का.म.पा. र गुठी संस्थानलाई अनुरोध गर्दै आएकोमा बिपक्षी महानगरपालिका र गुठी संस्थान वीच मन्दिर पुनः निर्माण र जिर्णोद्धार गर्न करार भएको थाहपाई खुशी लागि करारमा के रहेछ भनी नक्कल माग गर्दा नक्कल नदिएको र निवेदन पनि दरपीठ नगरी विपक्षीले संविधानको धारा १६ को सूचनाको हकको उल्लंघन गरेका छन् । तर पछि अनौपचारिक तवरवाट प्राप्त करार हेर्दा ४९ वर्षको निमित्त लिजमा लिने दिने सो वापत का.म.पा.ले गुठी संस्थानलाई सो अवधीको निमत्ति रु. ४,७७,४०,०००। (रु. चारकरोड सतहत्तरलाख चालिस हजार) बुझाउने गरी २०५५।११।३ मा करार भएको र करारको शर्त नं. ६ मा ‘देवस्थल वरीपरी रहेका पुरै सत्तल जिर्णोद्धार पुनः निर्माण कार्य सम्पन्न गरेपछि सत्तलको उत्तर पश्चिम र दक्षिणको भाग दोश्रो पक्ष (महानगरपालिका) र पूर्व तर्फको भाग प्रथम पक्ष (गुठी संस्थान) ले आ–आफ्नो कार्यको लागि प्रयोग गर्नेछन्’