निर्णय नं. ३७०२ - उत्प्रेषण

 नेपाल कानून पत्रिका शब्दबाट फैसला खोज्‍नुहोस् निर्णय नं. ३७०२ - उत्प्रेषण भाग: ३१ साल: २०४६ महिना: बैशाख अंक: १ फैसला मिति :२०४६/०१/११ २७६३ निर्णय नं. ३७०२ ने.का.प. २०४६ अङ्क १ संयुक्त इजलास माननीय न्यायाधीश श्री सुरेन्द्रप्रसाद सिंह माननीय न्यायाधीश श्री महेशरामभक्त माथेमा सम्वत् २०४५ सालको रिट नं. १२१० आदेश भएको मिति: २०४६।१।११।१ मा रिटनिवेदक: पशुपति होमियो चिकित्सालयको मेडिकल अधिकृत होमियोप्याथिक पदमा काम गर्ने शव्बीर खान विरुद्ध विपक्षी : लोकसेवा आयोग, कमलपोखरी काठमाडौं विषय : उत्प्रेषण (१) लोकसेवा आयोग (कार्यविधि) नियमहरू, २०२७ को नियम १०(२) ले कुनै पनि योग्यताको स्तर सम्बन्धमा विवाद उठेमा मात्र लोकसेवा आयोगले स्तर निर्धारण गर्न पाउने अधिकार लोकसेवा आयोगलाई भएको पाइने । (प्रकरण नं. ९) (२) एकपटक त्रिभुवन विश्वविद्यालयले स्तर निर्धारण गरी सकेको कुरामा लोकसेवा आयोगले पुनः स्तर निर्धारण गरी निवेदकलाई विज्ञापित विज्ञापनको उम्मेदवारबाट बञ्चित गर्ने गरी गरेको निर्णय कानुन अनुरुप भयो भन्न नमिल्ने । (प्रकरण नं. ९) निवेदक तर्फबाट : विद्वान अधिवक्ता श्री अनुपराज शर्मा विपक्षीतर्फबाट : विद्वान सहन्यायाधिवक्ता श्री खगेन्द्र बस्नेत आदेश न्या.सुरेन्द्रप्रसाद सिंह १. नेपालको संविधानको धारा १६।७१ अन्तर्गत पर्नआएको प्रस्तुत रिटनिवेदनको व्यहोरा संक्षेपमा निम्नानुसारछ । २. मैले विहार विश्वविद्यालय अन्तर्गतको भुपेन्द्रनारायण होमियोप्याथिक मेडिकल कलेज एण्ड हस्पिटल बाट होमियोप्याथिक चिकित्सा प्रणाली अन्तर्गतको डि.एच.एम.एस. (डिप्लोमा इन होमियोप्याथिक मेडिसिन एण्ड सर्जरी) उपाधि हासिल गरी नेपाल फर्कि देश तथा जनताको सेवा गर्ने इच्छा राखी सन् १९७३ मा विश्वविद्यालयले निर्धारण गरेको सम्पूर्ण पाठ्यक्रम पूरा गरी सफलतापूर्वक उपाधिबाट विभुषित भई स्वदेश फर्की आएँ । उक्त उपाधिलाई आफ्नो देशको विश्वविद्यालय समक्ष प्रस्तुत गरी समकक्षता प्रमाणित गराउँदा सेवाको लागि आयुर्वेदिक स्नातक सरहको समकक्षता प्रमाणित गरी पाएको छु । ३. स्वास्थ्य मन्त्रालयबाट मिति २०४४।६।६ गतेको गोरखापत्रमा प्रकाशित विज्ञापनमा मेडिकल अधिकृत होमियोप्याथिक भन्ने पदको आवश्यक योग्यताको विवरणमा होमियोप्याथिक समूहको लागि स्वीकृत संस्थाबाट होमियोप्याथिकमा स्नातक वा सो सरहको उपाधि प्राप्त गरेको हुनुपर्ने भन्ने भएकोले मैले पनि सो योग्यताधारक भएको हुँदा निवेदन दिई प्रतियोगितामा सामेल भई आएँ । सो विज्ञापनको पदमा स्वास्थ्य मन्त्रालय पशुपति होमियो चिकित्सालयको रा.प. (प्रा.) तृतीय श्रेणीको पदमा ६ महीनाको लागि अस्थायी नियुक्ति गरी पत्र ०४४।७।२३ मा बुझाई समय समयमा म्याद थप हुँदै निवेदन दर्ताको दिनसम्म पनि म बहालै छु । सो पद स्थायी पूर्ति गर्न प्रकाशित विज्ञापनमा पनि न्यूनतम योग्यताको शर्त पनि होमियोप्याथिकमा स्नातक उपाधि वा सो सरह भनी लेखिएको छ । विज्ञापित पदमा मैले पनि दरखास्त दिई आएको छु । मेरो शैक्षिक योग्यतालाई न्यून मूल्यांकन गरी सो प्रतियोगिताबाट मलाई बञ्चित गरिएको जानकारी गराउन मिति २०४४।१०।२४ मा स्तर निर्धारणको प्रतिलिपि बुझाएको हुँदा सम्मानीत अदालतको असाधारण अधिकारक्षेत्र गुहार्न आएको छु । शैक्षिक योग्यताको मापदण्ड सो योग्यता प्रदान गर्ने निकाय संस्था र तत्सम्बन्धी राष्ट्रिय कानुनहरूबाट निर्धारित गरिन्छ । शैक्षिक योग्यताको मापदण्ड गर्न त्रिभुवन विश्वविद्यालय ऐन, २०२८ राष्ट्रिय कानुन हो । विदेशबाट हासिल गरेको उपाधिहरूको मूल्यांकन र स्तर निर्धारण गर्ने काम पनि त्रि.वि.वि. कै कार्