निर्णय नं. ३७१४ - दर्ता बदर हक कायम
नेपाल कानून पत्रिका शब्दबाट फैसला खोज्नुहोस् निर्णय नं. ३७१४ - दर्ता बदर हक कायम भाग: ३१ साल: २०४६ महिना: बैशाख अंक: १ फैसला मिति :२०४५/१२/०९ २६५५ निर्णय नं. ३७१४ ने.का.प. २०४६ अङ्क १ संयुक्त इजलास माननीय न्यायाधीश श्री महेशरामभक्त माथेमा माननीय न्यायाधीश श्री प्रचण्डराज अनिल सम्वत् २०४४ सालको दे.पु.नं. ७५३ फैसला भएको मिति: २०४५।१२।९।४ मा पुनरावेदक/प्रतिवादी : ल.पु.न.पं.वार्ड नं.९ बस्ने आसामाया महर्जनसमेत विरुद्ध विपक्षी/वादी : ऐ.ऐ. बस्ने चन्द्रबहादुर महर्जन मुद्दा : दर्ता बदर हक कायम (१) न्याय प्रशासन सुधार ऐन, २०३१ को दफा १५ मा पुनरावेदन हेर्ने र साधक जाँच्ने अदालतको अधिकार शीर्षक अन्तर्गत यो ऐन र अन्य प्रचलित नेपाल कानुनको अधिनमा रही पुनरावेदन सुन्ने र साधक जाँच्ने अदालतको अधिकार देहाय बमोजिम हुने छ भनी खण्ड (घ) मा आफैले बढी सबूद बुझ्ने भन्ने भएबाट क्षेत्रीय अदालत स्वयंले जो जे बुझ्नु पर्ने हो बुझी कानुन बमोजिम निर्णय गर्न सक्ने । (प्रकरण नं. १४) पुनरावेदक तर्फबाट : विद्वान अधिवक्ता श्री छविरमण सिटौला विपक्षीतर्फबाट : विद्वान अधिवक्ता श्री चन्द्रप्रसाद नेपाली फैसला न्या.महेशरामभक्त माथेमा १. म.क्षे.अ. को फैसलामा चित्त नबुझाई परेको निवेदनमा पुनरावेदनको अनुमति प्रदान भई आएको प्रस्तुत मुद्दाको संक्षिप्त तथ्य तथा जिकिर निम्न बमोजिम रहेछ । २. नारायण सिंहको शेषपछि फिरादीको आमाको हकभोग चलनको पेवा सम्पत्ति आमा कृष्णमायाको शेषपछि फिरादीको हकभोग चलनको सम्पत्ति मध्येको कि.नं. १०३३ बाट नापी भएको १ आना २ पैसा १ दाम जग्गा र कि.नं. १०४४ बाट नापी भएको ३ पैसा क्षेत्रफलको घर बाबा हिरालालको नाममा दर्ता गरे गराएको बदर गरी सो घर तथा जग्गामा फिरादीको हक कायम गरी फिरादीको नाममा दर्ता समेत गरिपाउँ भन्ने समेत व्यहोराको चन्द्रबहादुर महर्जनको ल.पु.जि.अ. मा परेको फिरादपत्र । ३. मैले अंश पाई परापूर्व देखि भोगी आएकै घर जग्गा नापी हुँदा कि.नं. १०३७, १०३६, १०२५, १०४४ र १०३३ मै नापी भएको हो । नापी हुँदा उक्त जग्गा विपक्षीले आफ्नो नाममा नापी हुनुपर्दछ भनी उजूर गरेको भए पनि कि.नं. १०२५ को घर जग्गासम्म विपक्षीको नाउँमा नापी गर्ने अरु मेरै नाउँमा नापी दर्ता गर्ने गरी सर्भेले ठहर निर्णय गर्ने गरेको निर्णय बदर गरी कि.नं. १०२५ पनि मेरै नाममा दर्ता हुनुपर्ने भनी दावा गरी नालिस दिएको छु । त्यसो हुँदा विपक्षीले गरेको झूठ्ठा दावाबाट अलग फुर्सद गराई मेरै नाउँमा दर्ता गरिपाउँ भन्ने समेत व्यहोराको आशामाया महर्जनको ल.पु.जि.अ. मा परेको प्रतिउत्तरपत्र । ४. विवादित घर जग्गाहरू वादीको हो भन्ने कुनैको कुनै पनि सबूद प्रमाण पेश भएको देखिन नआउँदा कि.नं. १०३३ र कि.नं. १०४४ को घर जग्गाहरू मेरो आमा कृष्णमायाले नारायण सिंहबाट शेषपछिको बकपत्र पाई मेरो हक हुन आएकोले प्र. हिरालालको नाममा दर्ता गर्ने गरेको दर्ता बदर गरी मेरो हक कायम गरिपाउँ भनी वादीले प्रतिवादी उपर झूठ्ठा उजूर गरेको ठहर्छ भन्ने समेत व्यहोराको ल.पु.जि.अ. को २०३९।४।१४।५ को फैसला । ५. ल.पु.जि.अ.ले वादीले प्रतिवादी उपर झूठ्ठा उजूर गरेको ठहर्छ भनी गरेको फैसला सबूद प्रमाण नबुझी न्यायिक मन नलगाई गैरकानुनी रहे भएकोले बदर बातिल गरी सबूद प्रमाणको मूल्यांकन गरी हक इन्साफ गरिपाउँ भन्ने समेत व्यहोराको चन्द्रबहादुर महर्जनको बा.अं.अ. को पुनरावेदन । ६. अनिश्चित अवस्थाको बकसपत्रबाट पु.वे. वादीको विवादको जग्गामा हक स्थापित भएको नदेखिँदा शुरु इन्साफ मनासिब ठहर्छ । पुनरावेदन जिकिर पुग्न सक्दैन भन्ने समेत व्यहोराको ब