निर्णय नं. ३७२१ - उत्प्रेषणको आदेश जारी गरिपाउँ

 नेपाल कानून पत्रिका शब्दबाट फैसला खोज्‍नुहोस् निर्णय नं. ३७२१ - उत्प्रेषणको आदेश जारी गरिपाउँ भाग: ३१ साल: २०४६ महिना: जेष्ठ अंक: २ फैसला मिति :२०४६/०२/१२ २२७४ निर्णय नं. ३७२१ ने.का.प. २०४६ अङ्क २ पूर्ण इजलास सम्माननीय प्रधान न्यायाधीश श्री धनेन्द्रबहादुर सिंह माननीय न्यायाधीश श्री प्रचण्डराज अनिल माननीय न्यायाधीश श्री हिरण्येश्वरमान प्रधान सम्वत् २०४४ सालको रि.पू.ई.नं. ५८ आदेश भएको मिति: २०४६।२।१२।५ मा डिभिजनबेञ्चबाट फैसला भएको मिति : २०४२।८।६।५ मा निवेदक/रिट निवेदक : कास्की जिल्ला बेगनास गा.पं. वडा नं. १ बस्ने रामचन्द्र तिवारी विरुद्ध विपक्षी/प्रत्यर्थी : मालपोत कार्यालय, कास्कीसमेत विषय : उत्प्रेषणको आदेश जारी गरिपाउँ (१) कुनै व्यक्तिको नाममा नापी नभएको तथा वन जंगलमा समेत नापी नभई नापी नक्शा नै हुन छूट भएको जग्गा सम्मलाई छूट दर्ता गराई माग्न सकिने । (प्रकरण नं. ११) (२) विवादित जग्गा वन जंगल कायम भएको र सो बदर नभएको अवस्थामा दर्ता हुन नसक्ने । (प्रकरण नं. ११) निवेदक तर्फबाट : विद्वान अधिवक्ता श्री शम्भु थापा विपक्षीतर्फबाट : विद्वान सहन्यायाधिवक्ता श्री सामन्तसिंह बोगटी आदेश प्र.न्या.धनेन्द्रबहादुर सिंह १. श्री ५ महाराजाधिराज सरकारको जुनाफमा सर्वोच्च अदालत डिभिजनबेञ्चको २०४२।८।६।५ को निर्णय दोहोराई हेरी दिनु भन्ने सर्वोच्च अदालतका नाममा हु.प्र. बक्स पाउँ भनी रिट निवेदक रामचन्द्र तिवारीले विशेष जाहेरी विभाग मार्फत चढाएको बिन्तिपत्रमा त्यस अदालतबाट भएको निर्णयको मिसिल झिकी पूर्ण इजलासबाट दोहोराई हेरी कानुन बमोजिम गरी निर्णय गर्नु भन्ने श्री ५ महाराजाधिराजबाट हु.प्र. बक्स भई पेश हुन आएको प्रस्तुत रिटनिवेदनको संक्षिप्त व्यहोरा यस प्रकार रहेछ । २. कास्की जिल्ला सिसुवा आ.गा.पं. वडा नं. ५ कि.नं. १२६ बाट नापी भएको साविकमा कास्की जिल्ला अधौको १८ नं. का जिम्मावाल भुवनेश्वर जिम्मा ९१ सालको पाखा जाँचमा मोठ नं. ६ लगत ६५९ प्र. नं. २, ३ मा खड्ग सिंह सुमित्रा समेत ४ जनाको नाममा दर्ता भएको निजहरुबाट राजीनामा लिई २०१८ सालको सर्भेमा अधौ मौजा कि.नं. १, ६, ८, १२, १६, २१ बाट नापीमा दर्ता भएको हक भोगको स्रोत देखाई म हरिप्रसाद धनी बुद्धिप्रसाद तिवारी ऋणी भएको र नं. ३५०७ मिति २०२२।१।७ को पारीत राजीनामा बमोजिम मेरो हक भएको पूर्व ताल पश्चिम ढकाल डाँडो र साउने पानी पंधेरो उत्तर नागको थानको गल सिंदोको साँध दक्षिण आसामीको जोगी डाँडाको साँध यति ४ किल्ला भित्रको विजन ।१।७।३ जग्गा २०३५ साल सम्मको मालपोत समेत तिरी भोग चलन गरी आएको आवादी जग्गा भएको कुरामा कुनै विवाद छैन । सो जग्गा ऐले सम्म पनि मेरो भोगाधिकारमा छ र भूमिसुधार ऐन बमोजिम गर्नु पर्ने ७ नं. फाँटवारी समेत भरिएकोबाट चौतर्फी रुपमा मेरो स्वामित्व रहेको छ । सो जग्गा मानकाजी गुरुङसंग जग्गा खिचोला मुद्दा पर्दा कास्की जिल्ला अदालतमा मिति २०२८।८।२८ गतेमा भएको मिलापत्र अनुसार पनि म निवेदकको हक देखिन आएको छ राजीनामा दर्ता तिरो र मिलापत्र आदि प्रमाणहरुका आधारमा मेरो नाममा नापीका बखतमा नक्शाकाट भई दर्ता हुन पर्नेमा नापी फिल्डबुकमा अमीनले जंगल भनी जनाई दिएको रहेछ । तर कास्की रेन्ज कार्यालयले मिति २०३२।२।४ मा सिसुवा आ.गा.पं. बाट लेखी आए अनुसार लगाइएको वन सीमानाको पिलरहरु पनि ठिक बेठिक छुट्याई जाँच गर्ने काम बाँकी नै भएको हुँदा मिति २०३२।२।१ मा वन सीमानाको पिलरहरु चेक जाँच गर्दै जाँदा वडा नं. ३ मा गाडिएका पिलरहरु हेरफेर हुन गएकोले निम्न पिलरहरु भएको आवादी जग्गा हालमा नक्शा हुँदा कटाइएको भए पुनः