निर्णय नं. ३७३८ - उत्प्रेषण

 नेपाल कानून पत्रिका शब्दबाट फैसला खोज्‍नुहोस् निर्णय नं. ३७३८ - उत्प्रेषण भाग: ३१ साल: २०४६ महिना: जेष्ठ अंक: २ फैसला मिति :२०४६/०२/०१ २५७५ निर्णय नं. ३७३८ ने.का.प. २०४६ अङ्क २ संयुक्त इजलास माननीय न्यायाधीश श्री पृथ्वीबहादुर सिंह माननीय न्यायाधीश श्री रुद्रबहादुर सिंह सम्वत् २०४४ सालको रि.नं. २५४९ आदेश भएको मिति : २०४६।२।१।१ मा निवेदक : शिक्षा तथा संस्कृति मन्त्रालय विज्ञान शिक्षा परियोजना विज्ञान शिक्षा विकास केन्द्रमा कार्यरत विज्ञान विशेषज्ञ ललितादेवी श्रेष्ठ विरुद्ध विपक्षी : श्री ५ को सरकार शिक्षा तथा संस्कृति मन्त्रालयसमेत विषय : उत्प्रेषण (१) नि.से.नि. बमोजिम एक कार्यालयबाट सरुवा भई रवाना पत्र बुझेपछि सो कर्मचारी सरुवा भई जाने कार्यालयको मान्नु पर्ने र निजले सरुवा भएको कार्यालयमा पुग्ने बाटो म्याद पाउने भई सो अवधिको सुविधा सहुलियत पनि सोही सरुवा भई जाने कार्यालयबाटै पाउने हुन्छ, त्यस्तै कुनै पनि कर्मचारीले आफू कार्यरत रहेको कार्यालयबाट नि.से.नि. बमोजिम बिदा सहुलियत पाउने नै हुँदा सो समयमा लिएका बिदाअवधि कार्यरत रहेको अवधिबाट बाहेक गर्नु पर्ने भन्ने जिकिर मिल्ने नदेखिने । (प्रकरण नं. १३) निवेदक तर्फबाट : विद्वान वरिष्ठ अधिवक्ता श्री शम्भुप्रसाद ज्ञवाली एवं श्री रतनलाल कनौडिया विपक्षीतर्फबाट : विद्वान सहन्यायाधिवक्ता श्री बलराम के.सी. साथै विद्वान वरिष्ठ अधिवक्ता श्री मुकुन्द रेग्मी, विद्वान अधिवक्ता श्री गोपालप्रसाद भण्डारी एवं श्री सिन्धुनाथ प्याकुरेल आदेश न्या.पृथ्वीबहादुर सिंह १. नेपालको संविधानको धारा १६।७१ अन्तर्गत पर्न आएको प्रस्तुत रिटनिवेदनको संक्षिप्त व्यहोरा यस प्रकार छ । २. शिक्षा सेवा, जनरल एजुकेशन समूह, साइन्स उपसमूह राजपत्रांकित द्वितीय श्रेणी सहायक सचिव पद संख्या २ समेतमा बढुवाको लागि लोकसेवा आयोगको सूचना नं. ११०।०४३ मिति २०४३।३।११ मा बुलेटिनमा प्रकाशित सूचना बमोजिम म पनि सम्भाव्य उम्मेदवार थिएँ । सो पद संख्या २ मा श्री बालकृष्ण श्रेष्ठ र श्री शम्भुप्रसाद लोहनी (प्राप्ताड्ढ २४५–१९७) लाई बढुवाको लागि सिफारिश गर्न बढुवा समितिले निर्णय गरेको भनी २०४३।१२।२२ को गोरखापत्रमा शिक्षा मन्त्रालयबाट सूचना प्रकाशित गरियो जस उपर मेरो चित्त नबुझी लोकसेवा आयोगमा उजूरी दिएकोमा सिफारिश क्रममा हेरफेर गर्न नपर्ने भनी सो बमोजिमको पत्र बुझाइयो । उपरोक्त निर्णयहरु निम्न कारणले गैरकानुनी र अन्यायपूर्ण रहेका छन् । (१) देहाय अनुसार निवेदकले कूल अड्ढ २४६.०५२ पाउनु पर्नेमा सो भन्दा कम अड्ढ बढुवा समितिले दिएको कानुनी त्रुटिपूर्ण छ । (क) निवेदकले राजपत्रांकित तृतीय श्रेणीको नोकरी अवधि २०२८।११।२३ देखि २०२९।१२।२ सम्म १ वर्ष १० दिन अस्थायी र मिति ०२९।१२।३ देखि २०४३ आषाढ मसान्त सम्म १३ वर्ष ३ महीना २८ दिन स्थायी अवधिको हुँदा नि.से.नि. बमोजिम ज्येष्ठता बापत जम्मा अंक ५६.०७३ पाउनु पर्नेमा ५६.०४३ अंक मात्र दिई ०.३० अंक कम देखाई । (ख) भौगोलिक क्षेत्रमा गई काम गरेको अनुभव बापत मिति २०२८।११।२३ देखि २०३०।११।१५ सम्म १ वर्ष ११ महीना २३ दिन पाठ्यक्रम विकास केन्द्र ललितपुरमा कार्यरत रहेको हुँदा सो बापत १.९५९ अंक मिति २०३०।११।१६ देखि २०३१।९।२ सम्म जि.का. शिक्षा शाखा काभ्रेपलाञ्चोकमा र मिति २०३१।९।३ देखि २०३६।७।७ सम्म क्षेत्रीय शिक्षा निर्देशनालय पश्चिमाञ्चल पोखरामा कार्यरत रहेको र दुवै क्षेत्र (घ) वर्गमा पर्ने हुँदा जम्मा ११.२८९ अंक पाउनु पर्ने, मिति ०३६।७।८ देखि २०४३ आषाढ मसान्त सम्म (ङ) वर्गमा पर्ने शिक्षा तथा संस्कृति मन्त्रालय,