निर्णय नं. ३७४१ - उत्प्रेषणयुक्त परमादेश जारी गरिपाउँ
नेपाल कानून पत्रिका शब्दबाट फैसला खोज्नुहोस् निर्णय नं. ३७४१ - उत्प्रेषणयुक्त परमादेश जारी गरिपाउँ भाग: ३१ साल: २०४६ महिना: जेष्ठ अंक: २ फैसला मिति :२०४५/१२/०६ २३३१ निर्णय नं. ३७४१ ने.का.प. २०४६ अङ्क २ संयुक्त इजलास माननीय न्यायाधीश श्री पृथ्वीबहादुर सिंह माननीय न्यायाधीश श्री महेशरामभक्त माथेमा सम्वत् २०४५ सालको रि.नं. १९३८ आदेश भएको मिति : २०४५।१२।६।१ मा निवेदक : दाङ फुलारी गा.पं. वडा नं. ३ मझ घटुवा बस्ने डम्बर न्यौपाने विरुद्ध विपक्षी : निर्वाचन विशेषअदालत, दाङदेउखुरी जि.अदालत, त्रिभुवन नगर घोराईसमेत विषय : उत्प्रेषणयुक्त परमादेश जारी गरिपाउँ (१) नक्कल सारी थाहा पाएपछि सो मितिले अञ्चल तथा जिल्ला अदालत नियमावली, २०३४ को नियम २६ बमोजिम ७ दिन भित्रै पुनः उजूरी दिएकोलाई हदम्याद भित्र परेको छैन भनी मान्न नमिल्ने । (प्रकरण नं. १०) निवेदक तर्फबाट : विद्वान अधिवक्ता श्री प्रकाश वस्ती विपक्षीतर्फबाट : विद्वान का.मु. सहन्यायाधिवक्ता श्री कृष्णराम श्रेष्ठ एवं विद्वान अधिवक्ता श्री राधेश्याम पराजुली आदेश न्या.पृथ्वीबहादुर सिंह १. नेपालको संविधानको धारा १६।७१ अन्तर्गत पर्न आएको प्रस्तुत रिटनिवेदनको संक्षिप्त व्यहोरा यस प्रकार रहेछ । २. मिति २०४३ सालको स्थानीय पञ्चायतको निर्वाचनमा प्र.पं. का लागि म उम्मेदवार भएको थिएँ । मलाई हराउन डर त्रास प्रलोभन समेत देखाउने कार्य तत्कालिन अञ्चल प्रशासन तथा प्रतिद्वन्दी उम्मेदवार चिरञ्जीवी रिजालबाट भयो । संकेत अंकित मतपत्र विपरीत गरिनुका साथै त्यस्ता मतपत्रलाई कानुन विपरीत सदर गरियो अनधिकृत व्यक्ति विपक्षी हिकमतबहादुरलाई मत गन्ती गर्न विपक्षी मतदान अधिकृत कुमारप्रसाद हाडाले तत्कालीन प्रशासनको निर्देशनानुसार अवसर दिई मत गन्तीलाई दुषित बनाइयो । यस अतिरिक्त खसेका मत भन्दा बढी मतपत्र निस्क्यिो । यसरी धाँधली गरी मलाई हराइए उपर निर्वाचन अपराध तथा सजायँ ऐनको दफा १८ अनुरुप निर्वाचन अधिकृत समक्ष उजूरी गरें । जसमा ढाँचा तोकिएको छैन । विपक्षी जि.का.ले विपक्षी जि.अ.मा पठायो । जिल्ला अदालतले उजूरीको ढाँचा अ.बं. ७६ नं. बमोजिम नभएको भनी ढाँचा अनुसारको उजूरी प्राप्त भएमा मात्र ऐन बमोजिम कारवाही गर्ने भन्ने व्यहोरा जनाई मिति २०४४।१।३१ मा दरपीठ गरेकोमा अं. तथा जि.अ.नियमावलीको नियम २६ अनुरुप ७ दिन भित्रै अ.बं. ७६ को ढाँचामा उजूरी दिएको हुँ । यसरी साक्षी समेत बुझी सकेपछि रीत नपुगेको भनी जनाउ दिएपछि बाँकी म्याद ३५ दिनभित्र रीतपूर्वकको फिराद दिनु पर्नेमा नभएको ७ दिनको म्याद भनी हदम्याद बाहिर ल्याएको भन्ने समेत गैरकानुनी आधार लिई मेरो उजूरी खारेज गरिएको हुँदा उक्त निर्णय बदर गरी पुनः कानुन बमोजिम गर्नु भन्ने परमादेश समेत जारी गरिपाउँ भन्ने समेत रिटनिवेदन जिकिर । ३. विपक्षीहरुबाट लिखितजवाफ मगाई आएपछि वा म्याद नाघेपछि नियमबमोजिम पेश गर्नु भन्ने समेत यस अदालत एक न्यायाधीशको इजलासको आदेश । ४. निर्वाचन अपराध तथा सजायँ ऐन, २०२४ को दफा १९ मा हदम्याद भित्रको नभएको देखिएमा समेत उजूरीमा कुनै कार्यवाही नहुने कुरा उल्लेख छ । निर्वाचन परिणाम निस्केपछि मुद्दा गर्नु पर्ने कारण उपस्थित हुन्छ र सोको मितिले ३५ दिन भित्र रीतपूर्वकको उजूरी दिनु पर्नेमा निर्वाचन अधिकृत समक्ष ठाडो उजूरी दिएको देखिन्छ । अ.बं. ७६ नं. को ढाँचामा नभए पनि आवश्यक कुरा खुलाउनु पर्ने हुन्छ सो छैन । अदालतले कानुन अनुरुपको नभएको भनी सूचना गरे पछि ऐनका म्याद भित्रै ल्याउनु पर्नेमा आफैंले ७ दिनको हदम्याद कायम गरी म्याद बाहिर दिनु भएको तथा निर्वाचन अधिकृतलाई