निर्णय नं. ३७४८ - कर्तव्य ज्यान
नेपाल कानून पत्रिका शब्दबाट फैसला खोज्नुहोस् निर्णय नं. ३७४८ - कर्तव्य ज्यान भाग: ३१ साल: २०४६ महिना: जेष्ठ अंक: २ फैसला मिति :२०४५/११/२७ २५४६ निर्णय नं. ३७४८ ने.का.प. २०४६ अङ्क २ संयुक्तइजालस माननीय न्यायाधीश श्री बब्बरप्रसाद सिंह माननीय न्यायाधीश श्री हिरण्येश्वरमान प्रधान सम्वत् २०४५ सालको फौ.सा.नं. ७८ फैसला भएको मिति : २०४५।११।२७।६ मा वादी : सन्ते मिजारको जाहेरीले श्री ५ को सरकार विरुद्ध प्रतिवादी : जि.दैलेख नाउँले कटुवाल गा.पं. वडा नं. २ बस्ने काले कामीसमेत मुद्दा : कर्तव्य ज्यान (१) आफूमाथि हमला गर्नेसित चक्कु खोसी सकेर पनि फेरि सोही चक्कु प्रहार गरेको देखिन आएकोले यस्तो अवस्थामा अभियुक्तलाई ५ वर्ष मात्र कैद गर्ने भनी व्यक्त गरेको राय मनासिब देखिन नआउने तर पूर्व योजनाबाट वारदात भएको नदेखिई मृतककै कारणबाट सो वारदात घट्न गएको देखिन आएकोले शुरु जि.अ.ले दावी बमोजिम ज्यान सम्बन्धीको १३(१) बमोजिम सर्वश्वसहित जन्मकैद नगरी १० वर्ष मात्र कैद गर्ने गरी राय दिएको मनासिब ठहर्ने । (प्रकरण नं. १६) फैसला न्या.हिरण्येश्वरमान प्रधान १. मध्यपश्चिमाञ्चल क्षेत्रीय अदालतबाट साधक जाहेर भई पेश हुन आएको प्रस्तुत मुद्दाको संक्षिप्त विवरण यस प्रकार छ । २. २०४२।८।११ गते राती छोरा गगने कामीले कोखाको बीचमा आफैंले चक्कुले हानी सो चोटबाट ऐ. १३ गते निजको मृत्यु भएकोले कानुन बमोजिम गरिपाउँ भन्ने समेत सन्ते मिजारको २०४२।८।१८ को जाहेरी दर्खास्त । ३. मृतकको छातीको बायाँ कोखाको दूधको छेउ ४ इञ्च लम्बाई ५ इञ्च गहिरो १ इञ्च गोलाई भएको घाउ भएको भन्ने समेत लाश प्रकृति मुचुल्का । ४. २०४२ कात्तिक महीनामा मेरो गोरुले सन्ते कामीको कोदो खाई दिएको कारण सन्तेको छोरा गगने समेतले म समतेलाई कुटपिट गरेको थियो र पछि सन्तेको घरमा सभा बसेकोमा अरुसंग मेल मिलाप भयो गगने नमिलेकोले र विवाद हुँदा हुँदै निजले चक्कु निकाली मेरो कठालो समातेकोले मैले निजको चक्कु समातेको हात समात्न खोज्दा निजको छातीमा चक्कु रोपिन गई घाइते हुँदा ऐ. मार्ग १३ गते निज गगनेको मृत्यु भएको हो भन्ने समेत काले कामीले प्रहरीमा गरेको कागज गगने र काले कामीको झगडा विवाद हुँदा गगने रिसाई चक्कु निकालेको र काले कामीले चक्कु झम्टिदाँ गगनेको छातीमा चक्कु रोपिन गई मृत्यु भएको हो भन्ने समेत नन्दराम थापाले प्रहरीमा गरेको कागज । ५. गगने कामी र काले कामीको झगडा हुँदा गगनेले समातेको चक्कु कालेले झम्टिदा गगनेको छातीमा रोपिन गई सोही चोटबाट गगनेको मृत्यु भएको हो भन्ने समेत काले कामीले प्रहरीमा गरेको कागज । ६. २०४३ कार्तिक औंशीको रातमा कालेको गोरुले मेरो कोदो खाएकोमा गगने र कालेको झगडा भएको र २०४२।८।१२ गतेका दिन मेरो घरमा सभा हुँदा गगने र काले रिसाई समातासमात गर्दा छोरा गगनेले चक्कु निकाल्दा कालेले सो चक्कु समाई लिई गगनेको छातीमा धस्यो र गगने घाइते भई ऐ. १३ गते मृत्यु भएको हो भन्ने जाहेरवाला सन्ते मिजारले प्रहरीमा गरेको कागज । ७. २०४२।८।१२ गते गगनेले आफैं चक्कुले छातीमा हानी घाइते भई मरेको भन्ने सुनेका हौं आँखाले देखेनौं भन्ने समेतको सरजमीन मुचुल्का । ८. मिलापत्र हुने कुरामा विवाद झगडा हुँदा गगनेले साथमा लिएको चक्कु काले कामीले गगनेको छातीमा धसी सोही चोटबाट निज गगने कामीको मृत्यु भएकोले प्र.काले कामीलाई ज्यान सम्बन्धीको १३(१) अनुसार सजायँ हुन र कर्तव्य परी मरेको कुरा थाहा पाई जाहेर प्रकाश नगर्ने गा.स.स. पदमबहादुर थापा, नवराज थापा, गा.स.स. तुल्से कामी, भाले कामी, नन्दराम थापा, धर्मराज थापा, दलबहादुर कामी, कने क